नियात्रा : नारायणीको तीरैतीर

~भेषराज रिजाल~

शीतले नुहाएका देवचुली र वरचुली बिहानीको कलिलो घाममा अनुहार सुकाइरहेथे । आकाससँग अंकमाल गरिरहेका चुरेका अरू चुलीहरू पनि नवलपुरबासीसँग मुस्कुराइरहथे । रङहरुको फागु खेल्दै आकासमा पौडिन तम्तयार देखिन्थ्यो सूर्य । रक्तिम आभाले अनुहार धोएर वासन्ती वहारमा मन बहलाउन निस्किँदै थियौँ हामी दम्पति पनि ।

सम्बत् २०७५ साल वैशाख ७ गतेको उज्यालो बिहानको जस्केलो टेकेर लोकाहा खोलाको किनार समात्दै दक्षिणतिर हानिएथ्यौँ हामी ।

‘हिउँदमा कमिला हिँड्दारहेछन् लोकाहामा ।’ सुख्खा खोलाको बगरमा पाइला टेक्दा भनिथिन् राधाले । 

‘टिप्परले हिँड्न दिए पो हिँड्छन् कमिलाहरू ।’ बगरभर राइँदाइँ मच्चाएका टिप्परका टायरचिन्ह हेरेर भनेथेँ मैले ।

बगरैबगर धेरै तल पुगेपछि बल्ल खोलामा पानीको चिस्यान देखियो । आमाले भन्नुभएको याद आयो– ‘लुकाहा खोला हो यो त ।’

खोलाकिनारको सिमलो खेतमा ध्यानमग्न थिए बकुल्लाहरू । बकुल्लाको चुच्चो, खुट्टा र चाल देख्दा संसार बुझेझैँ लाग्यो मलाई । दुनियाँले बकध्यान गरिरहेका विषयप्रति वितृष्णाको ज्वारभाटा उर्लनथाल्यो मभित्र । शून्यमा समाहित पूर्णताले जिस्क्यायो आफैलाई ।

स्वतन्त्र आकास–लोकमा जीवन खोजिरहेथे गौथलीहरू । विद्युतीय–तारमा विश्राम भोगिरहेथे मसिना चरीहरू । खोलाकिनारको काँसेझाडीमा छेलिएर चुप्पीचराले जिस्क्याइरहेथ्यो हामीलाई । घाँस काट्न जाँदा त्यसलाई पछ्याउँदै खरबारी डुलेको किशोरवयको सम्झनाले रमाएँ म एकछिन ।

‘नारायणी किनारमै पुग्छ बाटो ।’ धोबादीबाट सरेका लौगाईंबासी भविलाल गाहाले बाटो देखाइदिनुभयो हामीलाई ।

रूखको छाया, पोखरीको पानी र नदी किनारको हावामा आह्लादित भइरहेथ्यो मन । बस्तीको चहलपहल र कलिलो घामको न्यानो रापमा टल्किरहेथे हरिया मकैबारी । मकैबारीको निगरानीमा निमग्न थिए केही थान मचानहरू । गैँडाका पदचाप छरिएको खेतले तानिरहेथ्यो मेरो ध्यान । रोमाञ्चक अनुभूतिको फाँटमा तरङ्गिएको थियो तनमन । सोचेथेँ, जीवनका धेरै सपना, गति र लय प्रकृतिबाटै पाएको छु मैले । प्रकृतिको रुप, रङ र स्पर्शले हरक्षण तानिरहेछ मलाई । प्रकृतिको रहस्यमय जादु स्पन्दित हुन्छ मेरो हृदयमा । र त, प्रकृति खोज्दै नारायणी किनार पछ्याउँदा भेटेझैँ लागिरहेथ्यो आफ्नै जीवनको आत्मीय पदचिन्ह ।

