~कमला प्रसाईँ ढकाल~
अस्तित्वविहीन छ यो यात्रा
केही नपुगेजस्तो, केही हराएजस्तो
हिँड्दाहिँड्दै थाकेजस्तो
काम गर्दागर्दै रोकिएजस्तो
कस्तो, के होला यो यात्रा ?
जिन्दगीका उर्लिँदा भेलहरूमा
पौडी खेल्न खोज्ने
रातका सपनाहरूसँग पछ्याउन खोज्ने
कहाँ गएर टुङ्गिने होला यो यात्रा ?
यतिखेर मेरो गोरेटामा
एउटा अनौठो किसिमको प्रवाह
चल्न खोजिरहेछ,
भावनाहरूका भीडमा
मान्छेहरूका लस्कर लागिरहेछन्
आफन्तहरू
आफन्तहरू यो यात्रा हेर्न पर्खिरहेछन्,
कसैको हृदयको ढुकढुकीसँग
प्यार गर्न खोजिरहेछु
थाहा छैन
थाहा छैन मेरो यात्राले कुन मोड लिने हो
अनायास
फेरि यहाँ के हुने हो !
-कमला प्रसाईँ (ढकाल),
इटहरी–१, सुनसरी
(स्रोत : साहित्यसरिता – अङ्क २ वर्ष-२ साउन-भदौ-असोज-२०६२)