~रेशम वी.सी.~
जनकविका कण्ठ स्वरबाट सुनिन्छन् कविता
मनकविका मुखार्बिन्दुबाट सुनिन्छन् कविता
मनकविका कविता बाहिर आउदैनन् सर्वदा
बुझ नबुझ गएर बुझ जाउ त्यहाँ इन्दिरा
कल्पनामा जनकविले गाउँदैछन् कविताहरू
सपनामा फुलेका छन् मनकविका कविताहरू
झर्छ तरर पसिना शरिर निथ्रुक्क भिजाउँदा
पाउछ÷पाउदैन कि फल गएर सोध इन्दिरा
हर्ष–आँसु छैन मनकविको तर भिजेको छाती
मनमन भन्छ मनकविले किन छैन म माथि
जनकविका प्रियहरू भेटिन्छन् कुना कन्दरा
के भो मनकविलाई भनि सोध गएर इन्दिरा
खुल्ला आकाश छ जनकविलाई कविता गाउन
खुल्ला आकाश मनकविलाई टालो छैन लाउन
मन कविका कविताहरू आँखाहरूले गाउँदा
सोध मनका कविलाई आँसु किन झर्छ इन्दिरा
मनका पीडा बुझ्नु पर्छ अनि बन्दछ कविता
जनका पीडा झेल्नु पर्छ है अनि बन्दछ कविता
क्रान्तिको बाजा बजाउदै गाउँबस्ती गाउ कविता
क्षितिजपारीको विहानी ल्याउ जाउ त्यहाँ इन्दिरा
–दाङ
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १२ – Jan. 29, 2013 – २०६९ माघ १७ गते, बुधबार)