भलाकुसारी : सकभर हास्यव्यङ्ग्यतिरै लाग्नुस है ! – लक्ष्मण गाम्नागे

साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
म साहित्यलाई परिभाषा दिने सामर्थ्य राख्तिन। म सिद्धान्तभन्दा बढी व्यवहारमा जोड दिनेगर्छु। नजानेको कुरामा विद्वता छाँट्न मन पनि लाग्दैन साहित्यविद् वा भाषा वैज्ञानिकहरुले त्यो गर्लान्, म त जानी नजानी कविता, निवन्ध लेख्‍नेगर्छु।

साहित्यिक क्षेत्रमा कहिलेदेखि र कसरी प्रवेश गर्नुभयो?
मेरो विचारमा बल गरेर कोही पनि साहित्यमा प्रवेश गर्दैन। जोगर्न खोज्छ ऊ सफल पनि हुँदैन। साहित्य, कला, संगीत जस्ता सिर्जनात्मक विधामा प्रवेशगर्न व्यक्तिमा आन्तरिक शक्ति (आध्यात्मवादीहरु भगवानले दिएको शक्ति भन्छन्) हुनुपर्छ जस्तो लाग्छ मलाई। सायद मभित्र पनि त्यस्तो केही थियो होला, म बच्चैदेखि त्यतातिर तानिएको हुँ। स्कूल पढ्दाका मेरा गुरुहरु, दाइहरु र साथीभाइहरुले म भित्रको ‘लक्ष्मण गाम्नागे’ लाई मलजल चाहिँ गरेका हुन्। म भैरव अर्यालबाट निकै छु र प्रारम्भमा उहाँकै छायाँ जस्ता लाग्ने निवन्धबाट हास्यव्यङ्ग्यमा प्रवेश गरेँ। त्यसपछि कविता लेख्नथालेँ। हिजोआज कविता भन्दा बढी निवन्धतिरै प्रयास गरिरहेको छु।

नेपाली हास्यव्यङ्ग्य साहित्यको स्थिति कस्तो छ? यसमा व्यावसायिकताको आवश्यकता छ कि छैन?
नेपाली हास्यव्यङ्ग्य साहित्यको अवस्था विगत ८-१० वर्ष यता ज्यादै आशालाग्दो र भरपर्दो हुँदै आएको छ। हास्यव्यङ्ग्य साहित्य र कलाले यस प्रजातान्त्रिक कालमा निकै हुर्कने र फैलिने अवसर पायो। पत्रपत्रिका लगायत सञ्चार माध्यमहरुले पनि हास्यव्यङ्ग्यलाई महत्वपूर्ण स्थान दिएर सराहनिय काम गरे। पाठक, दर्शकको संख्या पनि अत्याधिक रुपमा बढ्यो। तर, विगत १-२ बर्ष यता भने मुलुकका अन्य क्षेत्रजस्तै हास्यव्यङ्ग्यको क्षेत्रमा पनि अन्योल र समस्या देखिएको छ।

‘साहित्यमा व्यावसायिकता’- यो अत्यन्तै आवस्यक भइसकेको छ। साहित्य मात्रै सिर्जना गरेर बाँच्न सक्ने लेखकहरु हामीलाई धेरै चाहिएको छ। ८-१० बर्ष यता त्यस्ता केही लेखक पाइएको पनि छ। तर यसतर्फ अझै धेरै मिहिनेत गर्नुपर्छ। साहित्य व्यावसायिक हुँदैन, हुनुहुँदैन भनेर आदर्शका गफ गर्नुभन्दा हातहातै विक्रिहुने, विदेशतिर निर्यातहुने स्तरीय साहित्य रचना गर्नुपर्छ। व्यावसायिकताका नाममा स्तरहीन पो हुनुहुदैन त।

हास्यव्यङ्ग्य क्षेत्रनै किन रोज्नुभयो?
मैले यो क्षेत्र रोजेको होइन, हास्यव्यङ्ग्यले नै मलाई रोजेको हो। अर्थोकैले रोजेको भए म अर्थोकै हुन्थेँ होला, तर मलाई हास्यव्यङ्ग्यले “तँ हास्यव्यङ्ग्य लेख्न सक्छस्- लेख्” भनेकोले मैले ‘हस्’ भनेको हो।

हिजोआजको हास्यव्यङ्ग्यात्मक धन्दा चाहिँ के छ नि?
हिजोआज म अन्नपूर्ण पोष्टमा ‘हिजोआज’ लेख्दैछु। यो केहि बर्षदेखि चलिरहेको छ। भर्खरै सिस्नुपानी नेपालको परिकल्पनामा नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको “५२ घुस्सा ५३ ठक्कर” टेलिचलचित्र लेखन धन्दामा पटुका कसेर लागेको छु। कविता, कथा, निवन्ध लेख्नभन्दा भिन्नै र निकै अप्ठेरो काम रहेछ। यो झन् कठिन यात्रा रहेछ।

साहित्यमा रुचि राख्ने युवा वर्गलाई के भन्नुहुन्छ?
म उपदेश दिने वा सन्देश व्यक्त गर्ने उमेर वा क्षमताको भइसकेको छुइन त्यैपनि मैले सल्लाह दिनुपर्दा युवा वर्गमात्र होइन सवै वर्गले साहित्यमा रुचि राख्नुपर्छ। त्यसमा युवा वर्गलाई म अनुरोध गर्न चाहन्छु- नमात्तिकन, नउम्लिकन, आवस्यकताभन्दा बढी महत्वाकांक्षी नभइकन, अनावस्यक प्रचारप्रसार गरेर तुरुन्त ख्यातिप्राप्त हुने लोभ नराखिकन निरन्तर लेखिरहनुहोस्, सफलता उम्केर कहीँ भाग्न सक्तैन।

लेखेर मेरोजस्तो लुकाएर राख्ने चाहिं गर्न नहुने रहेछ, साथीभाइलाई नधकाइकन सुनाउँने, सल्लाह-सुझाव लिने गर्नुपर्ने रहेछ। यसमा म निकै पछि परेँ, तपाईचाहिँ पछि नपर्नुहोला।

एउटा कुरा सुटुक्क भनुँ? सकभर हास्यव्यङ्ग्यतिरै लाग्नुस है !

प्रस्तुती : बिपिन शर्मा

(स्रोत: तन्नेरी डट कम – Issue 13 – Paush, 2062)

This entry was posted in साहित्यिक भलाकुसारी and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.