कविता : ढल्कँदो समय

~डा. संगीता स्वेच्छा~

ऐनाले सोध्छ
को हौ तिमी ?
तिमीलार्इ त आजकल
चिन्नै छोडें ।
घुँडाहरू भन्छन्
तिमी मलार्इ धेरै नउफार
म दुखाउँछु, म थाक्छु
म लखतरान पर्छु ।
मन भने
पखेटा राखेर उडिरहन्छ
किशोर किशोरीहरूसंगै
प्रतिस्पर्धा गर्न
रणमैदानमा उत्रिरहन्छ ।
खै, हिजोआज
मन र शरीरको
तालमेल नै मिल्दैन
यि बीच द्वन्द्व चलिरहन्छ ।
म भने मूक दर्शक बनेर
यिनिहरू बीचको
द्वन्द्व हेरिरहन्छु
अनि
यिनिहरूका अनापसनाप
वार्तालाप सुनिरहन्छु ।
न हाँस्न सक्छु
न रून सक्छु
आखिर यि दुबै
मलार्इ नै त
प्रतिनिधित्व गर्दैछन्
मेरै त खिल्ली उडाउँदै छन्
दिनहरूलार्इ त ढल्नु नै थियो
आफ्नै सुरमा ढल्दैछन् ।

(६ जुलार्इ २०१८)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.