समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू

~स्पन्दन राजा~

१. ‘समकालीन’ शब्दको अभिप्राय

‘समकालीन’ र ‘समसामयिक’ शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । कतै समकालीनका ठाउँमा ‘उत्तरवर्ती’ शब्दको पनि प्रयोग पाइन्छ । समकालीनको तात्पर्य ‘समान, उही वा एकै समय, बेला वा बखतको’ भन्ने हुन्छ । सन्दर्भ र प्रसङ्गअनुसार ‘समसामयिक’ शब्दको प्रयोग अहिलेको, उहिलेको र एकै समयको भन्ने अर्थमा गरिए पनि खासमा यस शब्दले अहिलेको समय वा वर्तमानलाई बुझाउँछ । साहित्यिक इतिहास र समालोचनाका क्षेत्रमा अहिलेको रचनालाई समकालीन र समसामयिक रचना भन्ने गरिए पनि यसले वर्तमानकालीन कुनै विषयवस्तु, व्यक्ति, कृति, प्रवृत्ति, समयावधि आदिलाई समेत बुझाउँछ । समसामयिकले चालू वर्तमानकालीन अर्थात् अहिलेका प्रवृत्तिहरू अभिव्यञ्जित रचना भन्नेसमेत बुझाउने हुँदा समसामयिक भनेको विशुद्ध समयमात्र नभएर त्यस अवधिमा देखापर्ने प्रवृत्ति पनि भएकाले त्यो प्रवृत्ति कायम रहुन्जेल यो शब्दको प्रयोग गर्न सकिन्छ । यसर्थ समसामयिकताले वर्तमान समय र प्रवृत्ति दुवैलाई द्योतन गर्छ ।

‘समकालीन’ शब्द समयविशेषको उत्तरवर्ती अवधि हो । यस अर्थमा समकालीनता र उत्तरवर्ती शब्दले लगभग एउटै अर्थ बुझाउँछन् । समकालीन कविता आफ्नो परिवेश र समयको विशेष चिन्तनसँग सम्बन्धित भएका कारण यसलाई ‘समकालीन कविता’ भनिएको हो । समकालीन कविताको अर्थ समसामयिक भन्ने नभएर एक व्यापक, बहुआयामिक र आधुनिक चेतनासम्पन्न रचना भन्ने हुन्छ । जो समकालीन हो, त्यही आधुनिक पनि हो भन्ने अर्थ हुँदैन तर आधुनिक चेतनामिश्रित रचना निश्चित रूपमा समकालीन पनि हुन सक्छ । समकालीन कविताले बदलिइरहेको मानव मान्यता, मानवीय स्तर र आफ्नो समयको सामाजिक बोध एवं मागको सम्बोधन गर्छ । समकालीनता क्रमशः सर्दै गएझंै उत्तरवर्ती समय पनि क्रमशः सर्दै जान्छ । समकालीन शब्दले उही समयको भन्ने अर्थ बुझाउँछ भने उत्तरवर्ती शब्दले पछिल्लो समयको भन्ने अर्थ बुझाउँछ । यस आधारमा यी दुई शब्द प्राविधिक रूपमा भिन्न भए पनि अर्थतात्त्विक रूपमा एउटै छन् । यसर्थ परिवर्तित समयअनुसार अहिलेको वर्तमानसँग सम्बद्ध अभिलक्षण र विशेषताहरू कवितामा विद्यमान हुनु समकालीन कविताको लक्षण हो ।

