कथा : अनुहार

~सुबिन भट्टराई~

दुनियाँमा अनुहार बेचेर बाँच्नेहरूका कथा धेरै होलान् । तर, कसैले सुनेको होला अनुहार बचाएर बाँच्न नसक्नेको पीडा ? जुन अनुहारसँग मित्रता गाँस्न धेरै चाहन्थे मलाई त्यही अनुहारसित दुस्मनी हुन थाल्यो । मेरो अनुहारमा केही खोट थिएन । र, त्यही खोट नहुनु नै मेरो आफ्नै लागि बोझ भयो । म आफ्नै अनुहारको दुस्मन भएँ ।

मेरो अनुहारको चमकले नियत तिर्मिराएकाहरू धेरै थिए । मेरो रूपै यस्तो थियो कि जस्तै मै हुँ भन्ने पनि चुप हुन्थ्यो । तर, मलाई मेरो रूपको घमण्ड त्यस्तो केही थिएन । म भीडभन्दा फरक थिएँ तर मैले त्यस्तो महसुस कहिल्यै गरिनँ ।
म बस्ने टोल सानो थियो । तर, त्यही टोलमा मलाई मन पराउनेको भीड ठूलो । महिना दुई महिनामा एक न एकजना मेरा सामु आउँथे । कोही प्रेम माग्थ्यो । कोही प्रेम दिन्छु भन्थ्यो । कोही मलाई पाउन चाहन्छु भन्थ्यो, कोही घरै बसाउन चाहन्छु भन्थ्यो । प्रेम मलाई धेरैले गर्थे ।
तर म ?

म कसैलाई गर्दिनथेँ । म कसैलाई प्रेम गर्न भने चाहन्थेँ । तर, अनुहार मात्रको भरमा म कसैबाट प्रेम गरिन चाहन्नथेँ । म चाहन्थेँ, मसित मेरो यो सुन्दरता नरहँदा पनि मेरो प्रेम रहिरहोस् । किनकि कसैलाई प्रेम गर्नका लागि सुन्दरता सबैभन्दा बलियो कारण हुनै सक्तैन- मेरो यस्तो मान्यता रहँदै आएको थियो ।
भीडहरूमा मिसिन आइपुगेको थियो प्रल्हाद नाउँको केटो, जो वर्षौंदेखि मेरो छिमेकी रहँदै आएको थियो । बाह्र-पन्ध्र घर पर बस्थ्यो त्यो । म साढे ९ बजे घरबाट अफिसका लागि निस्कन्थेँ । त्यो सम्भवतः सवा ९ देखि नै आफ्नो घरको छतमा उभिएको म विचार गर्थेँ । त्यसैगरी, बेलुकी साढे ६ बजे त्यही बाटोबाट फर्कंदा पनि त्यो त्यहीँ हुन्थ्यो ।
नबोल्ने तर भित्रभित्रै गुम्सिरहने टाइपको प्रेमी थियो । करिब ६ महिनासम्म छतबाट मलाई घुरेर हेरिसकेपछि उसको तिर्खा तीव्र भएको थियो ।

त्यो दिन पौने ७ नै बजिसकेकको थियो । पुसको जाडो । मध्यरात भएजस्तो अँध्यारो देखिन्थ्यो । वरपर डम्म हुस्सु लागेको थियो । मेरा अगाडि करिबकरिब मलाई झस्काउने नै गरी त्यो देखा परेको थियो ।
‘ओ हेलो !’ जम्काभेट भएको झैं गरेर बोल्नु उसको नाटक थियो ।
‘सन्चै हुनुहुन्छ ? ’ बेवास्ता गर्दै तीन-चार कदम अगाडि बढिरहेँ ।
‘लगभग’, उसको जवाफ, थप केही सोधिदेओस् भन्ने भावका साथ । मलाई पछ्याइरहेको थियो ।
‘ए’, मेरो लगातारको बेवास्ता ।
‘एउटै टोलमा भएर पनि भेट नहुने हगि’, ऊ रोकिने मुडमा थिएन । सबै दाँत टिलिक्क टल्काएर भन्छ ।

