~ध्रुव थापा~
कति छ कति यो तिम्रो अनुहारमा
प्रेमिल तातो
र त
पग्लदैछ मेरो प्रेमको हिमाल
ओढिरहेछु मैले पनि
त्यही अनुहारको बख्खु।
मनसुनको बादल जस्तै
लहरिएको घना केश
वर्षाको झरी खसेझैँ
निधार बाट बिस्तारै
ओर्लेका केशहरू
यौवन लिएर हतार बगेझैँ लाग्छन्।
ती ठूला गाजलु आँखाहरू भित्र
गहिरो सागरको दहजस्तै
रहस्यको पिधमा
भावनाहरू को मोती
डुबे जस्तो लाग्छ
तिमीले
जति परेली हरू उघार्छ्यौ
उति मन
तैरिन्छ आशाको डुङगामा।
इन्द्र को स्वर्गमा नाच्ने
कथाका अप्सराहरू भन्दा
तिमी यो धर्तीमा
कयौँ गुणा राम्री छौ
कुनै देशकी राजकुमारी
गोधुली मा
क्षितिजको पछ्यौरी ओढेर
मुस्कुराउदै साँझ कुरेझैँ
तिम्रो मुहारको बैँस हेर्दा
लाग्छ
तिमीभित्र कहाँ फुलेको छैन
बाबरी ?
जब हेर्छु म तिम्रो तस्बिर
यस्तो लाग्छ
एउटा परदेशी ले
सम्झिएको बैँसको अँगालो,
कुनै टुहुरो ले कल्पना गरेको
आमाको स्पर्श
र बिहानीले कुरेको घाम ।
यतिखेर म,
तिम्रो रूप को बयान
मनका पानाहरूमा
दिलको कलमले
अनगिन्ती मायाका शब्दहरू
सजाइरहेछु।
र
एकोहोरो समेटिरहेछु
तिम्रो तस्बिर बाट खसेका
बैशालु
सुमधुर रङगहरू
र सजाइरहेछु
यी हरफमा तिमीलाई
प्रेमी जस्तै
मिठो ओठको मुस्कान।।।
– ध्रुव थापा,
वाको टेक्सास अमेरिका
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )