कविता : सून्दर फुलबारी

~बिनोद खड्का~Binod Khadka

झरनाको मीठो पानी
गाँउ बेसीका गीत
कोईलीका कोकिल कण्ठ
गाईने दाईको मीत
भुलिएछ सबै कता
छोडिएछ कहाँ कहाँ
एकान्त र एक्लो जीवन
घिस्रिएछ यहाँ त्यहाँ ।

लुकामारी खेल्ने पाखा
कुहु कुहु कोईली अहा
तरेली ती खेत लहर
परालका कुन्हयु कहा
भुलिएछ सबै कता
छोडिएछ कहाँ कहाँ
एकान्त र एक्लो जीवन
घिस्रिएछ यहाँ त्यहाँ ।

साँझपख आँगनीमा
जुनसंग नाच्दै गाँउदै
साथीसंगी कस्ता प्यारा
सम्झनामा साँच्दै साँच्दै
कहिले उमेर फड्को मार्यो
कहाँबाट कहाँ लग्यो
आफ्नै जीवन अनौठो भो
सम्झना नै प्यारो भयो ।

पीढी र फलैचामा
एउटा युग हाँस्ने गथ्र्यो
प्रेम र सदभावले
एकताको माला गाँसथ्यो
कुन बैरीले पासो हाल्यो
आफ्नै गाँउमा बारुद पड्क्यो
को आफ्नो को पराई
बन्दुकले कस्लाई मानथ्यो ।

काम गरी खाने दिन
सबै भाँडिदै गयो
बन्दुकले राज गर्यो
आफ्नै देश गाँउ टाढा भयो
परदेश भो कर्मथलो
देश बन्यो माईती
सम्झेर रोई बस्नु
त्यही बन्यो जाती ।

विजय र घमण्डले
समाज धमिल्याए यस्तो
जित्ने को हो हार्ने को हो
अन्योल छाए जस्तो
जस्तो आँखा उस्तै हेराई
कसले होईन भन्छ
दिलले खोजे सबै पाईन्छ
शान्ति कता भाग्छ ।

वैरी खोज्न टाढा किन
आफ्नै छेउमा आए
अज्ञानले घडा भर्यो
आफनै आफ्ना मर्यो
एउटा हाँस्दै खाँदै जाने
अर्को डाहा गर्ने
संस्कृती नै फेरियो कि
आँखा टेढो पार्ने ।

सुदिन आउने आशामा
बर्षौ बर्ष गयो
शान्ति छाउने बहानामा
अशान्ति नै मौलायो
सपनामै खोज्ने हो कि
एउटा सून्दर संसार
एकान्त र एक्लो जीवन
कहिले हुनथ्यो बहार ।

वैरी द्धष्टी उडी भागोस
गाँउ घर यो समाजमा
एकताको पालुवा चढोस
यो सून्दर फुलबारीमा
सबैलाई आफ्नै देख्ने
सुदिन फिरी आवोस
दया, धर्म, करुणाले
वास फेरी पावोस ।

२९ मे २००९ शुक्रवार

khadkabinod02@yahoo.co

बिनोद खड्का
दुवाकोट ६, भक्तपुर
हाल: दोहा, कतार

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.