२. समकालीन नेपाली कविताको समयसीमा

उत्तरवर्ती नेपाली कविताको समयसीमाङ्कनका सम्बन्धमा धेरै विवादहरू देखिन्छन् तापनि यसको निर्धारण समयावधिभन्दा पनि प्रवृत्तिगत परिवर्तनका आधारमा गरिँदै आएकाले २०३६ को दशकदेखि अहिलेसम्मको अवधिलाई मान्नु उपयुक्त हुन्छ । नेपाली कवितामा समकालीनताको निर्धारण र समयसीमाङ्कनका अभिलक्षण र मान्यताका आधारमा ०३० र ०३१ तिर प्रयोगवादी कविता शिथिल भए पनि समकालीनताका कुनै निर्धारक आधार र अभिलक्षण घटित नभएकाले २०३६ लाई नेपाली कवितामा समकालीनताको निर्धारक समय मान्ने केही विशिष्ट आधार र अभिलक्षण देखिन्छन् । सडक कविता क्रान्ति, जनमतसंग्रह र व्यक्तिसत्ताको महत्त्व एवम् सम्प्रेष्य कविता सिर्जनोन्मुख अग्रसरताजस्ता समकालीनका अभिलक्षण र आधारहरूले ०३६ नै उत्तरवर्ती र समकालीन नेपाली कविताको सीमारम्भ भएको पुष्टि गर्छन् । उत्तरवर्ती र समकालीन नेपाली कवितालाई मोहन कोइरालाको प्रमुख केन्द्रीयतामा रहेको पूर्ववर्ती प्रयोगवादी कविताका प्रवृत्तिबाट अलग्याउने प्रमुख घटना ‘सडक कविता क्रान्ति’ (०३६) नै भएकाले पनि यो कुराको थप पुष्टि हुन्छ ।

‘सडक कविता क्रान्ति’पछि नै कवितामा नयाँ–नयाँ लेखन शैली, अभियान, आन्दोलन, विचार, विधाभञ्जनहरू आइरहेका छन् । ती सबै नयाँ लेखनशैली, विचार र विधाभञ्जनहरूले आफूलाई  राजनैतिक आधारबाट, सामाजिक आधारबाट, सांस्कृतिक आधारबाट, केन्द्रबाट, सीमान्तबाट, देशबाट र परदेशबाट आफ्नो अस्तित्वको खोजी गरिरहेका छन्, हेरेका छन्, खोजेका छन् ।

३. उत्तरवर्ती कविता आन्दोलनमा प्रभाव पार्ने पूर्ववर्ती चिन्तन

नेपाली भाषा र साहित्य अहिले यहाँसम्म आइपुग्न थुप्रै भाषिक र साहित्यिक आन्दोलनहरूले मुख्य भूमिका खेलेका छन् । तिनै विभिन्न भाषिक र साहित्यिक आन्दोलनहरू कुनै वैयक्तिक प्रयत्नद्वारा त कुनै सामूहिक प्रयत्नद्वारा भाषा साहित्यमा नवीनताका लागि आन्दोलन, प्रयोग वा अभियानहरू चलाइएका छन् । त्यस प्रकारका कतिपय प्रयत्नहरू पूर्ण सचेतताका साथ वैयक्तिक वा सामूहिक रूपमा अभियान या आन्दोलनका रूपमा चलाइएकामा कतिपय प्रयत्नहरूले पछिमात्र आन्दोलन वा अभियानको स्वरूप ग्रहण गरेको देखिन्छ भने कतिपय आन्दोलनहरू सफल पनि रहेका छन् । निश्चित उद्देश्यमा सफलता पाएका र नपाएका त्यस्ता आन्दोलनहरूले नै नेपाली कविताको उत्तरवर्ती र समकालीन सिर्जनामा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गरेका छन् ।

