कविता : पुँजीवाद

~मनु वि.क.~

यो पुंजीवाद हो
आफ्नो पखेटा फिजाई रहेछ
अनेक नामका बाटाबाट
भूमन्डलीकरण र उदारीकरणको
डम्फु बजाउँदै
साम्राज्यवादी नंग्रा बढाइरहेछ
अनेक जीव निर्जिव चुसिरहेछ
लुट्नसम्म लुटिरहेछ
हरेक क्षण, पलमा
निर्धन दुःखीमाथि
आफ्ना कुदृष्टि फ्याँकिरहेछ

यो पुँजीवाद हो
आफू मोटाइरहेछ
उ देख्दैन आफ्नो मोटाई र समृद्धिमा
निर्धन दुःखीको रगत मिसिएको
उ हेरिरहेछ गरिबका ख्याउटे शरीर
रोदन क्रन्दन सुनिरहेछ
सायद मनोरञ्जन प्राप्त हुँदो हो
उ सिकाइरहेछ लुट र झुठको पाठ
मानवप्रतिको निर्दयताको पाठ
उ ठान्दो हो गरिबलाई अमानव
बनाउन चाहन्छ खेलौना
नचाउन चाहन्छ आफ्नै इशारामा
नर्तक घोषणा गर्न चाहन्छ
त्यही पुरानो गीत संगीतको

तर उसलाई थाहा हुनु पर्ने हो
गरिबहरुको पनि चेतना छ
सोच्ने एउटा मस्तिष्क छ
चल्ने दुई हातहरुले
उनका इशारा मात्रै मान्दैनन्
उनीहरुमा आँट साहस र
वर्गीय एकता छ ।

– काठमाडौं

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३५ – July 17, 2013 – २०७० श्रावण २ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.