‘बिहान-बेलुकी म अफिस जाने र आउने टायममा छतबाट त खूब हेर्नुहुन्छ मलाई’, म पनि त्यसलाई चाँडोभन्दा चाँडो धपाउन खोज्छु । मन लाग्दैन त्योसँग छिल्लिरहन । स्वभावै छैन त्यस्तो मेरो ।
त्यसको अनुहारमा एकाएक ग्रहण लाग्छ । बोल्न सक्तैन । अकमकिन्छ ।
‘नडराउनुस्’, मैले भनेँ, ‘परबाट कसैलाई हेर्नु क्राइम होइन ।’
‘त्यस्तो लाग्या होला’, ऊ स्पष्टीकरण दिन खोज्छ, ‘म अक्सर छतमै टहलिरहेको हुन्छु ।’
मुसुक्क हाँसिदिएर फटाफट गएँ ।

अर्को दिन त्यो छतमा देखिएन । न बिहान । न बेलुका । के गर्छ ? भन्नेमा म पूरै कुतुकमा थिएँ । तीन दिनपछि मेरासामु उसैगरी आयो ।
‘हेलो हेलो’, कसैसँग बोलिरहेको अवस्थामा फोनको नेटवर्क जाँदा चिच्याएझैं चिच्याउँदै परबाट आयो।
म टक्क अडिएँ । ‘नराम्रो मान्नुभएछ’, मैले व्यंग्य गर्दै भनेँ, ‘छतमा जाने बानी एक्कासि हटाउनुभयो।’
‘व्यस्त थिएँ ।’
‘रहने गर्नुस्’, मैले उतिर हेर्दै भनेँ, ‘त्यसैमा फाइदा हुन्छ ।’
‘साँच्चै ? ’ उसले हाँस्दै भन्यो, ‘व्यस्तताको कारण जे भए पनि ? ’
योपटक म चुप भएँ । मसँग जवाफ थिएन । फटाफट उम्किएँ त्यहाँबाट । बेलाबेलामा मेरो छेउमा आएर बोल्ने बाटो खुलिसकेकाले ऊ छतमा देखिन बन्द भएको थियो ।
दिन बिराएरैजस्तो ऊ जम्काभेटको बहानामा भेटिइरहन्थ्यो र भन्थ्यो, ‘क्या संयोग !’
म भनिदिन्थेँ, ‘धेरै संयोग नपार्नुस्, वियोगमा तड्पिनुपर्ला !’
एक दिन, उसैले पारेको संयोगको घुम्टोमा हामी पर्‍यौं । ‘यो गल्ली पनि हामीबीच उपलब्ध भएको संयोगको साक्षी छ है ।’
उसले यो संवाद बडो रोमान्टिक हुँदै भनेको थियो । अघिपछि ठीकै थियो । योपटक मलाई असह्य भयो । उसै पनि ठिहिर्‍याइरहेका बेला उसको रोमान्टिक हेराइ र कुरा गराइले झनै ठिहिर्‍याएको महसुस भइरहेको थियो । उसलाई कुनै पनि किसिमको जवाफ नदिई आँखा तरेर फटाफट त्यहाँबाट हिँडेँ ।