विभिन्न समयमा २०३६ अगाडि भएका साहित्यिक पर्वहरू सूक्तिसिन्धु पर्व (वि.सं.१९७४), मकै पर्व ( वि.सं.१९७७), प्रभातवर्णन काण्ड (वि.सं.१९७७), पुस्तकालय पर्व (वि.सं.१९८७), शहीद पर्व (वि.सं.१९९७) र अमरकथा पर्व (वि.सं.२०१५) प्रसिद्ध छन् । त्यस्तै साहित्यिक तथा भाषा अभियानहरूमा मोतीमण्डली (वि.सं. १९३८), रसिक समाज (वि.सं.१९६२), जोग मण्डली (वि.सं.१९६७), हलो क्रान्ति (वि.सं.२००६), व्याकरण संशोधन अभियान (वि.सं.२०१२), सजिलो लेखन अभियान (वि.सं.२०१६), जनजिब्रो लेखन अभियान (वि.सं.२०२१), लेकाली सांस्कृतिक अभियान (वि.सं.२०२४) महत्त्वपूर्ण छन् । साहित्यिक आन्दोलन, वाद र प्रयोगहरूमा हलन्तबहिष्कार आन्दोलन (वि.सं.१९६५), जयतु संस्कृतम् आन्दोलन (वि.सं.२००४), प्रगतिवादी साहित्यिक आन्दोलन (वि.सं. २००९), झर्रोवादी आन्दोलन (वि.सं.२०१३), आयामेली आन्दोलन (वि.सं.२०२० र २१), राल्फा आन्दोलन (वि.संं. २०२४) जस्ता विभिन्न पर्व, साहित्यिक तथा भाषा अभियानहरू, साहित्यिक आन्दोलन, वाद र प्रयोगहरूको जगमा नै नेपाली उत्तरवर्ती कविताका विभिन्न प्रयोग, आन्दोलन र अभियानहरू उभिएको पाइन्छ ।

४. समकालीन नेपाली कवितामा देखिएका अभियान र आन्दोलनहरू

सडक कविता क्रान्ति (०३६) देखि सुरु भएको समकालीन र उत्तरवर्ती नेपाली कवितामा देखापरेका विभिन्न अभियान र आन्दोलनहरूले अहिलेसम्म आइपुग्दा साना र ठूला, सफल र असफल साथै संक्षिप्त र बृहत् गरी दुई दर्जनभन्दा बढी आन्दोलन र तीन दशकभन्दा बढी समय पार गरिसकेको छ । उक्त समयका सहवर्ती भएर आएका समसामयिक र उत्तरवर्ती नेपाली कविताका ती अभियान र आन्दोलनहरूलाई संक्षेपमा चिनाउने प्रयास गरिएको छ ।

क) सडक कविता क्रान्ति (०३६)

०३६ जेठ २६ मा भवानी घिमिरे, मोहन कोइराला, हरिभक्त कटुवाल, अशेष मल्ल आदि कविहरूद्वारा घोषणापत्रबिना नै काठमाडौंबाट पञ्चायती अत्याचारका विरुद्ध जनचेतना जगाउने, प्रजातान्त्रिक भावना विकास गराउनुका साथै कवितालाई महलबाट सडकमा ल्याउने उद्देश्यले सडक कविता क्रान्ति थालिएको देखिन्छ । प्रजातन्त्र प्राप्तिका लागि पनि यसले जनतालाई सडकमा उभ्याउन सघायो । काठमाडौंको पिपलबोटबाट सुरु भएको यस आन्दोलनले प्रयोगवादी कवितामा क्लिष्ट, दुर्बोध्य र दुरुह रहेको कवितालाई सरल सम्प्रेष्य बनाउँदै पाठक र लेखकका बीच रहेको दूरी मेटाउन सहयोग पु¥यायो ।

ख) भोक कविता अन्दोलन ( २०४०)

भवानी घिमिरेको नेतृत्वमा झापाली दश युवाहरूले ‘भोक कविता आन्दोलन’ को थालनी गरेका हुन् । ०४० को दशकमा झापाली साहित्यिक वातावरणमा एकाएक देखापरेको यो कविता अभियानमा तत्कालीन झापाली नौ युवा कविहरू हीरा आकाश, अमृतलाल श्रेष्ठ, केशव आचार्य, कृष्ण धरावासी, लक्ष्मण ढकाल, दुर्गा दाहाल, प्रकाश बुढाथोकी, डिकमान विरही, देवेन्द्र किशोर ढुंगानाको सशक्त संलग्नता थियो । भोक कविहरूले अभाव, गरिबी र बेरोजगारीका विरुद्ध आन्दोलन थालेका थिए । काव्यात्मक ढंगबाट शिष्ट तरिकाले तत्कालीन व्यवस्थाको विरोध गर्ने, शारीरिक तथा मानसिक भोकलाई अभिव्यक्त गर्ने र शोषणरहित समाजका पक्षमा प्रतिबद्ध रहने यस अन्दोलनको मुख्य उद्देश्य थियो ।

