~मणि वाङदेल~
कुन अक्षरहरु टिपेर
शब्द फुलाउ
उन्नलाई माला कविताको
जहा फक्रिन सकोस
सौन्दरियता यो
रक्की माउन्टेनको
कति मनहरु चिरिएर
रसाउने लव ल्यान्डको
मायालु याक्साहरुमा
असिम माया छछल्किएर
पोखिने गोधुंली साँझको
रत्न पार्क देखेँ
खहरे ति नाग्बेलि
कल्कल्को ध्वनिमा
पहरा बीच
यात्रा निरन्तर थियो
खै कुन मंजिलको
त्यहाँ पनि मैले
चक्रे भिर मुनिको
त्रिशुली हेरेँ
जब सुसेली लाउँथ्यो बतास
धुन भनेर गुन्जिन्थ्यो
अनि ती जुरेली पोथ्राहरू
संगीतीय लहरिन्थे
तब लेकाली धुपी सल्ला
मुस्काएर मस्किन्थ्यो
जति म नजिकिँदै
तिमि भित्र समेटी रहेथेँ
त्यतिनै मेरो मन
देशको वियोगमा झस्किन्थ्यो
आज उमेरले निकै
खुट्किलो चढेपछि
तिम्रो पारिलो
आँगन टेकेर
स्वास्थ्य हावाले
फोक्सो भर्दै
मेरो मन मस्तिस्क
र दृष्टिले पनि
एक पत्र काँचुली
फेरेको छ
तिम्रो थाप्लोमा बसेर
यो मनले
माछापुछ्रे देखि रहेछ
लाँगटांग नियालिरहेछ
बर्सौ पछि फेवामा मन
डुबुल्की मारिरहेछ
रक्की माउन्टेन
त्यो निलो छानामुनि
सेतो पछ्यौरी ओडेर
बेहुली प्रस्तुतिमा
संधै सजिने यो
तिम्रो सुन्दरतालाई
मेरो क्यामेराको
छाती भित्र समेटेर
आज म जाँदैछु
फुर्सदमा तिम्रो यो
आकृति नियाली
मेरो हिमाल हेर्नलाई
मेरो नेपाल देख्नलाई !!
जुलाइ २०११,
न्युयोर्क अमेरिका
(स्रोत : नेपालीडायस्पोरा डट कम – अंक १, असार २०६८, जुलाइ २०११)