~डा. संगीता स्वेच्छा~
जवानी सबैको आउँछ । अरूभन्दा यो उमेरमा सबैको आँखामा भविष्यको लागि एउटा स्वर्णिम सपना सजिएको हुन्छ । मेरो त भविष्य अन्तहीन यात्रा बनेको छ, एउटा कहाली लाग्दो अतीत जसले मलार्इ वर्तमानमा नराम्ररी कोपरिरहेको छ । भनिन्छ, यो उमेरमा कुकुरको पुच्छर हल्लेपनि हाँसो लाग्छ तर मलार्इ भने केही चीज हँसाउने लाग्दैन । सब कुराहरू कृत्रिम र अस्वाभाविक लाग्न थालेको छ । हुन त मलार्इ कसैको मीठो वर्तमानसंग डाहा छैन न त कसैले संगालेको सुन्दर भविश्यसंग । त्यै एउटा डरलाग्दो घटनालार्इ बिसिर्न खोज्छु तर सक्दिन । हृदयमा परेको त्यो छापले अझ जटिलता खडा गरिदिएको छ ।
यो उमेरको उदासिनता र एकांकीपनलार्इ मानिसहरू सहानुभूति प्रकट गर्छन् यही सोच्दै कि म पनि एक असफल प्रेमी हुँ । यो कसरी सम्भव हुनसक्छ जब मेरो हृदयमा कसैको लागि प्रेमको टुसा पलाउने स्थानसम्म छैन । निश्चय नै मानिसहरूको यो सोचाइले मेरो वास्तविकतालार्इ अन्याय गरिरहेको छ किनकि मेरो मुटुले अतीतको एउटा सिङ्गो आघातलार्इ समेटेको छ । हुन त यो उमेरमा प्रायः सबैका प्रेमी प्रेमिका हुनथाल्छन् तर म यस्तो सोचाइबाट बाहिरै भए पनि मानिसहरूको भनाइबाट भने मुक्त हुनसकेकी छैन । सुन्छु, कसैको एकतर्फी प्रेम रे कसैको दुर्इतर्फी प्रेम रे….. । असफल प्रेमीहरू कोही आँसु बगाउँछन् कोही अर्धपागल हुन्छन् त कोही आत्महत्या गर्छन् । भन्नेले अनेक भन्लान्…..तर म न रून सक्छु, न पागल बन्न सक्छु, न त आत्महत्या नै गर्न सक्छु । मेरो मानसपलटमा उसको सिङ्गो व्यक्तित्व सलबलाउन थाल्छ । त्यसैले पनि एकांकीपन र उदासिनतालार्इ समेटेर खोलाको बगरसम्म जाने क्रम भने टुटेको छैन ।
हो, मेरो पनि सात वर्ष लामो प्रेम कथा छ । मेरो पनि एउटा बेग्लै अतीत छ जहाँ हामी संगै पढ्थ्यौं, खेल्थ्यौं….अगाध माया गर्थ्यौं । त्यो समय जब हामीलार्इ न अतीतसंग मतलब थियो, न त भविष्यसंग । हामी पनि एक-आपसका प्रेममा बाँधिएका थियौं । त्यो कुनै सस्तो प्रेम-कथा थिएन जहाँ सबै प्रेमी-जोडीले गर्ने वाचा होस् भविश्यको लागि सपना होस् । त्यो त एउटा स्वस्थ बालप्रेम थियो जतिबेला हामीमा केटा र केटी भन्ने भावसम्म थिएन ।
उसको चिनो भन्नु नै खोलाको बगरमा लगाएको एउटा पिपलको बोट थियो जसलार्इ मैले दशवर्षदेखि पूजा गर्दै आइरहेकी थिएँ । खेल्दा खेल्दै खेलमै लगाएको एउटा पिपलको बोट पनि हिजोको हुरीले ढालेको छ । मलार्इ यही कुराले बाँच्न मन लाग्दैन कि उसको मृत्यु मेरै कारणले भयो । समय पनि त्यस्तै थियो । मेरो बढ्दो उमेर र यौवनतिर धकेलिंदै गएको बास्तविकतालार्इ औंल्याउँदै बुवाले ऊसंग हातेमालो गर्दै विद्यालयबाट फर्कन, जान र खेल्न मनाही गर्नुभयो । त्यो दिन विद्यालयबाट फर्कने क्रममा ऊबाट टाढिएँ, आफ्नो बुबालार्इ सडकको पल्लो छेउ देखेपछि । उसले हात समाउन आउँदा म दौडिएँ बीच सडकतिर । जब तेज रफ्तारमा आइरहेको गाडी देखें बीचमै अत्तालिन थालें । यसपछि मैले केहि चालै पाइन….म सडकको पल्लो छेउमा पछारिएर वेहोश भएकी थिएँ रे जुन कुरा मैले तीन दिनपछि होशमा आएपछि थाहा पाएँ । होशमा आउँदा उसलार्इ गुमाइसकेकी थिएँ । मलार्इ बचाउन ऊ आफै गाडीमुनि पुगेछ । मेरो लागि उसले ज्यान नै समर्पण गरिदियो, जतिबेला ऊ केवल १२ वर्षको थियो । आफू होशमा आउँदा उसको सम्झना बाहेक केही समेट्न सकिन । उसको अन्तिम क्षणको अनुहारसम्म देख्न पाइन । त्यो घटनाको विभत्स दृष्य र हामी बीचको बालप्रेम देखेर कतिको त परेली समेत भिजेको थियो रे ।
उसको मृत्युको खबरले म पनि मानसिक अश्वस्थताको शिकार भएँ र छ महीना अस्पतालको हावा खान पुगें । अनेक उपचार पश्चात मेरो मनस्थिति स्वश्थ भयो तर यो स्वस्थ मनस्थितिप्रति मलार्इ खेद छ । म उसको लागि मर्न नसकेपनि अस्वस्थ मनस्थितिभित्रै ऊसंग रमाएकी थिएँ । जतिबेला म जो कोहीसंग पनि ऊ नै सम्झेर कुरा गर्न पुग्थें । त्यसैले अब बाँचेको अर्थहीन लागेको छ । बाल मस्तिस्कको त्यो प्रेमले आफूले सुनेका कैयौंको जवानीको प्रेम-कथालार्इ फितलो बनाइदिएको छ । अबोध अवस्थाको प्रेम र सर्मपण मस्तिस्कमा घुमिरहन्छ । हिजोको हुरीले पिपलबोट ढालेपछि मलार्इ पुनः मृत्यु भए झैं लागिरहेको छ । उसको सम्झना ढलेको छ, मरेको छ । भोलिदेखि उसको यादमा पिपल पूजासम्म गर्न पाउँदिन । त्यहाँ केवल रित्तो बगर हुनेछ अनि अतीतको आघात बोकेको आभास मात्र हुनेछ ।
‘असहमतिका पार्इलाहरू’ संयुक्त्त कथा संग्रहमा प्रकाशित
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )