~सविता सापकोटा~
सामसुङ मोबाइलको रिङ टोन बजिरहँदा सुतिरहेकी थिएँ । निन्द्रा लागेर होईन चिन्ता लागेर । केही कुराको चिन्ता लाग्यो भने दिनमै पनि सुत्ने नराम्रो बानी छ । कसैले नराम्रो भन्दा होस् या तनाव हुँदा सुतेर उठेपछि बल्ल समस्याको समाधान पाउँछु । पहिलोपटक फोन काटेँ । लगातार घण्टी बजिरह्यो । फोन उठाएँ, ‘हेल्लो, के गर्दै ?’
‘सुतिरा,’ मैले उत्तर दिएँ ।
‘दिउसै ?’
उताबाट प्रश्न आयो फेरि ।
‘सुत्नलाई रात नै पर्नुपर्छ र ? कस्तो मिठो सपना देखिराथेँ ! को हो फोन गरेर डिष्टर्ब गर्ने ?’ केही झर्केरै भनेँ मैले ।
‘उल्लु हो क्या तिमी ? दिनमा सुत्ने, रातभर जाग्राम बस्ने ?’ अधवैंशे युवकको धोद्रो आवाजले सोध्यो ।
‘मान्छेलाई कल गर्या हो की उल्लुलाई ? मिस्टर ! नम्बर चेक गरेर फेरि डायल गर ।’
जोसुकै होस् ‘तिमी’ नै दन्काईदिएँ मैले । पहिलो भेट या फोन कलमै कोही अपरिचित केटाले तिमी भन्न हुन्छ भने हामीले भन्न किन हुँदैन ।
‘ह्या,,को हो के ? चिप्लीराको दिमाग चाट्ने ?’ म झन रिसाएँ ।
‘सवुको साथी’ उसले भन्यो ।
सवुको साथी भनिसकेपछि चाहीँ केही सतर्क भएर फेरि सोधेँ, ‘नम्बर त अनसेभ छ को साथी हो ? नाम के हो ?’
‘कस्तो ठाडो प्रश्न नरम भएर बोल्न आउँदैन ?’ उसले फेरि ल्याङ ल्याङ गरिरह्यो
‘ब्वाईफ्रेन्ड हो र तिमी ! फकाई–फकाई बोल्नलाई ।’
भविष्यमा भए भने नि !’ उ झनै लाडिएर बोल्न खोज्यो ।
‘उफ ! कस्तो गिद्धी गरिराको के ? भविष्यमा त म पनि प्रधानमन्त्री भए भने नी ! चन्द्रमामा पुगेँ भने नी । भयो भने अंगोलोमा बेरुम्ला, चुप्पा दिम्ला, घुम्न जाम्ला ।’
‘ओ !’ उ दंग पर्यो । बेस्सरी हाँसेँर भन्यो । ‘कस्तो फन्नी’ तिमी त हाँस्दा हाँस्दै झण्डै कुर्सीबाट लडिन ।
साम्य भएर सोधेँ, ‘अरु केही छ भन्नु ?’
‘त्यति भए त पुगिगो नी । त्यही पाउनका लागि कति दिन केटीको पिछा गर्छन्, फोनमा बोल्छन्, च्याट गर्छन्, कफी पिउने बाहाना बनाउँछन् केटाहरु । तिमीले त पहिलो कलमै दियौ यार । भयो भने दिन्छु पो भन्या दिएकी त हैन नी,’ मैले भनेँ ।
‘राजनीतिक दलको घोषणा पत्रजस्तै हो क्या ? सपना मात्र देखाउने ?’ उसले सोध्यो ।
‘खोई बुझ्दिन् म राजनीति,’ मैले झर्को माने झैँ जवाफ फर्काएँ ।
मस्त लागेको निन्द्राबाट ब्युँझाइदियो मोरोले । मनमनै रिस उठ्यो । किन कल गर्या ? अनि को हो तिमी ? प्रश्न यथावत थियो । ‘बाबा अनि आमाको छोरो । दिदिको भाई । मनपराउँछु तिमीलाई ।’
‘फन्टुस्, नाम के हो ? कहाँ बस्छौ ? के गर्छाै पो सोध्या’ भनेँ मैले ।
‘किन हतार आजै ? अर्काे दिन भन्छु है, तिमीसँग बोल्दा नाम नै बिर्सिएछु ।
बाई, टेक केयर,’ यति भन्दै फोन काट्यो उसले । ‘कस्तो–कस्तो मान्छेले फोन गर्छन् बा ! निन्द्रा मात्र भड्कियो ।’ फेरि सुत्ने प्रयत्न गरेँ ।
दुई दिनपछि त्यही नम्बरबाट कल आयो । बिहानको समयमा । त्यति बेला पनि बिस्तारामै थिएँ । ‘हेल्लो डियर के गरिराको ?’
अघिल्लो फोनमा जिस्किएर त्यती भन्दिएको त डियर नै भन्ने हिम्मत कसरी आयो । अलि बढी बोल्यो भने ‘यो केटी मसँग पटिइहाली’ भन्ने सोच्छन् केटाहरु ।
‘गुड मर्निङ । आज पनि बिस्तारामै ? चिया पियौ ?’ उसले चिप्ले किरा झैँ कुरा चिप्ल्याएर सोध्न थाल्यो । तर मलाई उसको त्यो शैली मन परेको थिएन । उसको बोली पूरा कृत्रिम थियो ।
‘किन चाँहियो ?’ म रिसाएर जवाफ फर्काइन ।
‘कस्तो छुच्ची तिमी त !’
