~जीवराज बुढाथोकी~
पोख्न थालें मन्का कुरा उम्केर गै ।
छेक्न थालें बाटो जसै झम्टेर गै ।
लोभलाग्दा आँखा थिए सेता लुगा,
कम्मरै त्यो मर्काउँदै भागेर गै ।
केश कालो मुस्कान त्यो चन्द्रै सरी,
मोहनीको धप्पै दियो बालेर गै ।
जूनसंगै निस्केर त्यो एकान्तमा,
भेट गर्थी खै आज त्यो तर्सेर गै ।
हातमा थ्यो यौटा बुटी थालें छुनै,
फेरि भेट्ने भन्दै उठी उफ्रेर गै ।
पाउ उल्टा भद्दा थिए बेढंगका,
बृक्ष काँडा झाडी सबै नाघेर गै ।
चाल पाएँ त्यो रैछ किच् कन्या र म,
रैछ बाच्नु भन्ने र त्यो छोडेर गै ।
किम्बदन्तिमा आधारित गजल
बहरः हमीम, मात्राः २१ विश्राम ८।४
सुत्रः२१२२ २२१२ २२१२
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४