~तिर्थराज अधिकारी~
छन्द : अनुष्टुप्
हिमाली महिमा सुन्दा डाहा होला विचित्रको
माटो यो बुध्दको भन्दा चर्केला कान दुष्टको
प्रकृतिका नदीनाला ताल देख्दा रसाउला
लुट्नलाई यिनै शान जाली जाल फिँजाउला ।
वनपाखा झनै राम्रा फूलका बाग सुन्दर
किन काढ्दैनथ्यो ~याल सुन्दा गह्वर गौरव
रत्नैरत्न यही खानी, यही औषधिको घर
तपस्वी ज्ञानको धाम, धर्मका मठमन्दिर !
सानो भूगोल यो किन्तु इन्द्रेणी रूप उज्ज्वल
भाषाभेष सबै राम्रा शूरता वीरता बल
देख्दासुन्दा सबै राम्रा भित्र लोभ पलाउला
हेर्दै समयको मौका बाज आँखा घुमाउला ।
कला-काव्यहरू बाँचे , भाव साँचे अनन्तमा
मेटिन्नन् यिनका रंग अझ उठ्छन् उमंगमा
राजनीति कहाँ सुन्छ यी स्वाभिमानका कुरा ?
अझ उध्याउँदै जान्छ मुटु टुक्र्याउने छुरा !!
सल्काई घरमा आगो उज्यालो हुन्छ , ठान्दछ
बोकेर काँधमा शत्रु हार्दिक मित्र मान्दछ
सलामी वैरीको गर्दै मलामी देशको हुँदा
सन्ततिले कहाँ टेक्लान् ? भेट्लान् के मान- सम्पदा ?
(स्रोत : “सपनामा हराएको बिपना” – कवितासंग्रह – २०६६ बाट साभार )