~राजु झल्लु प्रसाद~
५० रुप्पे जाने चप्पल पड्काउदै,
एक धोक्रो चामल र १० गुइठा पिँडालु बोकेर,
बुबाले पोहोरसाल दशैमा किनिदिनुभएको धुत्रो स्कुल ड्रेसमा,
भविष्यको नक्सा खोज्न,
म शहर पसेको
ओहो ! धेरै वर्ष भएछ !
धेरै वर्ष भएछ:-
आमाले निस्किनेबेला
“लाँ नानी भाडा” भनेर
आँसुले धोएर दिनुभएको
१०० रुप्पेको सुकिलो नोट
जोगाएर
सपनाको खुत्रुकिमा राखेको !
धेरै वर्ष भएछ:-
बुबाले मल खन्दाखन्दैको हात टाउकोमा राखेर
“केइ गरेर मात्रै गाउँ फिरेस् मुर्दार” भनेर दिएको आशिष,
जिन्दगीको रिङ्टोन बनाइ बजाइ रहेको !
धेरै वर्ष भएछ:-
हजुरबुबाले “नबिगृएस/नबरालिएस/घर सम्झेस” भनेर
कन्सेरिमा सिउरिदिनुभएको,
एक थुङ्गो तिउरी फुल
भविष्यको फुलदानिमा फुलाइ राखेको !
हरी गरिबीसँग हैरान भएर बसिरहँदा कुनै चिया चमेनामा,
आज एक्कासि मैले,
पल्लोघरे काकि र एक गिलास तातो दूध सम्झिन पुगे !
जब मेरै गाउँको बसबाट
एक थोक्रो चामल
र,
दुई थान फुटेको खुट्टाहरु घिसार्दै आएको मान्छेले मलाई सोध्यो,
दाइ शहर पस्ने मुल गेट यहि हैन ??
(स्रोत : हाम्रोदमक डट कम)