~डि.एल. भन्डारी~
सत्य र असत्यबीचको
लडाईको आगोबाट
गुज्रिएको पीडा हो क्रान्ति
मृत्युसँग खेल्दाखेल्दै,
संसार जित्ने न्यायको बाटो हो क्रान्ति
क्रान्ति वर्गीय मुक्ति र विद्रोह हो
वर्ग दृष्टिकोण अंगाल्न सक्दैन भने,
मयुरको प्वाँख लगाएर
काग उडे जस्तो हुन्छ क्रान्ति
वर्गीय लडाईको तृप्त क्षणहरूमा
जहाँ अन्याय र अत्याचार हुन्छ
त्यहाँ त्यसको विरूद्ध आवाज हुन्छ
जहाँ आवाजमाथि दमन हुन्छ
त्यहाँ विद्रोहको संख बज्छ
र, जन्म हुन्छ क्रान्तिको
कम्युनिस्टको लडाईले दुश्मनहरूलाई
क्षतविक्षत पार्न सकेन भने
विचारात्मक संघर्षको संगीन बाटोमा
हिंडेको के अर्थ भो र ?
सर्वहारा वर्गीय दृष्टिकोणको भावना माथि
बन्चरो चलाउनेहरू
रक्त क्रान्तिको बीचबाट हाम फाले पनि
विचारात्मक संगीन बाटोको यात्रामा
दुनियाँका साम्राज्यवादीलाई चिर्दै,
चारैतिर काला शेष नागहरूले एम्बुस थापे पनि
सर्वहारा वर्गीय ज्वालामुखी विस्फोट हुँदै अघि बढ्छ क्रान्ति
– तुल्सीपुर नगरपालिका–३ दाङ
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २८ – May 29, 2013 – २०७० जेष्ठ १५ गते, बुधबार)