कविता : आई हेइट यु ज्यान

~रामगोपाल आशुतोष~

आई मिन इट
इमानदारीका साथ भन्छु
— आई हेइट यु ।
तिमी मलाई अचम्मकै लाग्छौ
अ मिस्टेरिअस मिस्ट्री ।
युगौं भयो
— तिमीसित साइनो गाँसेको
— तिमीलाई चिन्न थालेको
— तिमीलाई बुझ्न चाहेको
लाग्छ
तिमी जियोग्राफीको मिस्टेइक हौ ।
म बिनाकारण तिमीसित रिसाइदिन्छु
तिमी मेरो रिसलाई माया गरेर
इन्द्रकमल फूलजस्तै शिरमा सजाइदिन्छ्यौ ।
महादेवले पार्वतीको परीक्षा लिएझैं
म तिम्रो इमान र प्रेमको परीक्षा लिइरहन्छु
तिमी एक होनहार विद्यार्थीले झैं
प्रत्येक प्रश्नको सही र सटिक जवाफ दिन्छ्यौ ।
आफ्नो प्रश्नको उत्तर आफैं थाहा नपाउने
म असक्षम परीक्षक
तिमी र तिम्रा उत्तर पढ्दा
आल्बर्ट आइन्स्टिन पढिरहेझैं लाग्छ
अनि मनमनै भन्छु
आई हेइट यु एन्ड यर इन्टेलिजेन्स ।
एउटा आवारा चंगाजस्तै
तिमीलाई उडाएर अर्कै भूगोल लगुँ भन्छु
तिमी संयम लट्टाईजस्तै
मलाई प्रेमको धागोले मुटुमा सुरक्षित राख्छ्यौ
दुव्र्यसनी भाइलाई स्नेहको औषधिले
पुनरुत्थान गर्ने ए मेरो दाइजस्तै स्नेही
आई हेइट यु एन्ड यर ब्रदरहुड !
सहस्र गोपिनीलाई जस्तै
अलि नयाँ
अर्कै अन्तरङ दुनियाँमा भुलाउन खोज्दा
रुक्मिणीको सत्य लिएर
सधैं सही मार्ग र दिशानिर्देश गर्ने
मेरो जीवन मगमगाउने ए सती !
आई रियल्ली हेइट यु एन्ड यर कल्चर !
तिमीले मसित
कहिल्यै केही मागिनौ
मागेकी भए
— आकाशको तारा शिरमा सजाइदिन्छु भन्ने थिएँ ।
तिमीलाई पाउन
सारा भूगोल एक गरिरहने मसित
तिमीले कहिल्यै केही चाहिनौ
चाहेकी भए
— क्षितिज पारिको जून तिम्रो पाउमा राखिदिन्छु भन्ने थिएँ
तिमीसित च्याट गर्दै निदाउने
र, तिम्रै आवाज सुन्दै ब्युँझने
मसित कहिल्यै केही खोजिनौ
खोजेकी भए
— सागरको मोतीले तिम्रो जीवन सजाइदिन्छु भन्ने थिएँ ।
बश तिमी
मेरो प्रेमको आयतन अनुरूप
कहिले ऊर्वशी, कहिले मेनका बनिरह्यौ ।
म लम्बिँदा लम्बिरहने
म उक्लिँदा उक्लिरहने
म तातिँदा मलाई चिस्याउने
मेरो नियत र इमानमाथि कहिल्यै प्रश्न
नउठाउने ए मेरी बहिनीजस्तै विश्वासी
आई हेइट यु एन्ड यर कन्फिडेन्स ।
मेरो बदमास नजर र चञ्चल छुवाइ
कहिल्यै बदर नगर्ने
मेरो छुकछुके बानी र अस्थिर स्वभाव
बिनासेन्सर सदर गर्ने
मेरी आमाजस्तै
महान किन हुनु परेको तिमीलाई !?
— यो मेरो मुटुले लगाउने लुगा
— यी मेरो धड्कनले पढ्ने किताब
— यो उसलाई मन पर्ने फूल
— यो उसको बेस्ट कलर भन्दै
बडो जतनले साँचेर राख्ने
सती सावित्री
जहान किन बन्नुपरेको तिमीलाई ?
आमाको अनुपस्थितिमा
भोकले रोइरहेको भाइलाई फकाउन
ममताको काखमा सुताउने
आफ्नो बैलो स्तन लुकीलुकी चुसाउने
जगत् जननी
दिदीजस्तो किन हुनुपरेको तिमीलाई !?
आफ्नो जीवनभरको कमाइ
आफ्नो श्रीसम्पत्ति, इच्छाआकांक्षा
आफ्नो रूप, यौवन,
चाहना र रहरलाई थाँती राखेर
आफ्नो सन्तानको हित र उत्थानका लागि
शहादत हुने बलिजस्तै, बाजस्तै दानवीर
आई हेइट यु एन्ड यर ग्रेइटनेस ।
बत्तीसै लक्षणले सजिएकी तिमीलाई
सबैले आई लभ यु भनून्
तर म भन्छु — आई रियल्ली हेइट यु एन्ड यर ब्युटिज् ।
किनकि
खसीको टाउको देखाएर
कुकुरको मासु बेच्नेहरूले
अन्त्यमा
तिम्रो गुण होइन
तिम्रो शरीर उपभोग गर्ने हो ।

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.