ग) तरलवाद (०४०)

काठमाडौंबाट ०४० सालमा नौ बुँदे घोषणापत्रसहित घोषित आन्दोलनका रूपमा सुरु भएको ‘तरलवाद’ आन्दोलनमा फणीन्द्र नेपाल, विनय रावल र तीर्थ श्रेष्ठ ‘फविती’ थिए । ०४६ सालको जनआन्दोलनको सेरोफेरोमा यो साहित्यिक आन्दोलनले निकै रन्को थपेको थियो । दुबसु क्षेत्रीजस्ता शक्तिशाली कविले समेत समर्थन गरेको यो तरलवादी आन्दोलनले कवितामा क्लिष्टताका विरुद्ध अभियान थालेको थियो ।

घ) जनआन्दोलन कविता (०४६)

स्पष्ट राजनैतिक उद्देश्यद्वारा अभिप्रेरित भएको यस आन्दोलनले ०४६ सालमा तीस वर्षे निरङ्कुश पञ्चायती तानाशाही शासनका विरुद्ध ऐतिहासिक जनआन्दोलनलाई नैतिक समर्थन गर्दै अगाडि आएको हो । ५० दिनसम्म चलेको यो जनआन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरे । यस आन्दोलनमा सम्पूर्ण प्रजातन्त्रवादी नेपाली र कविहरूको ठूलो समर्पण थियो ।

०४६ फागुनमा प्रकाशित ‘वसन्तको खोजी’ कविता सङ्ग्रह यस आन्दोलनलाई अगाडि ल्याउने मुख्य दस्तावेज रहेको छ । उक्त सङ्ग्रहमा मोहन कोइराला, अशेष मल्ल, विनय रावल, फणीन्द्र नेपाललगायत अठार जना कविहरूका कविता संकलित थिए ।

ङ) छन्द बचाऊँ अभियान (०५३)

नेपाली कवितामा हराउँदै गएको छन्दको प्रयोगलाई यथास्थानमा ल्याउने प्रयत्नस्वरूप पोखरेली कवि माधव वियोगीको एकल सक्रियताले ०५३ साल वैशाख ८ गतेदेखि ‘छन्द बचाऊँ अभियान’ सुरु भएको थियो ।  छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ । छन्द भनेको लय हो । सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा वाचन गर्ने तरिका हो । छन्द वेदको अर्को नाम पनि हो । वर्ण र मात्राको गेय व्यवस्था छन्द हो । भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वरहरू रहन्छन् । निश्चित विधान अपनाएर वर्ण र स्वरहरूलाई व्यवस्थित गर्दा छन्द तयार हुन्छ । काव्य संस्कृतिको रक्षा गर्ने र काव्यरचनाको विशिष्ट शैलीका रूपमा छन्दको पुनरुत्थान गर्ने उद्देश्यले थालनी गरिएको ‘छन्द बचाऊँ अभियान’ लाई नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले पनि वैशाख ८ गते छन्द दिवसका रूपमा मान्यता दिएको छ ।

च) संरक्षण कविता यात्रा (०५३)

