~बिपना ढुङ्गाना~
वास्तविकता छलेर अनि
धारिला शब्द अङ्घालेर हिँड्दै गर्दा
कुनै दिन आफ्नै अस्मितामा
ठेस लाग्ला,
जिउनुको अर्थ बल्ल
बुझ्नेछौँ तिमीले,
त्यो समय फर्केर आफूलाई
एक पटक नियाल्नु तिमी ।
सुन्या थिएँ
संसार गोलो छ रे
समयले नमिठो खेल खेलिदेला
दैवको लीला देख्नेछन् सबैले
जब तिम्रो घमण्डलाई,
लाचारताले तोडिदेला
त्यो समय फर्केर आफूलाई
एक पटक नियाल्नु तिमी ।
महल देखि सडक
करोडौँ बाट कचौरा,
यसमा धेरै समय पनि नलाग्ला
गन्तव्य सबको घाट नै हो,
टाढिनेछन् आफ्ना
अनि एक्लिने छौ एक दिन
त्यो समय फर्केर आफूलाई
एक पटक नियाल्नु तिमी ।
बिपना ढुङ्गाना
म्याङ्गलुङ्-२, तेह्रथुम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )