~कृष्ण धरावासी~
बहुलता आजको युगचेतनाको मेरुदण्ड हो। बहुवाद आजको मानवसंस्कृतिको प्रारम्भ हो । विश्वको कुनै कुनामा पनि आज विकसित हुँदै आइरहेको कुरै यही हो। साहित्यमा, राजनीतिमा, कलामा, वैचारिकतामा, संस्कृतिमा सबैतिर पसेर सक्रिय भइरहेको यही नै अबको जीवन हिँड्ने बाटो हो। कुनै एउटा मात्र व्यक्ति, एउटा मात्र पात्र वा एउटा मात्र विचार मुख्य रहने र बाँकी सबै त्यही मुख्यलाई प्रमाणित गर्न सहायक बन्ने परम्परा अब कमजोर हुँदै गएको छ। विषय, गुण र उपयोगितामा कुनै पनि वस्तुको महत्त्व त्यसको त्यहाँ उपस्थित हुनुले नै स्वतः सावित गरिरहेको हुन्छ। उपभोक्ताले त्यसलाई कतिसम्म महत्त्व दिने भन्ने स्वनिर्णय गर्दछ। उपभोक्तामाथि उसको रुचिविरुद्ध केही कुरा पनि लाद्न सकिँदैन । उसलाई मनपर्ने वस्तुको छनौट गर्ने पूर्ण स्वतन्त्रता छ उसलाई । आजको व्यापारमा पनि क्रेताले आफ्नै हातले आफूलाई आवश्यक पर्ने सामान पसलबाट रोजीरोजी छानेर विक्रेताका अघि बिल बनाउने ठाउँमा थुपार्न खुसी हुन्छन् । डिपार्टमेन्टल स्टोर्सहरूको लोकप्रियता बढ्नुको पछि पनि क्रेताको यही स्वतन्त्रताको आधार रहन्छ ।
स्वतन्त्रता प्रत्येक जीवन बाँच्ने प्रथम सर्त हो । जुनसुकै तह र अवस्थाको व्यक्ति पनि आफ्नै हैसियतभित्र स्वतन्त्रताको हक खोज्दछ। सामाजिक, राजनैतिक, धार्मिक वा अरू जुनै पनि बन्धनहरू उसका विरोधी हुन्छन्। मुक्त जीवनको महान् सपना बोकेको ऊ सदा कुनै न कुनै रूपमा सङ्घर्षरत छ नै। आ-आफ्नो स्तरभित्रै ऊ द्वन्द्वमा छ। मजदुरी गरिरहेको ऊ ठेकेदारसँग सङ्घर्षरत छ, अधिकारफ्राप्तिका लागि लड्न खडा गरिएको युनियनसँगै त्यसको नेतृत्वसँग असन्तुष्ट छ ऊ। कहीँ पनि उसलाई कँज्याउने कुराका विरुद्ध भित्रभित्रै सदा सङ्घर्षरत छ।
समाजको जुनै क्षेत्रमा पनि कुनै एउटा विषय वा व्यक्तिलाई विशेष बनाई त्यसकै वरिपरि अरू गतिविधि सक्रिय हुने पुरानो परम्परा हो । आफूलाई गौण ठानी, उसलाई महान् स्वीकार गर्ने परम्परा धेरै कालसम्म चल्यो। पिछडिएको समाजमा चेतना कम भएको समाजमा, यो परम्परा अहिले पनि यथावत् छ। गाँउसमाजमा एउटालाई मूली मानेर, नायक मानेर बाँकी सबै उसैका सहायक पात्ररूपमा गतिशील हुने चलन धेरै पुरानो चलन हो। यस चलनले समाजमा एउटा थिति त बसालेको होला तर त्यसले समाजलाई अघि जान भने पटक्कै दिएको हुँदैन । प्रत्येक कुराको अनुमति नायकबाट लिनुपर्ने, अनुमति नपाइएको कुरा स्वेच्छाले गरे नायक रिसाउने र त्यसको ठूलै सास्ती पाइने हुन्छ। तर अब समाज बिस्तारै एकल नायकत्वबाट मुक्त हुन खोजिरहेको छ। संसारका कैयौँ विकसित मुलुकहरू यो एकल नायकत्वबाट मुक्त भएको कति भयो, भयो….., हामीकहाँ भर्खरै यो चेतनाले प्रवेश गरिरहेको छ । बहुलताको यस चेतनाभित्र मुक्तिको लडाइँ लडिरहेका हामी आपसमै पनि द्वन्द्वरत छौँ ।
