कविता : कमली दमिनी

~सकुन्तला जोशी~

ऊ बेला पहाडमा
बाऊको पयरकलको मुनिबाट
सुटुक्क चोरेर ल्याएकेा
झिल्के कपडाका टालाटुलीमा
खुब राम्रो बेहुली सिंगारेर
‘बेहुली’ खेल्थ्यौं
कमली दमिनी र म

कहिले बेहुली सानी भएकोमा रिसाउँथी ऊ
कहिले बेहुला पुड्को ल्याएकेा ठुस्किन्थें म
ढुंगा र माटाको भतेर चलाउँदै
पातीका फुर्काले जन्ति पर्सदै
रत्यौली र संगिनी नाच्थ्यौं
श्लोक र दोहोरी गाउँथ्यौं
डोली र नौमती बाजामा अन्माउँदै बेहुली
घरी रुन्थ्यौं घरी हाँस्थ्यौ
न दुःख न पिडा न शोक न सन्ताप
बस् ! बेहुली खेल्थ्यौं
र धुलैधुलो भएको बुट्टे जामाको खल्तीमा
लुकाएर टालाटुलीको बेहुली
साँझ घर फर्कन्थ्यौं

एक बिहान
हाम्रो गोजीको पुतलीभन्दा राम्री सिंगारिएकी
कमली डोली चढेर रुँदै-रुँदै
मलाई छोडेर टाढा कतै गई
म धेरै दिनसम्म गोजीमा उसले सिंगारेका
‘बेहुली’ बोकेर डिलमाथि पर्खिरहें
तर आइन
मसँग फेरि ‘बेहुली’ खेल्न कहिल्यै फर्केर आइन-
मेरी सहेली कमली दमिनी ।।

-पाँचथर, हाल: काठमाण्डौ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.