~भुवन निस्तेज~
जतनका साथ
कुनै सुरक्षित बगैँचामा
स्याहारिएन ऊ
कुनै कर्तव्यनिष्ठ मालीद्वारा
खडेरीमा सिँचिएन
न पराल छ्यापेर
ओभानो नै पार्यो कसैले उसलाई
न मलिलो जमिनमा
गाड्न नै पायो जराहरु
तैपनि
फुटालेर ढुङ्गाका पत्रहरु
चट्टानहरुमा
प्रकृतिसँग पैंठाजोरी खेल्दै
उम्रिएको छ एउटा बोट
र त्यस बोटमा
फुलेको छ एउटा फूल
त्यस फूललाई मेरो सलाम छ।
ऊ कैयौं पटक
ढुङ्गाहरुसँगै
बगरमा पछारिएको छ
पहाडसँगै
पहिरोमा चिथोरिएको छ
र धर्तीसँगै
पग्लिएको छ, निचोरिएको छ
कहिले ऊ
पातभरि हिउँ बोकेर रित्तिएको छ
कहिले ऊ
काकाकूल खडेरीमा सिद्धिएको छ
तैपनि
हिँउदले रित्याउन नसकेको
खडेरीले सिध्याउन नसकेको
पैरोले पहाड ताछ्दा
लेदोमा भित्र–भित्र गडाएर नड्ग्राहरु
बाँदरहरुले ढुङ्गा चिप्ल्याउँदा
थचारिएको, पछारिएको ऊ
टाउको उठाउँदै फेरि पलाएको छ
चुनौतीझैं
आकाशको उचाइलाई।
उसले सिरेटोहरुबाट
चोर्दछ होला
वसन्तागमनको खबर
उसले बिहानीको लालिमाबाट
सिक्छ होला फुल्ने कला
एक्लै जङ्गलमा विजन
द्रोणमूर्ति प्रतिष्ठा गरी अगिल्तिर
धनुर्विद्या अभ्यास गर्ने
एकलव्यझैं
सिक्छ होला
जीवनको विज्ञान।
आफ्नो अक्षत कौमार्य
र उद्भट् यौवनको
निरपराध उद्वेगमा
वसन्ती पवनसँग
झुल्दो हो, रमाउँदो हो
पहाडको माथि
चट्टानहरुमा
फुटालेर ढुङ्गाका पत्रहरु
उम्रिएको एउटा बेट
र त्यसमा फुलेको एउटा फूल।
सायद ऊ
लायक ठानिन्न होला
कुनै मन्दिरमा चढाइन
न कुनै प्रेमी युवकले
सिउरिन्छ नै होला उसलाई
आफ्नी प्रेमिकाको कपालमा
न ऊ सजाइन्छ नै होला
सुन्दर र बहुमूल्य फूलदानहरुमा नै
न उसलाई हेर्दैमा
कुनै कविलाई
कविता नै फुर्छ होला
तैपनि
प्रकृतिका प्रहारहरु झेल्दै
ढुङ्गाका पत्रहरु भित्र गडाएर जराहरु
चट्टानहरुमा उम्रिएको
एउटा बोट र त्यसमाथि फुलेको एउटा फूल
त्यस फूलप्रति पनि
आकर्षित भएको छ
रङ्गी–चङ्गी पुतलीहरुको एउटा हूल
अग्लो पहाडको मस्तकलाई
सुशोभित गर्ने
त्यस फूललाई मेरो सलाम छ।
(स्रोत : पहिलोपोस्ट डट कम)