~शर्मिला खडका दाहाल~
उनले आफ्नी आमा पालेकी थिइन्। चार भाइ छोरा कसैसँग अटाउन सकेकी थिइनन् उनकी आमा। कुनै समय उनकी आमाको विचार यसरी सार्वजनिक भएको थियो -‘मैले किन अंश भाग लिनु र? सबै छोराहरूले बाँडून्। म एउटी आमालाई कुनै न कुनै छोराले एक छाक खान र लाउन त देलान् नि! उनकी आमाको इच्छाअनुसार चारै भाइले अंश भाग लिएका थिए। साइँलो छोरो अलिक पढेको र ढिलो बिहे गरेको हुनाले बूढीआमैले साँइलो छोरासँग बस्ने निधो गरेकी थिइन्। साइँला छोरालाई उसको शिक्षाले डो-यायो जागिरतिर र पु-यायो सहरमा। उसले जागिरे केटी नै बनाएथ्यो जीवनसँगिनी। बूढी आमै पनि छोरालाई पछ्याउँदै पुगेकी थिइन् सहरमा। तर सहरको वातावरणले उनको गाउँले परिवेशलाई रमाउन दिएन। छोराबुहारी जागिरमा गइहाल्ने अनि दिनभर समय काट्ने साधनको अभाव हुन्थ्यो उनलाई। उनको सुखदुःख उनी आफैँसँग पौँठेजोरी खेल्थे। छोरासँग बसेर बुहारीको घरधन्दामा हैकम चलाएर बस्ने बूढी आमैको चाहना मनको लड्डु भयो। छोराबुहारीको सीमित आय अनि समयको पाबन्दीमा बूढी आमैका धेरै इच्छाहरू खुम्चिए।
बूढी आमैसँगै उनका छोरीहरू र नातिनातिनाहरूको आवतजावतले छोराबुहारीको व्ययभार अझ बढ्न गयो। आफूहरूले मात्रै बूढी आमैको सम्पूर्ण खर्च बेहोर्नुपर्दा उनीहरू कुँढिन थाले। कहिलेकाहीँ असन्तुष्ट भाव पोखिन्थे बूढीका पोल्टामा। बूढीआमैको मनको मानो पनि छोराबुहारीको स्याहारबाट कहिले भरिन सकेन। अरू छोराबुहारीहरूले आमाको चाहनासँग साक्षात्कार हुनै चाहेनन्। फ्याँकेको थोत्रो वस्तुसरह व्यवहार गरे। केही समयपछि आमा ओछ्यान परिन्। अनि उनले जागिरे भाइबुहारीको समस्या बुझेर घरैमा ल्याएर, आमा पालेर, आमाको सत्गत गरेकी थिइन्।
उनलाई लागेथ्यो आमाले आफ्नो साथमा सम्पत्ति नराखेको हुनाले सबै छोराबुहारीबाट तिरस्कृत हुनुपरेको भनेर। त्यसैले उनले विचार गरेकी थिइन् आफूले मर्ने बेलासम्म आफ्नो सम्पत्ति कसैलाई नदिने। त्यसैले उनले छोराहरूलाई अंशभाग गर्दा आफ्नो भागमा पनि सम्पत्ति राखेकी थिइन् । अहिलेका छोराबुहारीले पाल्छन् भन्ने भरोसा उनलाई थिएन।
समयको पाना पल्टँदै गयो। उनकी आमाले जस्तो गल्ती गरेको छैनँ भनेर जीवनका पानाहरू सुनौलो अक्षरले भर्ने उनको चाहना थियो। ‘म ताक्छु मूढो बन्चरो ताक्छ घुँडो’ भनेझैँ उनको उचित मार्गदर्शन पाएर जीवनमा सफलता नै सफलता पाउँदै गएका उनका छोराहरूले सम्पत्तिलाई महत्त्व दिएनन्। उनीसँग सम्पत्ति त थियो तर छोराहरू धेरै टाढा भइसकेका थिए। ‘आमासँग सम्पत्ति छँदैछ नि, मान्छे राखेर काम लाउँदा भइहाल्छ नि। हामी बेफुर्सदी हुन्छौँ।’ छोराबुहारीहरूको यस्ता अभिव्यक्तिबाट मर्माहत हुन्थिन् अनि खोज्थिन् आफ्नोपन। आधुनिक परिवेशको प्रतिस्पर्धामा छोराबुहारीहरूको जीवनचर्याले आमाप्रतिको दायित्व र कर्तव्यलाई सुलुत्त निलिदिएको थियो। अनि पिल्सिएको थियो उनको बुढ्यौली। उनले उमेरभरि आफ्ना दुई छोराहरूका लागि गरेका त्याग र बलिदान समयको हुरीले धेरै टाढा पु-याइसकेको थियो। जीवनले थकाइको सुस्केरासँगै धेरै अनुभुतिसँग लुकामारी खेलिसकेको थियो। उनले बुझिन् समयको धारले जीवनको महत्त्वपूर्ण सम्पत्तिलाई उजिल्याउँदो रहेछ अनि सबैले त्यसलाई आत्मसात् गर्नुपर्दो रहेछ।
(स्रोत : साहित्यसरिता – अङ्क २ वर्ष-२ साउन-भदौ-असोज-२०६२)