~गोविन्ददेव आचार्य~
छन्द :- शिखरिणी
उडे पड्की पड्की पटपट धुवाँ-बारुतहरू
कुदे पानापाना मुसल, बमकै कर्तुतहरू
मसीका थोपामै पनि किन छ बण्डा मनपरी
मठारिन्छन् टुप्पा किन कलममै छेदन गरी ?
हिजो नाचीनाची पलभर नथाक्ने कलम ती
चुली चढ्दै चढ्दै सगर तिर ताक्ने कसम ती
भए टुक्राटुक्रा अनुज-भगिनीकै विमतिले
बने सुक्खा केले ! कि त विष मिसायो नियतिले ?
कहाँ राखूँ पाना ! सबतिर छुराकै पसल छन्
यहाँ बान्कीभन्दा बम र खकुरी नै “असल” छन्
जितेका छन् बाजी नमन अनि काला रकमले
कहाँ भर्लान् आशा ! विकल बबुरा ती कलमले ?
कडा लोहाजस्तै मन पनि पगाल्छन् कलमले
दशामा अड्केका व्यथित मन टाल्छन् कलमले
मसी चुस्तै चुस्तै तर गति थुतिन्छन् कलमकै
अचानोमा राखी सह किन लुटिन्छन् कलमकै ?
दुखे माछापुच्छ्रे अनि सगरमाथा कलमका
विलाए पानामै अमर यश, गाथा कलमका
दुखिन् माता सीता, जनक, भृकुटीका पन दुखे
ऋचा मर्के ! गुम्बा, शिव र शिवका दर्शन दुखे ।।
नलेखेरै टारे पनि मन चिथोर्छन् विपतले
रचे भिज्छन् पाना जनक_जननीका रगतले
उठे “चम्चे ज्वाला” शुभ कलमका आशय जले
कहाँ छेक्ला, थेग्ला रगत भल सानो कलमले ?
बनून् टाढाटाढा मुसल अनि गोली, बमहरू
बनून् खुल्ला सारा मन-जगतका आश्रमहरू
विधाता ! पृथ्वीमा अब पतित खेला नरचियोस्
लुलो सानो मेरो कलम खुकुरीमा नमुछियोस् ।।
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)