नारायणी पारिको जङ्गली नेपथ्यबाट वनकुखुरोले स्वागत गरिरहेथ्यो । नदीको सरस प्रवाहसँग जिस्किँदै नाचिरहेथे फूर्तिला चरीहरू । गाईभैँसी, भेडाबाख्रा चराउँदै नदी किनारमा निश्चिन्त सुस्ताएका देखिन्थे गोठालाहरू । नदीको चहकिलो स्वच्छतासँग लोभिएथ्यो मन । नदी किनारको एकझोक्का बताससँग लहसिएथ्यो मन । नीलो आकास उचालिरहेको नदीको गहिराइसँग डुबुल्किएथ्यो मन । बहेर नसकिने नदीको स्वभाव देखेर मोहित भएथेँ म ।

लौगाईंको पुछारमा भेटिए माझी, बोटे, मुसहर, थारु, गुरुङ आदि जातका केही मान्छेहरू । बस्तीमा घुसेर गैँडाले धनजन र बालीनालीको विनास नगरोस् भनेर गरिरहेथे बारपर्खाल । मेहनतले नापेर खनिरहेथे बाटो । इमान्दारीले तौलेर उचालिरहेथे दैनिकी । अनुहार, आवरण र हैसियत हेर्नेहरूलाई लाप्पा चखाएर नदी किनारको संघर्षशील जिन्दगी बाँचिरहेथे ती ।

गाउँ निर्माणमा जुटिरहेका ती गाउँलेहरूसँग गफिएथेँ म एकछिन ।

डुङ्गा खियाउँदै नदीमा पस्न लागेका प्रेमबहादुर नेपालीले दुखेसो गर्नुभयो– ‘ठेकअधियाँ गरेर गुजारा चल्छ ।’

राजकुमार, सरिता आदिले पनि उस्तै व्यथा सुनाउनुभयो– ‘माछा मार्न पनि सहज छैन अचेल ।’

‘नदीका सन्ततिहरू आफ्नी आमासँग खेल्न नपाउने ?’ कुन खेलको नियम हो यो, भेउ पाइनँ मैले ।

‘नदी र वन्यजीवन संरक्षणको सामाजिक दायित्व सुम्पेर माझीलाई जिन्दगी–डुङ्गा खियाउन दिए के फरक पर्दो हो र ?’ नदी किनारका माझीप्रति मायाको भेल उर्लेथ्यो मभित्र ।

अविरल यात्रामा निस्केको नदीसँग सम्वाद गर्न लालायित थिएँ म । र त, काँसेघारीका ठेट्ना छिचोल्दै नारायणीको चिसो पानी छुन पुगेथेँ । नारायणी पनि भङ्गालोमा वेगिएर मैतिर हाम्फालिरहेथ्यो । संगीत घोलिएको त्यसको मसिनो कलकलले तानिरह्यो मलाई । छालसँग तैरिएको सरस हावाले सुस्तरी हानिरहेथ्यो मलाई ।

मलाई लाग्यो– अनन्त साहित्य, कला, संगीत र दर्शन छ नारायणीसँग । सरसता, शीतलता र कोमलताले भिजेको छ नारायणी । रस, माधुर्य र मोहनीले जीवन्त छ नारायणी । सप्तगण्डकीका सहस्रधाराले संतृप्त भएर बगिरहेछ नारायणी ।

नारायणीलाई साक्षी राखेर कोरेका जिन्दगीका अभिलाषा सम्झेर एकपल रमाउन चाहेथेँ म पनि–

