~कमला प्रसाइ~
आज भोलि मलाई मेरा हजुर बुबाको
निक्कै याद आउन थालेको छ,
छड्के ढाका टोपी र दौरा सुरुवालमा उभिएर
शनिश्चरे बजारको अर्जुनधारामा मलाई
आशीर्वाद दिएको आजै जस्तो लाग्छ ।
दशैमा टीका लगाएर मेरो शिरमा जमरा
राख्दै आशीर्वाद दिएको आजै जस्तो लाग्छ,
चौरानब्बे वर्ष पुगेका मेरा हजुर बुबा हरियो
मकै भुटेका मकै दाँतले चपाउन पाउँदा
आफूलाई खुशी ठान्दथे अनि चपाउँदथे पनि,
मलाई हजुर बुबासँग साथमा बसेर कुराउनी र
सेलरोटी खाएको याद आउँछ,
अचेल म निक्कै हजुर बुबालाई सम्झन थालेकी छु,
मैले जानेदेखि मेरो हजुर बुबासँग प्यारो
देशभित्रका आस्था अनि उमंगहरू लुकेका थिए,
हजुर बुबाको मनभित्र देशभित्रका माया र
विश्वासहरू छरिरएको भेटेकी थिएँ ।
एक ठेकी महि र एक हर्पे घ्यूमा मेरा
हजुरबुबासँग निक्कै तागत थियो,
एउटा गाई र एक हर्पे घ्यूमा थुप्रै भगवान्का
भाकलहरू पालेका थिए मेरा हजुर बुबाले,
मैले त मेरा हजुरबुबाभित्र धेरै धेरै नै
राष्ट्रका चिन्तन र सागरहरू देखेकी थिएँ,
म अहिले पनि सम्झने गर्दछु
हजुर बुबा हुनुको अर्थ देशको गौरव हुनु हो ,
हजुर बुबा हुनको अर्थ देवीदेवताको आशीर्वाद हो,
आज प्रत्येक चाडपर्वहरूमा मैले
मेरा हजुर बुबालाई सम्झने गर्दछु
आज प्रत्येक दशैंहरूमा हजुरबुबाको आशीर्वाद
प्राप्त गर्ने जमर्को गर्दछु,
तर आज मेरा हजुरबुबा मबाट
धेरै टाढा जानुभएको छ,
आजभोलि मेरा धेरै दशंैहरू गइसके
मलाई आशीर्वाद मिलेको छैन,
त्यसैले म फेरि किन होला ?
म मेरो हजुर बुबाको खोजीमा हिंडिरहेछु,
म हजुरबुबाको टेक्ने लट्ठीको खोजीमा हिडिरहेछु,
म किन किन हजुर बुबाको खोजीमा
दिनरात लागिरहेछु
किनकि,
मेरो हजुर बुबा हुनुको अर्थ मेरो देश हुनु हो,
मेरा हजुर बुबा हुनुको अर्थ
मेरो देशको सभ्यता हुनु हो ।
जुलाइ २०११,
अमेरिका
(स्रोत : नेपालीडायस्पोरा डट कम – अंक १, असार २०६८, जुलाइ २०११)