~शिशिर शर्मा~
ऊ मकै पोलिरहेछ
पुरानो बाटोको छेउमा
पुरानो पसलको अगाडि
बुढो पिपलको रूखमुनी
काठे पिर्कामा बसेर
सहरको धुलो र धुवाँ खाँदै
नाबालक एउटा लाचार केटो
मकै पोलिरहेछ
ऊ मकै पोलिरहेछ ।
आफ्नो पेट पाल्नका निम्ति
आफ्नी सानी बहिनीको भोक मेटाउनका निम्ति
आफ्नो र बहिनीको भविष्य उज्जवल बनाउनको निम्ति
ऊ त मकै पोलिरहेछ,
तर उसका पनि केही इच्छा थिए रे
उसका पनि केही उद्देश्य थिए रे
उसले पनि ठूलो मान्छे हुने सपना देखेको थियो रे
तर उसका सारा सपना चकनाचुर भयो
जव उसका आमाबाबु १० वर्ष अगाडि
सशस्त्र द्वन्द्वका सिकार भए
त्यही बेलादेखि
यो रहरलाग्दो सहरमा
ऊ मकै पोल्दैछ
ऊ त वर्षौंदेखि मकै पोलिरहेछ
उसलाई के थाहा ?
उसको यो प्यारो देशमा
के के हुँदैछ ?
कस्तो अप्ठ्यारोको दलदलमा फस्दैछ देश,
उसको यो अखन्ड देश
नेपाली “लेन्डुप” ले
टुक्राटुक्रा पार्दैछन्
विदेशीको कठपुतली हुँदैछ देश,
एउटा भाई अर्को भाईमाथि
खुकुरी र तरबार उठाउँदैछ
उसको यो सुन्दर शान्त नेपाल
फिजीकरण हुँदै सिक्किमीकरण हुँदैछ
नाइजेरिया र युगोस्लाभाकिया बन्दैछ
उ जस्ता हजारौं बालबालिकाको सपना
छियाछिया हुँदैछ
तर त्यो विचरो केटोलाई
यी सब कुरा के थाहा ?
ऊ त मकै पोलिरहेछ
बस ,ऊ त मकै पोलिरहेछ ।
– काठमाडौं
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १९ – March 27, 2013 – २०६९ चैत्र १४ गते, बुधबार)