‘म छुच्ची भएर तिमलाई के भो ?’
‘मेरो मन दुख्छ नी’
‘अहिलेसम्म कतिवटा केटीलाई ट्राई मार्दा दुख्यो तिम्रो मन ?’
‘तिमीनै हो पहिलो, जसले यति ठाडो उत्तर दिएर मेरो मन दुखायौ ।’
‘सेम फर्मुला इउज नगर न यार । अली एक्स्ट्रा हुन सिक । त्यो त सबै केटाले मायाको गणितमा लाइन मार्दा प्रयोग गर्ने पुरानो फर्मुला हो । सुन्दा सुन्दा वाक्क भैसकेँ ।’
‘सुनाउ अरु के छ नयाँ नौलो ? आज त शनिवार फ्रि होला नी,’ उसले सोध्यो ।
‘होईन डेट जानु छ ।’
‘ए मसँग ?’ मख्ख पर्दै सोध्यो ।
‘होईन किताबसँग । एउटा किताब पढेर सक्नु छ ।’
‘ओहो ! पढ्नदास पो ! पढेर काहानी सुनाउ है ?’ उ दंग पर्दै सोध्यो ।
‘फिल्म हो र कहानी भन्नलाई ?’ मैले ठाडै तरिकाले उत्तर दिइरहेँ ।
‘साह्रै छुच्ची’ उसले फेरि भन्यो ।
‘प्लिज टेल मी हवाट् इज एवर नेम ?’ यसपटक चाहीँ मैले गम्भीर बनेरै सोधेँ ।
‘सरी आइ फरगट ।’
‘नम्बर चाहीँ कताबाट पायौ ?’
‘त्यो त भन्दै भन्दिन । आइ नो, यु आर सविता फ्रम पोखरा ।’ मेरो बारेमा सबै जानकारी भए झैँ भन्यो उसले ।
‘ओके, त्यसो भा म पनि तिमीसँग बोल्दै बोल्दिन । वि विल बी ब्लक्ड ।’
यति भनेर फोन काटेँ र नम्बर ब्लक लिष्टमा हाल्दै गर्दा म्यासेज आयो ।
‘सरी इफ आई ह्याव हर्ट यु । केही दिनपछि आफ्नो परिचय दिनेछु, प्लिज ब्लक नगर है ।’
उसको एसएमएस गम्भीर त लाग्यो । के थाहा, फेरि दिमाग चाट्ने होला सोचेर हाल्दिएँ ब्लक लिस्टमा । सोचेँ, आफ्नै जिन्दगीको तनाव भइराखेको बेला अनावश्यक तनाव दिन्छन् फन्टुसहरु । फोनमा बोलेर अन्जान व्यक्तिलाई झुलाउने चुलबुले उमेर पनि त गइसक्यो नी । काम परे मात्र फोनमा बोल्छु नत्र आवश्यक ठान्दिन । अब त आफ्नो करिअर बनाउने बेला भयो । यस्ता थुप्रै कुरा मनमा आए ।
एक सातापछि फेरि अर्काे नयाँ नम्बरबाट कल आयो । ब्लक गर्यौ है निष्ठुरी ?’
मलिन स्वर कानसम्म ठोक्कियो । मैले चिनेँ यो आवाज उसैको थियो । म अचम्ममा परेँ की कति धेरै पच्छयाउन सकेको उसले । सोध्न छोडिन मैले, ‘
अब चाहीँ भन को हो, नत्र फेरि ब्लक गरुम्ला ।’
‘तिम्रो शुभचिन्तक ।’
‘नाम के हो हजुर ?’
‘शौरभ’
‘घर कहाँ ?’
‘पोखरा ।’
म सोध्दै गएँ । उसले जवाफ फर्काउँदैगयो । यसपटक पहिले झँै लाडिएन ।
‘कहाँबाट पायौ त नम्बर ?’
‘अस्तिको सेमिनारमा रजिष्ट्रेसन गर्दा तिमी भन्दा पछि थिएँ नी ।’
‘ओहो ! मेरो डायरी छुटेर ल्याइदिने त्यो मान्छे तिमी नै हो ? अस्ति किन नभन्या त ।’
‘तिमीसँग डर लागेर ।’
खासमा पहिले नै एउटा कार्यक्रममा देखिसकेको मान्छे थियो उ । उसले नढाँटी भन्यो यसपटक, ‘देख्दा त सोझी लाग्थ्यो तर फुच्ची मात्र होइन छुच्ची पनि रहिछ्यौ ।’
‘हाहाहाहा ’ हाँसो रोक्नै सकिन । उ यसअघिका फोनमा जिस्किएको मात्रै रहेछ । तर गलत नै त लागेन । बिस्तारै नियमित जस्तै फोनकल हुन थाल्यो । र अहिलेसम्म पनि । त्यत्तिकै हाँसिमजाक गरिरहन्छ फोनमा । ‘ब्लफ कल’ बाटै चिनियो मसँग । उसका सुरुका ब्लफ कल झर्को लाग्दो भए पनि उसको नियतमा खोट देखिनँ । आखिर प्रिय लाग्यो त्यही ‘ब्लफ कल’