फेरि दुईचार दिनपछि ऊ उसैगरी भेटियो ।
‘तिमी त रिसायौ यार’, मलाई देख्नासाथ भन्यो ।
म केही बोलिनँ । ऊ मलाई पछ्याउँदै आयो । म टक्क अडिएँ ।
उसले भन्यो, ‘अस्तिका लागि माफी है, तिम्रो यस्सै चित्त दुखाएँ ।’
‘म रिसाएको छैन’, यत्ति भनेँ ।
‘भनेर मात्र त कसरी पत्याऊँ ? ’
‘नाचेर देखाऊँ ? ’ रिसाएको अभिनय गर्दै भनेँ ।
‘पर्दैन’, अलिक सिरियस हुँदै भन्यो, ‘सत्य कुरा भन्छु । छतमा बसेर तिमीलाई नै हेर्ने गर्थें । यो बाटोमा तिमीलाई कुरेर बस्थेँ र संयोगले भेटिएको अभिनय गर्थें । यो तिमीलाई पनि थाहा छ ।’
‘थाहा छ’, मैले भनेँ, ‘प्लिज अब योभन्दा अगाडि केही नभन्नु ।’
‘भन्छु’, ऊ जिद्दी गर्न थाल्यो, ‘म यो कसरी नभनी बसिरहन सक्छु कि तिमीलाई प्रेम गर्छु ।’
‘जवाफ पनि लिएर जानुस् र घर गएर दुःखी भएर बस्नुस् ।’
‘म तिमीबिना बाँच्न सक्तिनँ ।’
‘मर्ने अप्सन त रहेछ नि !’ उसको अनुहारमा नहेरी फटाफट हिँडे ।
ठूलो स्वरले चिच्यायो, ‘यही चाहन्छ्यौ तिमी ? ’
म सुनेको नसुन्यै गरी त्यहाँबाट घरतिर लागेँ । यसैगरी आउँथे केटाहरू मेरो पछाडि । साथीहरूको पनि देखेथेँ । यस्तो प्रेमको नियति, प्रेमअघि तिमीबिना बाँच्न सक्तिनँ । केही पछि तिमीसँग बाँच्न सक्तिनँ ।
‘तिमीबिना बाँच्न सक्तिनँ’, भन्नेहरूलाई रिजेक्ट गरेको केही दिनपछाडि नै मेरो आँखैअगाडि अर्कै केटीसँग हाँस्दै हिँडेको धेरैपटक देखेकी छु । प्रेम आजकाल यस्तै कोटीकोे हुन्थ्यो । इमोसन भन्ने चीज किताब र सिनेमामा मात्र भेटिने भइसकेको थियो ।
अनि मुटु ! त्यो फेसबुकका इमोटिकन या त ग्रिटिङ्स कार्डमा मात्र देख्न पाइन थालेको थियो ।

बिहान अफिस जाने बेलामा त्यो छतमा आँखा पुगिहाल्यो तर लगत्तै आँखाहरू छतबाट ओर्लंदै आँगनमा पुग्यो जहाँ अटाई नअटाई मान्छेहरू थिए । आँगनले नपुगेर मान्छेहरू बाहिर सडकमा पनि थिए । म हतारहतार गरेर त्यहाँ पुगेँ । भीड छिचोल्दै छिचोल्दै आँगनसम्म आफूलाई लैजान समर्थ भएँ । आँगनमा तुलसी मठ नजिकै राखिएको लासले मेरो सर्वांग बरफझैं जम्न थाल्यो । मुटुको चाल ह्वातै बढेर आयो । आँखाअगाडि अँध्यारो छायो । मान्छेहरू हल्ला गरिरहेका थिए । सबै बोलेकाले कसैको वाक्य पनि ठीकसँग सुन्न सकिरहेकी थिइँन । ‘सुसाइड’, ‘केटी’, ‘कठैबरी’जस्ता शब्दमात्र बारम्बार सुनिरहेकी थिएँ । दुईजना प्रहरी भित्रबाट निस्केको देखेँ । डरले सातोपुत्लो उड्यो । सुरुमा बिस्तारै त्यहाँबाट निस्किएँ । अनि फटाफट हिँडेरै अफिस पुगेँ । अघिपछि बसमा जाँदा आधा घन्टा लाग्ने अफिस हिँडेको हिँड्यै एक घन्टामा पुगेँ । शरीर पसिनाले निथु्रक्क भएको थियो ।
अफिस पुगेर पनि धैर्य भएन । डरले काँपिरहेकी थिएँ । पश्चात्ताप पनि भइरहेको थियो । त्यै अघिको दृश्यले मस्तिष्क ओगटेको थियो । केही काम गर्न सकिनँ । केही सोच्न सकिनँ । मन एकतमासको भएको थियो । हिजो बेलुकी व्यर्थै त्यसो भनेछु । तर, यसअघि कतिलाई भनेकी थिएँ । कोही त मरेनन् । मान्छेका लागि मर्नु किन यति सस्तो ?

