~शरद पोख्रेल~
कुनै एक भूगोलमा
आफ्नै आयुबाट चोइटिएका गोलहरू सल्काउदै
रातो बनाउदै फलाम
ठोक्दै छन् अर्को फलामले
आफ्नै जिन्दगी रातो रापमा राखेर
पहिरोबाट आधा भिरसम्म
झरेको रूख जस्तै
डढेलोले आधा भन्दा धेरै जलाइसकेको
पाखो जस्तै
गाउँका पुछारका एक आरने दाइ।
कतिबेला समुद्रमा पुग्छ र आत्महत्या गर्छ
जस्तै लाग्ने एउटा निन्याउरो घाम बोकेर
उनी हिर्काइरहन्छन् घन
फलाममाथि घन
या जिन्दगीको
लिलाममाथि घन।
काठमान्डु खाडलका बाटा जस्तै त्यो निधारबाट
शायद बिहानै निस्केर
निधारकै गर्भमा हराउँदा हराउँदा
अबेर मात्र केही थोपा पसिना
तप्प चुहिन्छ रातो फलाममा
—च्वाँइयssss
अनि
बाफ बनेर जान्छ केही- अन्योलताको आकाशमा
आश बनेर जान्छ केही- केटाकेटीको स्कूल ब्यागमा
निराश बनेर जान्छ केही- साहुजीको उधारो खातामा।
ठोक्नु छ अझै फलाम
र दिनु छ आकार खुकुरीको
लगाउनु छ धार खुर्पा र बन्चरीको
अनि चढाउनु छ दुबै घुँडा प्वाल पर्ने गरी झुकेर
आफ्ना परम विस्ट महाजन र नव धनाढ्यहरूलाई
अनि तिनै धारमा थाप्नु छ
आफ्नै पाखुरी र गर्धनहरूलाई ।
ठोकिरहेछन् उनी लगातार लगातार
घन ठोक्छन् या
घनले उनलाई ठोकिरहेछ
या त एकले अर्कालाई ठोक्दैछन्
यो पत्तो नचलेको युगौ भैसक्यो
र ठिक यति नै बेला
रातो युगमा अपाङ्ग बनेको
उनको घाइते रेडियोमा प्रसारण भैरहेछ
रातो सरकारले
रातो ब्रिफकेसबाट सुनाइरहेको रातो बजेट
र
महाजनहरू ठोकिरहेछन् ताली।
– शरद पोख्रेल
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)