कविता : कविको हेर न मार्ग निराला

~गोपाल पाँडे~

सुन्दर कोमल बनस बिछ्याऊ,
स्वागत-सूचक पुष्प सुँघाऊ,
बस्तछ हा तर फङङ थलामा,
सुँघ्दछ त्यसकै वास मजामा,
हाँसोको त्यो लाउँछ माला,
कविको हेरन मार्ग निराला ।
(१)
राख गवैया र चरा खास,
खूब गवाऊ कविका पास,
झिकि झिकि राग र ताल मजाको,
झिमि झिमी कविता हुन्छ सुतेको
मनले गिरेको चढछ उकाला,–
कविको … … … मार्ग निराला ।
(२)
तप तप रसिलो बात सुनाऊ,
वरिपरि घेरा चीज लगाऊ,
सलवल जिभ्रो सबको हुन्छ,
खान्छ मजासितँ पूरी काला !
कविको – – – मार्ग निराला !
(३)
सुख दिन आयो चाड जनायो,
झकमक पारी यात्रु हिंडायो,
मरण कसैको मनमा त्यल्ले
लेख्यो, पागल त्यो छ, त्यसैले
बेर्दछ जियमा टुक्रा टाला !
कविको – – – मार्ग निराला !
(४)
हाट छ धनवान्, वस्तु छ सस्तो,
खाईलाई अदनै कस्तो,
मोटो घाटो घरमा ताजा !
तर कवि बन्दछ भनको राजा,
सुक्खा रोज्दछ शुष्क छ गाला
कविको – – – मार्ग निराला !
(५)
झलमला सारा हाउस राती,
किन्न् हेर्नेहरुको ताँती !
चटक र नाटक, थाना गफ छन्,-
तर कवि हट्तछ परपर झन्झतन् !
जुनमा शिवशिव हेर्दछ जाला !
कविको – – – मार्ग निराला !
(६)
औंसी रात छ मोसो जस्तो,
पर्दछ पानी झम झम कस्तो !- –
भन्दै दुनियाँ सुत्तछ मस्त,
तर कवि लेख्तछ-‘भो निशि अस्त !’
सुन्दर शीतल, गगन उज्याला !
कविको – – – मार्ग निराला !
(७)
आँसु वहाई खूब कराई,
वरिपरि घेर्दछ जब सबलाई,
कविको मनमा नायक जन्म्यो,–
खितितिति हाँस्तछ, जगतै थर्क्यो !
ठान्दछ दुनियाँ – ‘बेढव चाला !’
कविको – – – निराला !
(८)
गर्दै बेढव अनुभव खालि,
जनको मनमा विजुली बाली,
झललल पारी कुहिरो फारी,
सत्य र सुन्दर नेत्र उघारी,
रच्तछ त्यसमा नव भवशाला
कविको – – – निराला !
(९)
सव्‌तिर जान हण्डर खाने,
हेय कुरामा पनि सतू लाने,
कवि हो जगको सेवक खास,
छर्दै हिड्दछ दिव्य मिठास !
हुन्न धनवान् कवितावाला !
कविको – – – मार्ग निराला !
(१०)

(‘साहित्य स्रोत’ बाट)

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.