बेलुकी घर फर्कंदा त्यो बाटोबाट हिँड्न सकिनँ, जुन बाटोमा हिजोअस्ति ऊसित भेट हुन्थ्यो । फनक्क घुमेर १० मिनेट लामो पर्ने बाटो घुमेर घर गएँ । तर, बाटो बदलिँदैमा नियति बदलिँदो रहेनछ । मुन्टो बटार्दैमा यथार्थ ओझेल हुँदो रहेनछ ।
त्यो रात मेरो भयानक रात बित्यो । मरेको ऊ थियो, तर आँखामा निद्रा मेरो जीवित थिएन । उसले आँखा यसरी चिम्लिदिएको थियो, मेरो खुला आँखा बन्द हुनै सकेन । उसको सास बन्द हुनुसँगै मेरो जीवनमा त्रास जीवित भएको थियो । उसको धड्कन बन्द हुनुसँगै मेरो धुकधुकी बढेको थियो । जलेको उता ऊ थियो, निभेकी यता म थिएँ ।

कसैलाई प्रेम नगर्नुको परिणाम यो हुनसक्छ ? कसैको प्रेम नपाउँदा मान्छे आफैंलाई यस्तो परिणाम दिलाउन सक्छ ? के ऊ मेरै कारणले, मेरै जवाफको तोड सहन नसकेर मरेको थियो ? अब मसँग यी प्रश्न मात्र छन् । र, जवाफको खोजी गर्नु मूर्खता हुँदो हो । ऊ त मरिसक्यो ।

समय धेरै बित्यो । उसको मृत्युले मभित्र ग्लानिको नदी बगेको थियो । म झुक्किएर पनि ऊसँग भेट हुने त्यो बाटो हिँड्न सकिनँ । मेरा पाइताला हिँड्ने बाटो बदलिएको थियो । तर, दिमाग चल्ने गोरेटोहरूमा उसैसितको स्मृति उभिन आइपुग्थ्यो । म हरक्षण हरपल त्रस्त र तप्त रहन्थेँ । मबाट ठूलो गल्ती भयो । माफी कोसँग कहाँ मागौं ? गल्ती ? यो गल्ती कहाँ होला ? मैले त अपराध गरेँ । माफी पो गल्तीको हुन्छ, अपराधको त सजाय हुन्छ । कहाँ कसरी दिउँ आफैंलाई सजाय ? कोसँग दण्डको भीख माग्न जाऊँ ? कसरी पापमोचित होऊँ ? कसरी हृदय हलुँगो बनाऊँ ? कसरी ठीकसँग आम मानिसहरूझैं बाँच्न सकौं ? न घरपरिवारमा यो कुरा भन्न सक्छु, न टोलछिमेक समाजमा गएर । न साथीभाइ कसैलाई पोख्न सक्छु । रात, दिन, साँझ, बिहान हरक्षण उसको अनुहार मात्र सम्झन्छु । अनि सम्झन्छु, नाकमा रुवा कोचिएको उसको त्यो मृत अनुहार । उसकी आमाको मरणासन्न अवस्थामा पुगेको देह । म छट्पटिन थाल्छु । मलाई भित्रभित्रै पोल्न थाल्छ, यो कुराले । यो सम्झँदा आफ्नै सुन्दरता शरीर र अनुहारबाट कोट्याइ-कोट्याईकन फ्याँकिदिऊँजस्तो लाग्छ । आफैंलाई कुरूप बनाउन मन लाग्छ ।