बगुँ कि म पनि छोई सुस्तसुस्त

लुकाउँ छातीमा कि लुकुँ त्यसैभित्र

सधैँ बग यो मुटुमा भई नारायणी

चुमी राख जीवनका खुसीका त्रिवेणी ।

नारायणीले मेरो गीत एकाग्र भएर सुनेझैँ लाग्यो । नारायणीले तालको गहिरो हृदयभित्र माझीका छायाजसरी मेरो माया पनि साँचेझैँ लाग्यो । एकाध डुङ्गा नदी वारपार गरुञ्जेल हेरिरहेँ नारायणीलाई । जति हेर्‍यो उति नयाँ रूपमा नाचिरहेथ्यो नारायणी । जति सुन्यो उति मधुर गीत गाइरहेथ्यो नारायणी । यस्तो लाग्थ्यो, रूखपात, चराचुरुङ्गी, मान्छे, माछा, गोही, सर्प आदि सबैलाई उत्तिकै माया गर्नसक्छ नारायणी । र त, सबैको हृदयमा पनि सजिएको छ नारायणी ।

नारायणीको प्रवाहकै दिशातर्फ हानिइरहेथ्यौँ हामी ।

नदीको घुमाउरो किनारमा घुमिरहेका देखिए केही थुङ्गा राता फूलहरू । नयाँवर्षको संक्रान्ति नुहाउनेहरूले बगाएका हुनुपर्छ ती फूल । नारायणी नुहाउन कयौँपटक आफन्तसँग आएको सम्झना घुम्छ मेरो मनमा पनि । नारायणीको शीलत जलले नुहाउँदा मनभित्रका पीडाहरू पनि पखालिएजस्तो लाग्छ मलाई ।

गैह्री पुग्दा चौर, रुख र सियाँलले समेत गरेथे स्वागत । सिमलका विशाल रूखमास्तिर देखिएथ्यो नदीजस्तै नीलो आकास । नदीको दर्पण पो रहेछ आकास त, खुसीले उफ्रेर आकासमै पुगेथ्यो मन ।

उस्तै छ हाँस, बकुल्ला र कागको चर्तिकला । नदी स्पर्श गर्दै नाचिरहेथे चिर्बिरे चराहरू । अग्लो रूखको कुनै हाँगामा छेलिएर गाइरहेथ्यो कोइली । भ्यागुताको भद्धा उफ्राइले ध्यान भङ्ग नहुँदासम्म कोइलीको मधुर गीत ध्वनित लहरसँग खेलिरहेको नदीको प्रवाहमै हराइरहेथेँ म । जिन्दगी समाहित हुने नदी किनारमा बरालिने रहरले हलुङ्गिएका थिए हाम्रा पाइला । सहयात्राको नाउ चढेर जिन्दगीको खोलोमा वेगिएको यतिका वर्षपछि नदी किनारमा एकदिन सँगै हिँड्न पाएकोमा हर्षविभोर थिएँ म ।

घोसरघाट आइपुग्यो ।

स्मृतिको पानामा कोरिएको आँसुको धमिलो रेखा सल्बलाएर उठ्यो । बितिसकेका आफन्तजनको सम्झना बोकेर उर्ल्यो घाट किनारको छाल । यही घाटको जल, आकास, बगर र हावामा बिसर्जन गरिएथ्यो– ठूलाबा तिलोचन, माइलाबा लीलाधर, साइलाबा पदमप्रसाद, कान्छाबा धनप्रसाद र सासु आमा टीकाकुमारीलगायतका आफन्तजनको पार्थिव शरीर । कालीगण्डकी र मोदीको सङ्गम मोदीबेनीमा बिसर्जन गरिएका हजुरबा भरत, हजुरआमा अम्बिकालगायत पितृहरूको अवशेष पनि त बग्दै आइपुगेको होला नारायणी किनारमा । आफ्नो पुर्खाको इतिहास सम्झँदै श्रद्धाले नारायणीको पानी अञ्जुलीभर उठाएथेँ मैले ।

‘पितृहरूको स्वर्गमा बास होस् ।’ सूर्यसम्मुख उभिएकी राधाले अञ्जुलीमा जल र परेलीमा अश्रुजल लिएकी थिइन् ।

