कविता : आमा म फर्कँदै छु

~प्रेमध्वज गाहा~

आमा !
फर्कँदै छु म तिम्रै काखमा ,
जिन्दगीले डो¥याउँदै लगेको ,
यो अरब छाडेर ।

तिमीले भन्ने गरेको ,
‘हबैजास’…..
चढेर गएको म ,
साँच्चै आउँदै छु यसपालि,
यो उच्चाटलाग्दो ,
मरुभूमि छाडेर ।

मैले खेल्ने गरेको,
त्यो आँगन बिरा,,,नो भइसक्यो होला ।
गोठालो जाँदा प्यास मेटाउने ,
पा,,रि पालेबनको ढुँगेधारो पनि ,
सुकेर अहिले त,
अवशेष मात्र बाँकी होला ।
मेरो अनुपस्थितिमा ,
पाखाभरि फुल्ने गुराँस पनि ,
फुल्न छाडि पो सके होलान् ।

लडाउँदै बढाउँदै गर्ने,
त्यो आँगनले मलाइ ,
चिन्छ कि चिन्दैन कुन्नि ।
मेरो प्यास बुझाउने ,
त्यो ढुँगेधारो,
फेरि एक पटक रसाउँछ कि रसाउँदैन कुन्नि ।
फुल्न बिर्सेका गुराँसहरू ,
खै , फेरि फुल्लान् कि,, नफुल्लान ।

जेहोस,
म फर्कँदै छु आमा !
अरबको यो चर्को घाम बिर्सेर ।
मेरो आफ्नै झुपडीको ,
जस्केलाबाट एकाबिहानै छिर्ने,
शि,,,तल बतास सम्झेर ।

सुनेको छु ,
म हिँडेपछि बाबाको बु,,ढो हड्डीले ,
सुर्का र पाखाबारी नजोतिएपछि ,
बढेका झाडीहरूमा दिउँसै,
स्यालहरू कराउँछन् अरे ।
ती सर्का र पाखेबारेमा ,
पसिनाको बीउ छर्नु छ आमा !
अनि फलाउनु छ ,
खुसीका केही ढाकर कोदोहरू ।।

त्यसै खेर बग्दै जाँदैछन् अरे,
उँधै,,,उँधो,गँगटे र धमिले खोलाहरू ।
सोझ्याउनु छ तिनलाई पनि ,
गैरीखेतहरुमा ।
गर्नुछ रोपाइ परिश्रमको ,
अनि उब्जाउनु छ ,
समृद्धिका केही भकारी धानहरू ।

म हिँड्ने बेलामा ,
रुँदै बिदा दिएकी दिदीलाई सम्झेको छु ।
सुनाइदेऊ आमा ,
भाइ आउँदै छ भनेर ।
थुन्से भ,,रि पाहुर बोकेर,
आउन भनिदेऊ उनलाई माइत ।
हो , आमा !
म आउँदै छु तिम्रै काखमा ।
मुदिरको क्रोधी आँखा बिर्सेर ।
दिदीको हाँसी,,रहने आँखा सम्झेर ।

हिँड्नुअघि ,
फुलपाती चढाएको थिएँ,
बराज्युको थानमा ।
मागेको थिएँ,
झोलाभरिको आशीर्वाद ।
गाउँलेहरू प्रार्थनाका लागि,
अन्यत्र धाउन थालेपछि ,
जीर्ण बनेको होला ,
बराज्युको थान ।
लिपपोत गरी सिनिक्क पार्नु है आमा !
आएर टक्र्याउनु छ दस्तुर बराज्युलाइ ।
चढाउनु छ भाकलमा ,
एउटा सुँगुरको पाठो ।

सुनेको छु, आमा !
गाउँको नेताज्युले ,
सहरमा महल ठड्याएका छन् अरे ,
आउँछन् अरे हरेक चुनावमा ,
आश्वासनका बिस्कुन सुकाउन ।
भेटेर भन्नु छ उनलाई ,
आफ्नो लागि महल होइन ,
सबै नेपाली अट्ने,
‘नेपाल घर’ बनाउन ।
भन्नु छ उनलाई,
समृद्धि र विकासका,
मखमली र गुरदौलीहरु ,
यहीँ फुलाउन पाउँ ।
ताकि ,,,
म जस्ता हजारौँ युवा ,
जानु नपरोस खाडी,
रेमिटान्स कमाउन ।

आमा !
म फर्कँदै छु ,तिम्रै काखमा ।
जिन्दगीले डो¥याउँदै लगेको
अरब छाडेर ।

सुतेपछि ,
धेरैले उठ्न बिर्सिएको यो अरबमा ,
भोलि बिहान सकु,,शल बिउँझिएछु भने,
‘हबैजास,,,’
चढेर गएको म ,
साँच्चै,,आउँदै छु यसपालि,
उच्चाटलाग्दो यो मरुभूमि छाडेर ।

कावासोती नगरपालिका वडा नँ. १ ,
बर्दघाट सुस्तापुर्ब नवलपरासी ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.