~नरेश शाक्य~
आऊ, टुटेका यी तारहरू जोडौँ
सुक्ष्म यन्त्रले
रसायनिक प्रकृयाले
टुटेका तारहरु जोड्नुको अर्थ
भाँचिएका मनहरू जोड्नु हो
एकपटक जोडिएपछि
जुन अपूर्व धुन
सप्तम स्वर
यसको साजबाट निस्कन्छ
गुञ्जन्छ
त्यो साँच्चै नै मनमोहक र विमुग्धकारी हुन्छ ।
आजसम्म छरिएर
टुक्रिएर
यत्रतत्र बसेका मुटुहरू
जब एक ठाउँमा मिल्न आउँछन्
त्यो समवेत स्वरको मिठास, माधुर्य
अर्कै खालको
आल्हादकारी हुन्छ ।
छरिनुको तिक्तता
क्षतिको बोध
हामी सबैले गरिआएके हो
आ-आफ्नो डम्फू मात्र बजाउँदा
विकर्षण पैदा भई
हेयता र उपेक्षा खप्नु परेकै हो
मनको पोल्टाभरि
सँगालेर वितेका तीता अनुभवहरू
आऊ जोडौँ टुटेका तारहरू
तारहरू जोड्नुको अर्थ आत्मसात गरौँ ।