हजारौँ वर्षदेखिको एउटा सिलसिलामा आइरहेको यस परिवर्तनले स्वयं मुक्ति चाहने पात्र पनि अन्यौलमा छ । ऊ ठीक गरिरहेको छ कि त ? मौलिकताको ठूलो ज्ञानभण्डार बोकेको व्यक्ति पनि कहिलेकाहीँ परम्परागत प्रभावका कारण चमत्कारहरूतिर आकर्षित हुन पुग्छ । विज्ञानले अस्वीकार गरेको भाग्यवादमा बज्रिन पुग्छ। आज पनि कैयौँ द्वन्द्वात्मक भौतिकवदीहरू कहिले साईधामतिर कहिले सिक्किम,कोप्चेको निर्मलधामतिर लुकीलुकी धाइरहेका छन् । हजारौँ वर्षदेखिको एकनायकत्व स्वीकार गर्दै आएको लुप्त मनोअवस्थामा कहिलेकाहीँ ‘म कहाँ छु’ भन्ने वर्तमान चेत हराउन गई मानिसले आफैँलाई बिर्सिएको बेला थाहै नपाई विगततिर फर्किसकेको हुन्छ। आज कैयौँ ठूलाठूला मार्क्सवादीहरू मन्दिरनिर्माण र जीर्णोद्धार-समितिहरूमा सक्रिय छन्। क्याम्पसको सहयोगार्थ आर्थिक सङ्कलन गर्न भनी क्याम्पस हाताभित्र सप्ताह पुराण आयोजना गरी त्यसका कर्ता भई निधारमा चन्दन लगाइरहेका छन्। उपप्रधानमन्त्री भएका बेला माधवकुमार नेपाल तिरुपति बालाजीको दर्शन गरिरहेका थिए। आज पनि कमरेड आर. के. मैनाली बेलाबखत ज्योतिषीहरूलाई घरमा बोलाई हस्तरेखाको लम्बाइ नापिरहेका छन्, चिनाको दशागोचर गनाइरहेका छन्। वर्तमान विश्वासमा जब आफ्नो नायकत्व कमजोर हुन्छ, पात्र फर्किन्छ पुरातन विश्वासतिर। समूहले आफ्नो नायकत्व स्वीकार गरेसम्म सम्पूर्ण विगतका विरुद्ध एक्लै सङ्घर्ष गर्ने अठोटका साथ संसारतिर हेलिएको ऊ उमेरको वृद्धतासँगै फर्किँदै गरेको पाइन्छ पुरातन विश्वासहरूतिर।
अभाव र गरिबी प्रायः सबै दुःखका कारणहरू हुन्। अभाव र गरिबीका कारण पछि परेको शिक्षा र चेतनाले व्यक्तिलाई शासित र निरीहत्व प्रदान गर्दछ। हारिएको मानसिकता जहाँ पनि समर्पित हुन्छ- मालिकसँग, देवतासँग, जोसँग पनि। तर अब बिस्तारैबिस्तारै हाम्रो समाजमा पनि बहुलताले प्रवेश गर्दै गरेको बेला छ। एकल नायकत्वको विघटन हुन प्रारम्भ भएको छ। अब गाउँमा एउटा साहुमहाजनका हातमा मात्र त्यहाँको अर्थतन्त्र केन्द्रित छैन, टोलटोलमा सामुदायिक वित्तीय संस्थाहरू गठन भएका छन्। सस्तो ब्याजदरमा ऋण प्रदान गर्ने संस्थाहरूका अघि किर्ते साहु धराशायी हुँदै गएको छ। राजनीतिमा कुनै एउटा व्यक्ति सर्वमान्य नेता अब रहेन, नाताहरू एउटै दलभित्र पनि अनेक भए, अनेक विशेषताले कुनै एउटा जातिविशेष, धर्मविशेष, विश्वासविशेषले काम गर्न छाड्दै छ अचेल। अचेल कोही पनि आत्मविश्वासका साथ कुनै कुराको जिम्मा लिन सक्दैन। बाबुआमाको पूर्ण नायकत्व स्वीकार गर्दैनन् छोराछोरी, नोकरचाकरले मालिकको मूर्दा दासता स्वीकार गर्दैनन्।
