कविता : दिक्क बनायो

~एम.एल. ओली~

भोको डकार झाङ्गिएर तन पलायो
बाउको धन भाँगिएर मन गलायो
साझा पाहुनो नाता जोडी ठिक्क बनायो
भुँडीभित्र खहरे उर्ली दिक्क बनायो ।

मन्दिरभित्र सन्यासीले धुप जलायो
पूजारीले धोती जलाई रूप पलायो
थानमाथि धार चढाउन ठिक्क बनायो
कुकुर घुसी खुट्टो उठाई दिक्क बनायो ।

हिँड्दा हिँड्दै झोल पिएर बास खोजियो
मीठो भोज ज्यूनार गर्ने आश रोजियो
साइनो खोली रात गुर्जान ठिक्क बनायो
सानो साथी हल्ला गरी दिक्क बनायो ।

बैँशकारी शिशिरले अघोर सतायो
ढोका थुनी झ्याल खोलेर मैरो ततायो
जाँघ सेक्न टाङ फट्टाइ ठिक्क बनायो
अगुल्टोले फायर गरी दिक्क बनायो ।

आर्जन खान पारो पाली भैँसी बनायो
साइत हेरी किर्नो तान्न जैसी जनायो
थुन पगारी गाबु भर्न ठिक्क बनायो
बैगुनीले लात हानेर दिक्क बनायो ।

भोट हालेर नेता चुनीमाथि पठायो
बेरोजगार युवालाई सीमाना कटायो
फल दिने बोट रोपी ठिक्क बनायो
नछिप्पिँदै दाना झरी दिक्क बनायो ।

कालो बादल फटाउन आँधी उर्लियो
उल्टो दिशा फर्किएर साथी कुलियो
नयाँ घरबार बनाएर ठिक्क बनायो
बाँदर उफ्री धुरी चढी दिक्क बनायो ।

पेट भर्ने आशा साँची भोको पर्खियो
बारीमाथि किसानको धोती लर्कियो
दाइ हाली मङ्सिरमा ठिक्क बनायो
मुसो पसी भकारीमा दिक्क बनायो ।

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ४ – Dec. 9, 2015 – २०७२ मंसिर २३ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.