कविता : कुहिरोभित्रको बस्ती

~अशोक विष्ट~

रक्तिम क्रान्तिको ज्वालालाई
बुद्धको अस्तुले स्वागत गर्दै
गिद्धहरुको बस्तीमा
म शान्ति खोजिरहेथे
पानीभित्र माटो खोजिरहेथें
खन्डहरहरुमा नयाँ वस्ती खोजिरहेथें
मरुभूमीमा जंगल खोजिरहेथे
पहाडका खाडलहरुमा कुवा र तालहरु खोजिरहेथें
अन्धकार मेरो झुप्रोभित्र
दियालो खाजिरहेथें ¤ दियालो खोजिरहेथें
समानताको एउटा गोरेटो खाजिरहेथें ।

मेरो धरहराबाट मेचीदेखि महाकालीसम्म
दृष्टि अवतरण गर्न उचाई खोजिरहेथें
मेरो चौंरीको ताजा दुध बहिनी धनियाले
झिसमिसेमै पाओस् भनी
एउटा आकाशे पुल खोजिरहेथें
मेरो जनकपुरे माछा हुम्लाकी मिङमाले
अब क्षणभरमै पाउँछिन भन्ने ठानिरहेथें
त्यसैले त म समृद्ध नेपालको लागि
लडि रहेथें ¤ लडि रहेथें ¤

गगनचुम्बी भवनको आकाशे बगैचामा
मत निदाई रहेथें ¤ निदाई रहेथें ¤
मेलम्चीको पानीले मेरो राजधानी हराभरा भयो ।
कुलेखानी, मोदीखोला, भोटेकोशी र कर्णालीको हाइड्रोपावरले
मेरो नेपाल झलमल्ल हुन थाल्यो
मुगु, मुस्ताङ, कागबेनी , हुम्ला, जुम्ला र लोमान्थाङका
मेरा खच्चडहरुले पनि आमा पाउन थाले
उनीहरुले पनि रमाई रमाई
अब केबुलकार र मेट्रो बसहरु चढ्न थाले ।

रसुवाको धुन्चेबाट रेल चढेर
ईलामको चियाबगानमा म चिया टिप्न जान्छु
नेपालगन्जबाट सिमिकोटमा चौरी दुहुन पुग्छु
दार्चुलाबाट इलाम १० मिनेटको बाटो भएको छ
किनकि मेरो नेपाल आज समृद्ध भएको छ
विराटनगरबाट सिमिकोट जान
अब बुलेट टे«न चल्ने भएको छ ।

थाकेको जीर्ण शरीर लिएर
म झसँग बिऊ झिएँ
आँखा मिच्दै खटप्वाल च्यातेर बाहिर हेरें
सडकमा अखबारे भाई चिच्याउँदै थियो
फलानो मन्त्री भ्रष्टाचारी ठहर
फलानो कर्मचारीलाई जेल चलान रे
जताततै महामारी फैलिएछ
हिजो तल्ला घरे साइलालाई मात्र लागेको कुष्ट रोग
आज सारा बस्तीभित्र सल्किएछ
राष्ट्रसेवकहरु पनि
सेतो कफन र शान्तिको रंग च्यातेर
सुलसुलेहरुसित पल्किएछन्
सात घण्टाको ज्याला नपुगेर
कर्मचारीको अर्थ नै बिर्सिएछन् ।
सेवा प्रवेशमा खाएको कसम भुलेर
नातावाद र कृपावाद तिर ढल्किएछन्
पावर र सानको बिल्ला ओडेर
टेढो आँगनमा मर्किएछन्

निहालेर हेरे , आफूले आफूलाई सम्हालेर हेरे
एक चौटा मासुको लागि सर्वहाराहरु
भोका स्यालहरुसँग पनि लुछाचुंडी गर्न थालेछन्
बिहानै मुस्कुराउने हिमाल
धुरुधुरु रोएझैं लाग्न थाल्यो
धरहराले आँखा तरेर हेरे झैं लाग्न थाल्यो
मठ मन्दिर, मस्जिद र गुम्बाहरुले
भजन छाडेर कोलाहल हाले झैं लाग्न थाल्यो
सिता, भृकुटी र गौतम बुद्धले
विदा ¤ विदा ¤ भने झैं लाग्नथाल्यो
मेरो सहिदहरुको आँशुले जतातै बगाए झैं लाग्न थाल्यो
सगरमाथा ढलेर थिचे झैं लाग्न थाल्यो

गोरे दाईले चन्द्र र मंगलमा हैकम जमाई सके
नालायकहरु भने मुकदर्शक भएर हेरिरहेछन्
पृथ्वीकै एक टुक्रा जमिनको लागि
कैयौं पुस्तादेखि सडकमै लगिडरहेछन्
आमाको दुध चुसेर पुगिडसकेछ
बाउको घुँडा चुस्न थालेछन्
कुहिरो भित्रको बस्तीमा हैकम जमाई जमाई
तान्डप नृत्य गरिरहेछन् ¤ गरिरहेछन् ।

(निजामति सेवा दिवस २०६९को अवसरमा सूचना विभागमा आयोजित विभागस्तरीय कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल यो कविता हामीले सूचना विभागको द्वैमासिक नेपालको वर्ष ४३ अंक १ बाट लिएका हौं । )

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ७ – Dec. 26, 2012 – २०६९ पौष ११ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.