~यकिना अगाध~
विवाह समारोह चल्दैथियो । उसकी श्रीमति उभिइ उभिइ आफन्तजनहरुसँग हाँसो ठट्टा गर्दैथिइन् । एक्कासी रुख ढलेझैं भुँइमा गल्र्याम्मा ढलिन् र मरिन् । आफन्तगण सबैले भन्यो कि यस गाउँको मान्छेको मरण आजसम्म यसरी भएको देखिएको छैन । पक्कै कुनै बोक्सीकोे हात हुनुपर्छ । बोक्सीले बाण नहानेको भए कसरी यस्तो सद्दे मान्छे एक्कासी रुख ढलेझैं ढल्छ र ? उ यस गाउँको स्कुलको विज्ञान शिक्षक भएपनि आफन्तजनको कुरा सुनेर यो कुरा हो भन्ने लाग्यो ।
सल्लाह मुताबिक धामीलाई देखाइयो । धामीले फलाना बोक्सीले वाण हानेको हो भनी किटान गर्यो । बोक्सीलाई ठहरै मार्नेुपर्ने भयो तर यो गाउँमा त्यस्तो मन्त्रविद्या जान्ने कुनै धामी निस्केनन् । धामीहरुले नै सुनाइयो कि उनीहरुभन्दा कयौं गुणा विद्या भएको धामी टाढाको कुनै गाउँमा बस्छन् । यो सुनेर उनी त्यहाँ पुग्यो । त्यो धामीलाई घटना वृतान्त सुनाइयो । धामीले भन्यो कि यो काम मबाट हुँदैन । उसले धामीका अगाडि नोटका बिटाहरु मिल्कायो । त्यो देखेर धामीको अनुहार चम्कियो ।
धामीले मेहनतपूर्वक मन्त्र जप्यो । तान्त्रिक मञ्चन गरियो । उसलाई अक्षेता फुकेर खान दिइयो र धामीले आफ्नो कुराप्रति सम्मोहित पार्यो । उसलाई धामीले हातमा एक एक किलोको तीनवटा दल्छिन ढुङ्गा थमाइयो र भन्यो कि यो लगेर बोक्सीको टाउकोमा तीनपटक बज्राउ । उसले धामीले अह्राएझैं गर्यो । बोक्सी खुत्रुक्कै भइन् ।
यता उबाट धामीले प्रशस्त पैसा पायो, उता मान्छे मारेबापत उ जेल पर्यो ।