असमयमै गएका आफ्ना आमाबाबु सम्झेर भक्कानिएकी होलिन् राधा । राधाको आँखा र नारायणीको मौन प्रवाह पालैपालो हेरेथेँ मैले । नदी भने दुनियाँको मनको मैलो र आँखाको नुनिलो पखालेर पनि बगिरहेथ्यो शान्त, सौम्य र निश्दाग । सहनशील नदीको सङ्लो मन देखेर फेरि मोहित भएथेँ म ।

‘एक्लैदोक्लै किन आउनुभो जङ्गलमा ?’ वनहेरालु टेकबहादुर घले नजिकै उभिनुभयो ।

वन घुम्ने हाम्रो इच्छा बुझेर अगुवाइ गर्नुभएका घलेले दुईचार पाइला नहिँड्दै गैँडाको दिसा देखाएर भन्नुभयो– ‘पोहोरसाल गैँडाले मान्छे मारेको यहीँ हो ।’

एक्लेखयर पुग्दा घलेले फेरि सुनाउनुभयो– ‘अस्ती गैँडा देखिएको यहीँ हो ।’

जङ्गली जनावरको भय भड्किरहेथ्यो मुटुभरि, घलेको सुझावले झन् भय थपियो– ‘बाघ देखे भाग्न हुँदैन ।’

राधाले नारायणीपारिको क्वाटिश टापु देखाइन् । मयुरको आवाजले पनि उतै तानिरहेथ्यो मलाई । जे देखाए पनि मेरो मनमा फुलिरहेथ्यो वासन्ती सुन्दरता । जता हिँडाए पनि मेरो पाइलामा स्पर्शित थियो आनन्दै-आनन्द । सोच्छु, जिन्दगीलाई यसरी नै भोग्न पाए हरक्षण– सुख वा दुःखको परवाह कहिल्यै हुनेथिएन मलाई ।

जङ्गल यात्राका अनेक डरलाग्दा घटना सुनाइरहनुभएको थियो घले । सानो हलचल पनि जङ्गली जन्तुको आकृति भएर नाच्नखोज्थ्यो । मसिनो आवाज पनि सातो काढ्ने कोकोहोलो बनेर ओइरिन्थ्यो । अप्रत्याशित घटना आइलागेर मुटुले ठाउँ छोड्दा कहाँ भाग्ने होला, कहाँ लुक्ने होला ? सुस्तरी सास फेरेर मुटुको धड्कन शान्त बनाउन खोजेथेँ मैले ।

सिमलो नरम माटोमा परेका गैँडाका पदचिन्ह हेर्दै मचानतिर उक्लियौँ हामी ।

ढुकुर, चिबेचरी, कोइली, काग र मयुरका अनौठा आवाज थिए जङ्गलभर । जीवजन्तुका अनेक चाल थिए सियाँल–सियाँलमा । वनेली हरियालीभित्र थियो सौन्दर्यको मोहक जादू । क्षितिजसम्म डुलेर फर्केका आँखामा घटेको थिएन चञ्चल कौतुहलता । दशदिशा भौतारिएर आएको मनले खोजिरहेथ्यो नवीन वनेली चहक । भयको भड्खालोभन्दा निर्भयको विशाल फाँट फैलिएको देखियो सामुन्ने । त्यही फाँटमा बुकुर्सिन खोज्दैथियौँ हामी । त्रासको भूमरी मच्चिएर भयभित हुँदा पनि यति खुसी शायदै भएको थिएँ म जीवनमा ।

टेकबहादुरले हामीलाई छोडेर फर्केपछि हाम्रो जङ्गल घुमाइ पनि सुस्तियो केहीबेर । मध्यदिनको उत्पात गर्मी छल्न हामी पनि छिर्‍यौँ शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वन समितिको कार्यालयमा । त्यहाँ भेटिनुभयो नन्द बहादुर घले, मोती अधिकारीलगायतका समितिका पदाधिकारी । अनि भेटिनुभयो आइल्याण्ड जङ्गल रिसोर्टका दिपक तिवारी । तिवारीकै सौजन्यमा रिसोर्टको हात्ती चढेर फेरि निस्कियौँ हामी जङ्गल घुम्न ।

