कविता : साउनको डँडेलो

~एकु घिमिरे~

साउनको डँडेलोमा आधा डढेको गुराँस
यसपालि पौषमै फुल्यो ढकमक्क
झुक्कियो मौरी , पुतली अकमक्क !

” तीन फुट असिना ” – सेल्फीको क्याप्सन
” पौषमा पसिना ”- हेडलाइन लेख्छन्
सुकिसके अविरल धाराहरू
लुकिसके सयौँ जीव -चराहरू
फुल्दैन बिख्मा लेकमा
झुल्दैन धान खेतमा
कागतीभित्र किरा परेको भेटिन्छ
हाम्रो हिमाल बसाइँ सरेको देखिन्छ
चैत्रको बाढीले बगाउँछ पुल
शरदमा पनि फुल्दैन फूल।
साउनको डडेलोमा आधा डढेको गुराँस
यसपालि पौषमै फुल्यो ढकमक्क
झुक्कियो मौरी , पुतली अकमक्क !

छायो रोल्पा फुट्छु -फुट्छु भन्छ
तिलिचो पनि लुक्छु -लुक्छु भन्छ
उता रारा सुक्तैछ गाउँमा
यता इनार सुक्दैछ शहरमा
हिमालहरू छन् कालो कोट लाउने रहरमा
कालो बादलले तेजाब बर्साउँदैछ
यतिबेला वातावरणले प्रकृति तर्साउँदैछ।
साउनको डडेलोमा आधा डढेको गुराँस
यसपालि पौषमै फुल्यो ढकमक्क
झुक्कियो मौरी , पुतली अकमक्क !

एकु घिमिरे
अन्तुडाँडा ,इलाम

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.