तर म पनि कौन सा बाँचिरहेकी छु र ? बाटोमा हिँड्दा म मानिसहरूसित आँखा जुधाउन पनि नसक्ने भएँ । छरछिमेकी जोसुकै भेटिँदा पनि म सुरुमा तर्सिन्छु । अनि उसको प्रश्नहरूको जवाफ दिएर सकेसम्म उम्कने प्रयास गर्छु । त्यस उप्रान्त म कसैको विवाहमा गइनँ । कुनै पास्नीमा गइनँ । कुनै व्रतबन्ध, कुनै पर्व, कुनै समारोहमा जाने आँट गर्न सकिनँ । न कसैकोमा जाने साहस गरेँ, न कसैलाई बोलाउने आँट गरेँ । मलाई भीडसँग डर लाग्थ्यो । भीडमा मिसिन पुगेकी मलाई आफैंसँग ज्यादा डर लाग्थ्यो । कसैसित आँखा जुधाउनु असुरक्षित लाग्थ्यो । मलाई प्रश्नहरूसँग डर लाग्थ्यो । जवाफ दिने प्रयास गरिरहेकी मलाई आफैँदेखि डर लाग्थ्यो । म कसैले ढोका ढक्कक्याउँदा पनि तर्सन थालेँ । म प्लेन उडेको आवाजले पनि झस्कन थालेँ । म फोनको घन्टीले पनि थर्किन थालेँ । म गाडीको हर्नले पनि तर्सिन थालेँ ।

यस्तै भयो मेरो जीवन धेरै महिनासम्म । भित्र एउटा मुस्लो मडारिरहेको थियो जो निस्कन जरुरी थियो, तर निस्कन सकिरहेको थिएन ।
डर बिस्तारै मबाट हट्दै गयो । ऊ मर्‍यो । कोही केटीकै लागि मर्‍यो । सब यही ठान्थे ।
तर मेरा लागि मर्‍यो । यो ऊ जान्दथ्यो । म जान्दथेँ । कसका लागि मर्‍यो ? न उसका परिवार जान्दथे । न पुलिसले जान्ने मौका पायो । उसको सत्य उसको प्राणसँगै निष्प्राण भयो र मेरो मौनतासँगै छातीभित्र दबिइरह्यो । हो जब जब डराउँथेँ, मनभित्र यही कुरा घुसाउँथेँ । कतिपटकसम्म यसो गर्दा पनि कामै गरेन । समय लाग्यो । धेरै पछि यही कुराले जित्दै लग्यो । सुरुमा ‘ऊ मेरो कारणले मर्‍यो’ भन्ने कुरालाई सत्य मान्दा मबाट त्रास हट्थेन । पछि, यो सत्यले मेरो पूर्व धारणालाई प्रहार गरेपछि यही अन्तिम सत्य बन्यो ।
समय फेरि दोहोरिएर आएझैं भयो । फेरि उसैगरी एक अपरिचित मसँग परिचयको सुरुआत गर्न आयो । नाउँ अभय बताए पनि मसँग खूब नर्भस भएर बोल्थ्यो । म बोलिदिन्थेँ । उसैगरी घर फर्कंदा र अफिस जाँदा मेरो बाटोमा भेटिन्थ्यो ।
‘तिमीसँग यसरी हिँडिरहन मन पर्छ’, केटो मसित प्रेममा परिसकेको रहेछ । अब यसलाई कसरी सुल्झाऊँ ? एउटा दुःखबाट मुक्ति पाइनसक्दै आएको यो झन्झटलाई लगेर कहाँ मिल्काऊँ ?
‘कफी खान्छ्यौ मसित ? ’ कुनै अर्को दिन आएर ऊ आग्रह गर्छ ।
‘म कफी कहिल्यै खान्नँ ।’
‘चिया ? ’
‘चिया, कफी, कोल्ड ड्रिङ्स केही खान्नँ ।’
‘केही थोरै समय र साथ त दिन्छ्यौ ? ’
‘लिइरहनुभएकै छ नि, नदिए पनि’, मैले भनेँ ।
अर्को दिन आएर ऊ भन्छ, ‘म तिमीलाई माया गर्छुृ ।’
जे सुन्न नपरोस् भनी तर्किरहेकी थिएँ, त्यही सुन्न पर्‍यो । चिया र कफीको आग्रहसम्म ठीकै थियो । तर, प्रेमको आग्रह ? स्पष्ट भन्न खोजेँ, ‘मचाहिँ गर्दिनँ भने भने के भन्नुहुन्छ ? ’
‘त्यसो नभन’, उसले निन्याउरो अनुहार लगाएर भन्यो, ‘बडो आशा लिएर आएको छु । तिमीलाई हरेक कोटीको सुख दिनेछु ।’
‘सुख दिनेछु को मलतब के ? ’ मैले भनेँ, ‘के म अहिले दुःखी छु ? ’
‘योभन्दा बढी दिन्छु ।’
‘तपाईंले भविष्यमा मलाई दिन चाहेको सुखभन्दा मैले अहिले पाइरहेको सुख बढी छ कि ? कसरी तुलना गर्नुहुन्छ ? ’
‘प्लिज मेरो प्रस्तावलाई अस्वीकार नगर ।’
‘सरी । मलाई अहिले कसैकी प्रेमिका हुने फुर्सद छैन । म आफैं एक्लै ठीक छु । मसँग आफ्नै समस्याहरू छन् ।’
‘तिमीबिना बाँच्न सक्तिनँ म ।’