समाजको यही बदलिँदो अवस्थाको अध्ययन गरिरहेछौँ हामी साहित्यकारहरू पनि आफ्नो लेखनमा। परम्परागत लेखनमा एउटा नायक वा नायिकाकै अघिपछि सम्पूर्ण कथाले केन्द्रित हुनुपर्ने, तिनै नायकनायिकालाई तिनको विशिष्ट भूमिका सार्थक गराउन अरू सानातिना भूमिकामा अरू पात्रहरू आउनुपर्ने, सम्पूर्ण कथाले अन्त्यमा एउटा विशेष उपदेश-सन्देश दिनुपर्ने र त्यसलाई पाठकले मान्नुपर्ने, संयोग वा वियोगमा कथा केन्द्रित रहनुपर्ने आदि परम्परागत लेखनले पाठकहरूलाई पनि त्यसअनुरूप रुढदृष्टि दिइआएको थियो/छ। तर यथार्थमा अबको समाज यति सानो र सीमित घेरामा रहेको छैन। समाज धेरै अघि गइरहेको छ र हाम्रो लेखन धेरै पछि छुटेको छ। पहिलेपहिले लेखनको पछि समाज हुन्थ्यो, आज समाजको पछि लेखन घिस्रिरहेको छ। लेखनले समाजको भविष्यको नेतृत्व गर्नुपर्ने हो तर यो अडिएको छ कहालीलाग्दो भूतकालमा। उति पछाडिको लेखनले वर्तमान कसरी सन्तुष्ट हुनसक्छ?
त्यसैले अबको लेखनमा बहुनायकत्व, बहुविचार र बहुकथाहरूको सन्जाल बुनिएको हुन्छ। समाजका सबै वर्गलाई प्रतिनिधित्व गर्ने लेखनमा समाजको यथार्थचित्रण उठाउँदा त्यहाँ विशेष नायक कोही बन्नै सक्दैन। नायक खडा गरेर लेखन गर्न थाल्दा त्यस लेखनमा लेखकको वैयक्तिक कमजोरी वा उसका अहम्-हरू प्रमुखरूपमा अभिव्यक्त भइरहने हुन्छ तर समाजको लेखन गर्न थाल्ने हो भने कथाले आफैँले नायकको छनौट गर्दै जान्छ। सुरुमा एउटा नायक होला भनी गरिएको अनुमान कथा अघि बढ्दै जाँदा टुट्दै जान सक्छ। सोचेको नायक साधारण पात्रमात्र बनी सोच्दै नसोचेको साधारण पात्रले नायकत्व ग्रहण गर्नसक्छ।
कुनै एउटा पात्रलाई नायक बनाउने परम्परा पुरानो सामन्ती विश्वासको अवशेष हो। त्यस नायकको शासनमा अरूले बस्नुपर्ने र त्यसलाई स्थापित गर्न अरूले उसको भन्दा कमजोर भूमिका खेलिदिनुपर्ने, यो अवस्था पुरानो सामन्ती समाजको चिन्तनपरम्परा हो। समाजमा रहेको कुनै एक धनी मानिसले सारा गाउँलाई आफ्नो इसारामा चलाई त्यस गाउँको नायक आफूलाई उभ्याई पल्लो गाउँको नायकसँग जोरी खेलिरहेको हुन्थ्यो र अरूले आफ्नो नायकको पक्षमा बिपत्तामा पल्लो गाउँको नायकका पक्षधरहरूसँग जुधिरहनुपर्थ्यो। समाजको यो परम्परा नै साहित्यमा पनि आउँदा एकल नायकत्वको परम्परा विकसित भएको हो, तर अब लेखन यस खाडलबाट पाखा आइरहेको छ। हाम्रो साहित्यको नयाँ युगचेतना र उत्तरआधुनिकताले प्रवेश गरिरहेको बेला छ। मुक्त लेखनको यस अभियानमा अब हामी बहुनायकत्वको लीलाचेत लिएर लेखन गरिरहेछौँ लीलालेखन।
(स्रोत : साहित्यसरिता – अङ्क २ वर्ष-२ साउन-भदौ-असोज-२०६२)