~सङ्कलन : दिलबहादुर चोधरी~
पहिलो किम्बदन्ती :
पौराणिक काललाई हेर्ने हो भने आर्य र अन्य जातिबिच प्रतिस्पर्धा र समय समयमा बैरभाव भएको देखिन्छ। त्यतिबेला आर्य र नागवंशको बैबाहिक सम्बन्ध पनि थियो र समयक्रममा बैरभाव पनि। ऋषि जरत्कारुको पत्नी नाग जातिकी थिइन्, जसबाट आष्टिक ऋषि जन्मेका थिए।
पाँच पाण्डवका माता कुन्तीका माता पनि नाग कन्या थिइन्। महाभारतका अभिमन्युका पुत्र राजा परिक्षित थिए, जसलाई तक्षक नागले डसेको थियो। परिक्षितका छोरा जन्मेजय राजा भएपछि सोही रीसले नागजातिको भीषण संहार गरेका थिए। तर समय बित्दै जाँदा तिनै तक्षक नागको चौथो पिंढीको एक कन्याको बिबाह, राजा परिक्षितको चौथो पिंढीमा हुन पुगेको थियो। केहि समयपछि बिबाहित ती नाग कन्याले एक महिलासँग आफू नाग बंशको भएको र यो कुरा कसैसँग नभन्न आग्रह गरिन्। ती महिलाले अर्की महिलासँग पनि उनी नाग वंशकी कन्या भएको तर अरुलाई नभन्न आग्रह गरिन्। यसो गर्दागर्दा यो कुरा शहरमा फैलियो र नाग वंशका महाराजसम्म पुग्यो।
महिलाको मनमा कुनै पनि कुरा लामो समयसम्म टिक्दैन भन्ने रीसले राजा आगो भए र शहरका सबै केटी, महिलाहरुलाई चौराहामा जम्मा गर्न लगाए। उनले सबैलाई कोर्राले पिट्न लगाए र मारे। त्यस बेलादेखि नै गुडिया पिट्ने चलन चलेको हो भन्ने पनि एउटा भनाई छ।
दोश्रो किम्बदन्ती :
एक शहरमा राजाका छोराछोरी (दाजु–बहिनी) बस्थे। उनीहरु एकअर्कालाई निकै माया गर्थे। दाजु चाहिं भगवान भोलेनाथ र कालीका भक्त थिए र दिनदिनै मन्दिर जान्थे। जहाँ एउटा नाग देखिन्थ्यो। उनले नागलाई दिनदिनै दूध खुवाउँथे। सर्प भगवान भोलेको अति प्यारा प्राणीमध्ये पर्छ, उनको गहना मानिन्छ। भक्त बालकलाई देखेर नाग निस्कन्थ्यो। उ बालकको खुट्टामा मायाले लतपटिन्थ्यो र मणि छोडेर बिलाउँथ्यो।
एक दिन पुजा गर्न निस्कने बेला बहिनीले आफू पनि मन्दिर जाने अड्डी लिइन्। दुबैजना चना, केराउ, मटराको घुघरी, दूध, (परिकार), मकैको भुजा लिएर मन्दिर गए। मन्दिरमा पुग्दा नाग फेरी देखा पर्यो र दाजुको खुट्टामा मायाले बेरियो। बहिनीलाई लाग्यो कि मेरो दाजुलाई नागले डस्यो, उनी चना, केराउ, भुजा, दूध राखेको ढकियाले पिटेर सर्पलाई मारिदिइन्। दाईले सर्पको बारेमा बहिनीलाई पुरा कहानी बतायो। कहानी सुनेर बहिनी निकै रोइन् र पश्चाताप गरिन्। दाजुको लागि सर्प र बहिनी बराबर थिए।
घटनापछि त्यहाँ भएका मानिसहरुले भने ‘सर्प देवताको रुप हुन्छ, त्यसैले बहिनीलाई दण्ड र सर्पलाई पूजा जरुरी छ, तर बहिनीले दाजुको प्राण बचाउन मात्र यसो गरेकीले बहिनीको रुपमा गुडियाले हरेक बर्ष दण्डित हुन आवश्यक छ, यसले दाजु–बहिनीको माया–प्रेम अझ बढेर जान्छ।’
त्यसवेलादेखि दाजु, भाई, दिदी बहिनीको त्यो माया–प्रेमलाई सम्झन, अमर बनाउन यो समुदायमा नाग पञ्चमीको दिनमा केटीले गुरिया फाल्ने र केटाले पिट्ने चलन चलेको हो।
तेश्रो किम्बदन्ती :
एक जना ब्यक्ति त्यौहार मान्न आफ्नो बहिनीलाई बोलाउन गएको थियो। बहिनीको बिहा धनी घरमा भएको थियो। गरिब दाजुलाई देखेर उनी मान मर्यादामा बेवास्ता गरिन्। उनको बेवास्ता र अपमानका कारण दाजु घर फिर्ता भए। बहिनी एक्लै माइती आइन्।
बहिनीको बानी ब्यहोराका कारण माइती पक्षले पनि जति गर्नुपर्ने हो, मानमर्यादा गरेन।
बिदाईको दिनमा माइती पक्षले बहिनीलाई नदी पार गरेपछि, अब कहिल्यै नआउनु भनी बिदाई गरे रे। बिदाईको दिनमा नाग पंचमी थियो। त्यसबेला देखि नै कपडाको गुरिया (गुरही) लाई पिट्ने र नदीमा सेलाउने चलन चलेको हो भन्ने भनाई पनि छ।
चौथो किम्बदन्ती :
स्वर्गका राजा ईन्द्रले पृथ्वीमा मनुवाहरुको हालखबर बुझ्न एकजना परीलाई पठाएका थिए रे। मानवरुपमा आएकी ती चमत्कारी परीले धेरै बर्षसम्म हालखबर बुझ्दा बुझ्दा पृथ्वीलोकका मानिसहरुसँगको मायामोहले बाँधिइन्।
समय पुरा भएपछि देवलोक (स्वर्ग) का राजा ईन्द्रले परीलाई बोलाए। मानिसहरुले तिनी गएपछि आफूहरु समस्यामा पर्ने बताए। उनले मानिसहरुको रोग, ब्याध, दुःख, कष्ट आफू लिएर जाने बताए।
मानिसहरुले उनलाई भब्य मान सम्मानका साथ बिदाई गरे। त्यो दिन नाग पञ्चमी थियो। त्यसबेलादेखि गुरही (गुरिया) पिट्ने चलन चलेको हो भन्ने भनाई पनि छ।
गुरिया (गुरही) पर्वबारेमा किम्बदन्ती