~भूषण ढुङ्गेल~
1
तिम्रो अनुपम सौन्दर्यलाई फर्कीफर्की हेर्न कर लाग्छ
तर, उत्ताउलो भन्छ्यौ कि भन्ने कताकता डर लाग्छ ।
यो मनजस्तै त्यो मन पनि भैदिए हुन्थ्यो
तै पनि मनको धोको पुग्छ कि भन्ने अलिकति भर लाग्छ ।
2
यौवनको अति भारले कम्मर मर्किएझैँ लाग्छ
चाकर नपाएर सुन्दरता तिमीसितै झर्किएझैँ लाग्छ ।
कताकता के चर्किएझैँ लाग्छ,के के थर्किएझैँ लाग्छ
तिम्रो अपूर्व रूप देख्दा धरतीमा उर्वशी नै फर्किएझैँ लाग्छ ।
(स्रोत : साहित्यसरिता – अङ्क २ वर्ष-२ साउन-भदौ-असोज-२०६२)