माहुते लेखाराम चौधरी भन्दैहुनुहुन्थ्यो– ‘अब जङ्गली जन्तु निस्कने बेला हुँदैछ ।’

घाम ढल्कन लाग्दा उत्साहित मन बोकेर जङ्गल छिर्दैथियौँ हामी । हात्ती चढेर डुल्दा भने हराएको थियो जङ्गली डर । डर थियो त केबल जङ्गली जन्तु नदेखिएला भन्ने ।

 ‘बाघ देखिएला त ।’ सामुन्ने फैलिएको घना जङ्गलको स्तब्धता तोड्दै सोधेथेँ मैले ।

‘बाघको आवाज र पाइला मात्र भेटिन्छ, आजसम्म बाघसँग जम्काभेट भएको छैन मेरो ।’ लेखारामको सटिक लेखाजोखा थियो यो ।

डढेलो लागेका घाँसेचौरमाथि लम्किरहँदा चौधरी बोल्नुभो– ‘गैँडाले काँसेझाडीको खरानी र नयाँघाँस खुब मन पराउँछ । त्यसैले बस्तीमा गैँडा नपसोस् भनेर हरेकवर्ष आगो लगाइन्छ यी झाडीमा ।’

चिहानडाँडा पार भएपछि भेल्लोर र खयरका काँडेझाडी छिचोल्दै घना जङ्गलभित्र छिर्नथाल्यौँ हामी । टाउकोमै ठोक्किन आइपुगेका काँडेदार हाँगा लौराले पन्छाउनुहुन्थ्यो चौधरी । वन्यजन्तु हेर्ने अभिलाषाले हामी भने सास दबाएर जडवत् टाँस्सिएका थियौँ हौदामाथि ।

झाडीमा सुतेको गैँडा देखियो । धेरैबेरसम्म हलचल नगरेको त्यो अद्भुत प्राणी हात्ती नजिकै पुगेपछि भने बुर्कुसी मारेर भाग्यो ।

‘घोलतिर पानीखान आएका भेटिन्थे कहिलेकाहीँ त ।’ लेखाराम अरु गैँडाको खोजीमा लागेको बुझियो ।

‘झाडीभित्र मृग ।’ अर्को जनावर देखेको विजयभावमा कराएथेँ म ।

‘लगुना हो ।’ वर्षौँदेखि जङ्गल चहारेका लेखाराम बोल्नुभएथ्यो ।

झाडी, चौर, खोल्सा र घाँसेमैदान चहार्‍यौँ हामी । अरु गैँडा देखाउन नपाएकोमा पछुतो थियो लेखारामको । तथापि जङ्गल डुल्दा छोइएको प्राकृतिक सुन्दरताले तृप्त थियौँ हामी । धर्तीको आधार, आकासको अङ्गालो र क्षितिजको स्पर्शमा रमाएका थियौँ हामी ।

वनकुखुरो, लुइँचे र मयुर बासिरहेथे । ठेउवा निला पखेटा फिजाएर नाचिरहेथे । एकोहोरो स्वर उरालेर कोइलीले भने मन धोइरहेथ्यो ।  सोच्छु, प्रकृति किन यति छिटै बसिहाल्छ मेरो आँखामा ? प्रकृति किन यति छिटै मनमा छिरेर बन्दछ मेरो ढुकढुकी ?

घाम अस्ताउन लाग्दा लक्ष्मीकलीको बुई चढेर जङ्गलबाट फर्कँदैथियौँ हामी । गोधुलिले रङ्गिएको नारायणी हेरेर किनारमा एकछिन उभिन मनलाग्यो फेरि ।

नारायणी साँझको शीतलताले नुहाएर मेरो मनभित्र पनि अविरल बगिरहेथ्यो उसैगरी ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.