कविता : सारंगी हुँ म

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

सारंगी हुँ म
सजाएर नराख
बैठक कोठामा सजाएर राख्नुको सट्टा
मलाई बेस्सरी रेट
ताकी उत्पिडनका तरङहरुको ज्वालामुखी फुटोस्
र एउटा तेस्तो बेग लियोस्
जसले पिडकहरुको शैलीलाई परिवर्तन गरोस्
अनी दमनको शृंखलाहरु रोकियोस्
जसले पिडितहरुलाई चट्टान जस्तै कठोर भएर एकट्ठा गर्न सकोस्
अनि पिडकहरुलाई परास्त गर्ने शक्ती संचित गरोस्
शक्तिको दुरुपयोग गर्नेहरुलाई सजग गराउन सकोस्
रेट धक फुकाएर रेट ।
म सारंगी हुँ
म सजिने बस्तु होइन
मलाई बेस्मारी रेट
बिभिन्न ताल र गीतहरुमा रेट
रेट्न नछोड मेरा तारहरु ।
आवाज नसुनेकोहरुलाई सुनाउनका लागि रेट
सुनेर पनि नसुनेको जस्तो गरेर वसेकाहरुलाई
पुनस्मरण गराउनका लागि रेट
आँसुले ढुंगाहरुलाई खियाएको गीतहरुमा रेट
बेदनाले छातीलाई वन्दक वनाएको कहानीमा रेट
उठ्न खोज्नेहरुको लुलो नशाहरुलाई बलियो वनाउन रेट
कस्सीकस्सी रेट
सारंगी हुं म
मेरा तारहरु चुंडिएला भनेर डर नबोक
चुंडिएछै भने पनि फेरेर ताल मिलाएरै रेट ।

म बज्नुपर्छ
नबज्ने वाजा भएर निकम्मा हुनु छैन मलाई
मेरो काम बज्ने हो
अर्काको स्वतन्त्रतालाई
पैतलामा कुल्चेर राख्नेहरुको ज्याजतीलाई
पर्दाफास गरेर ढाल्ने हो
नरोक वजाउन मलाई
बरु सक्छौ भने
अरु थुप्रै सारंगीहरु भेला पार
एकै स्वर अनि तालमा
मुटुमा घोचिरहने व्यथा अनि चित्कारहरु निकाल्न
तारहरुलाई वेस्कन रेट
ताकि सारंगीहरुको युग आओस्
स्वतन्त्रताको लागि ध्वनि निकाल्नेहरुको युग स्थापित होस्
जनतालाई आतंकित वनाउनेहरुको षडयन्त्रहरुको खुलासा होस्
र, मानवताको कदर गर्न तिनीहरुले शिर झुकाओस्
निहुरिएर आप्mना धारावाहिक अपराधहरुको कबुल गरोस्
सारंगी हुं म
मलाई बेस्मारी रेट ।

(१४ अगष्ट २०१४, फार्नवोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.