हो यही कुराले झसंग भएँ म । यही कुराले मेरा पाइला रोकिए । यही कुराले मेरो मुटुमा गाँठो पर्न गयो । यही कुराले म आफैंसँग बाँधिएँ । यही कुराले मभित्र रहिरहेको एउटा घाउ कोट्याइएको महसुस गरेँ मैले । यही कुराले सताइएँ म ।
म, न जवाफ दिनसक्ने स्थितिमा रहेँ न त्यहाँबाट स्थितिलाई यस्सै आफ्नै हालमा छाडेर फर्किन सक्ने अवस्थामा भएँ । असमञ्जसको स्थिति । ह्याङ भएको कम्प्युटरजस्तो स्थिति जाम हुन गयो । भन्ने सुन्ने कुरा मानौं कहीँ अड्किएको छ । केहीले अल्झिएको छजस्तो ।
परिस्थितिले मसँग फेरि भद्दा मजाक गर्दै थियो । म समस्याको दोबाटोमा थिएँ । जुन बाटो हिँडे पनि लड्नेवाला मै थिएँ । त्यसलाई मर्न छाडिदिऊँ या आफैंलाई मर्न दिऊँ ? कुन बाटो म हिँडूँ ?

त्यसलाई मर्न दिए मेरो जीवन झनै अशान्त हुने थियो । म केही हदसम्म त्यो दिन मरेँ जुन दिन प्रल्हाद झुन्डिएर मरेको थियो । ऊ मरेपछि म सम्पूर्ण रूपमा जीवित रहन सकिनँ । मेरो जीवनको शान्ति, सुख, चैन, निर्धक्कता सबै मरेको थियो । मेरा अनिँदा रात, अनि अस्थीर चित्तलाई थाहा छ । अब यसलाई मर्न दिएर भएको अलिकति जीवन पनि म कसरी नष्ट गर्न सक्छु ? म बाँच्न चाहन्छु ।

यी साह्रा कुरा सोचिसकेपछि मैले उसको प्रेम स्वीकारिदिएँ । ऊ फुरुंग परेर मलाई अंकमाल गर्‍यो र अर्को दिन भेट्ने समयतालिका मिलाएर गयो । एउटा सामान्य केटा, सुन्दरताको उत्कर्ष बोकेर हिँडेकी केटीबाट प्रेम स्वीकृत हुँदा कतिसम्म खुसी हुँदै जान्छ, त्यो हदसम्मको खुसी लिएर गयो ऊ ।
म अहिले प्रेममा छु । तर, दुःखमा छु । प्रेम मेरा लागि नमीठो ओखती बनेर आयो जसले मेरो तत्कालको समस्या त टार्‍यो । तर, यसको टर्रोपनाले उत्तिकै प्रताडित पनि छु । एउटा प्राण यत्तिकै यो धरतीबाट नष्ट भएर नजाओस् भन्ने कुराको विचार गरेकाले यसो गरेकी हुँ । कसैलाई यस्सै मर्न दिनुभन्दा केही समय, कमसेकम ऊ नअघाउन्जेल ऊसित प्रेमको स्वाङ गरिदिनु ठीक ठानेँ । अरू पनि थुप्रै विकल्प हुँदा हुन् । तर, त्यसबखत मलाई योभन्दा ठीक अरू केही लागेन । उसलाई अस्वीकार गरेर आउने प्रतिफलको डरभन्दा करले भए पनि प्रेम गर्नुले नै सन्तुष्टि दिएको थियो । तत्कालको एउटा समस्या टार्नलाई अर्को समस्याको खाडल आफैंले खनेकी हुँ । भोलि जे होस् जस्तो होस् तर आज सही होस् भन्ने ठानेर प्रेमका लागि आफैंलाई तयार गराइदिएँ । प्रेम उसले मबाट धेरै चाखेको छ । हरेक परिकारको ।
भन्छ, ‘जुन परिकारको चाखे पनि प्रेम मीठो !’

मैले पनि चाखेकी छु, उसले जस्तै ती सबै परिकार । तर, मेरा लागि यसको हरेक परिकार स्वादहीन । कसैका लागि प्रेम अलगअलग स्वादमा उपलब्ध हुन्छन्, कसैका लागि प्रेम स्वादमा होइन केवल प्यासमा सीमित रहन्छन् । मेरो प्रेम पनि प्यासमा सीमित थियो ।
प्रेम के हो ? यो मैले अहिलेसम्म पनि बुझेकी छैन । प्रेममा कसैका लागि ज्यान दिने अनि कसैको ज्यान लिनेसम्मको भाव कसरी आउँछ ? बुझ्न सकेकी छैन । मलाई त्यस्तै प्रेम गर्न मन छ । हुरुक्कै भएर । कसैका लागि पूर्ण रूपमा, मुटुमा कुनै किसिमको गाँठो नपारीकन, निधारमा संकुचनको एउटा पनि धर्सो नबनाईकन, कसैप्रति पूर्ण समर्पित भएर, आँखामा बेचैनी लिएर, प्रेम गर्न र गरिन चाहन्छु । तर, त्यो प्रेमको यात्रा कसैले मेरो अनुहार हेरेबाट सुरु नगरोस् ।

त्यो प्रेमको घरभित्र पस्नलाई कसैले मेरो रूपलाई ढोका नबनाओस् ।
अब यही कामना गरेर बसेकी छु, कुनै दिन ऊ मेरो कथित प्रेमबाट अघाओस् र जाओस् । अनि म स्वतन्त्र हुनेछु । देखिरहेकी छु उसका आँखा अनि व्यवहारमा, कि उसलाई प्रेम पहिलेभन्दा अलिक कम मीठो लाग्न थालेको छ । ऊ तृप्त भइसकेको छ । कुनै पनि दिन उसले आफ्नो भित्री इच्छालाई मेरा सामुन्ने हिम्मत गरेर भन्नेछ । म खुसीखुसी दुःखी हुनुको नाटक गर्दै उसलाई मेरो जीवनको नमीठो हस्तक्षेपबाट मुक्त गरिदिनेछु । त्यो उसको भन्दा बढी मेरो मुक्ति हुनेछ ।
अनि म आफैंले चाहेजस्तै प्रेमको खोजीमा रहन सक्नेछु । प्रेमको वास्तविक स्वाद पाउनेछु ।
दुनियाँमा अनुहार बेचेर बाँच्नेहरूका कथा धेरै होलान् । तर, कसैले सुनेको होला अनुहार बचाएर बाँच्न नसक्नेको पीडा ? अहिले म त्यही पीडा बोकेर बाँचेकी छु ।

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.