कवितात्मक माध्यमले प्रकृति–संरक्षण चेतना अभिवृद्धि गर्ने, पहाडी जनजीवनको अध्ययन गर्ने र तद्स्थानीय कविता गोष्ठीहरूको आयोजना गरी गाउँले जनसमुदायमा कवितात्मक अर्थबोध र उत्प्रेरणा प्रदान गर्ने उद्देश्य लिएर २०५३ मा ‘संरक्षण कवितायात्रा’ आरम्भ भएको थियो । ‘संरक्षण कवितायात्रा’ उद्देश्यमूलक र नयाँ सोचसहित थालिएको यात्रा हो । यस सरक्षण कवितायात्राको घोषणापत्रमा संरक्षण नै जीवन हो, जीवन नै संरक्षण हो, आजको आवश्यकता गाउँमुखी कविताको सिर्जना हो र सहर बजारमा बसेर गाउँको कविता रचना गर्ने युगको अन्त्यको चाहना, गाउँको कविता गाउँमै बसेर, गाउँलेहरूकै लागि रचना गरिनुपर्छ, कविताले ग्रामीण प्रकृति, संस्कृति र ग्रामीण जनताका सुख–दुःखमा सोझै संवाद स्थापना गर्नुपर्छ, कविताले ग्रामीण जनजीवनमा जागरणको शङ्खघोष गर्नुपर्ने, नेपाली साहित्यमा सहरिया आन्दोलनहरू धेरै भए, अब हुने आन्दोलन गाउँघरबाट थालिनुपर्छ जस्ता मान्यता रहेका थिए ।

यस यात्राका सहभागीहरूमा सरुभक्त, हरिदेवी कोइराला, सरस्वती श्रेष्ठ ‘सरु’, धनप्रसाद तामाङ, सुकुम शर्मा, जे. अस्मिता, नवराज अधिकारी, भूपिन व्याकुल र पुष्प आचार्य थिए ।

छ)  सिर्जना चैत्र ३ अभियान (०५४)

देश र समाजको अग्रगतिका निम्ति लेखक कलाकारहरूको विशिष्ट दायित्व रहेको हुन्छ । ०४६ को ऐतिहासिक जनआन्दोलनमा पनि तत्कालीन निरंकुशतन्त्रीय र प्रतिगामी धारणाका विरुद्ध सचेत लेखक कलाकारहरूले कदम चालेका थिए । ०४६ चैत्र ३ गते जसरी देशको पक्षमा नेपालका लेखकहरू संयुक्त रूपमा अगाडि बढे, आज पनि त्यस्तै एकता कायम हुनुपर्छ भन्ने यसको मूल उद्देश्य रहेको थियो । सिर्जना चैत्र ३ अभियानमा खगेन्द्र सङ्ग्र्रौला, रामेश, राजकुमार केसी, नारायण ढकाल, विमल निभा, खगेन्द्र अधिकारी, राजेन्द्र महर्जन, सुरेश किरण, स्नेह सायमी, हरिगोविन्द लुइँटेल आदि प्रमुख स्रष्टाहरू रहेका थिए ।

२०४६ को लोकतान्त्रिक आन्दोलनको पृष्ठभूमिमा लोकतान्त्रिक स्रष्टाहरूलाई एक ठाउँ ल्याउनमा, यस मञ्चका भेलाहरूमा जुन आवाजहरू उठे, तिनले लोकतान्त्रिक ‘साहित्यकार संघ’ हुँदै ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’ निर्माण गर्न समेत परोक्ष भूमिका खेल्यो । डा. ध्रुवचन्द्र गौतमको संयोजकत्वमा पनि यस चैत्र ३ को स्मृतिमा केही वर्षसम्म भेलाहरू हुँदै आएको पाइन्छ ।

ज) चौथो आयाम (०५६)

झापामा जन्मिएका कवि दुबसु क्षेत्रीले वि.सं. ०५६ सालमा चौथो आयामको घोषणा गरेका थिए । क्षेत्रीले चौथो आयाम सिद्धान्तको प्रयोग गरी लेखेका कविता समावेश गरिएको कृति ‘अश्वमेध यज्ञका घोडाहरू’ (०६७) ले साझा पुरस्कार पाएको छ । मूलतः आधुनिकोत्तर विश्व र त्यसभित्र बाँचिरहेको र बाँच्न प्रयत्न गरिरहेको मानव र मानव समाज एवम् तिनका जटिल जीवन र विकासलाई चार आयामबाट हेर्ने सोच र प्रयत्नमा चौथो आयामको विकास भएको थियो । चौथो आयामलाई कतिपय समालोचकले धारणाहरूको एउटा नवीन कोण र धारणाहरूको एउटा नवीन मोड पनि भनेका छन् ।

झ)  सिर्जनशील अराजकता (०५६)

यो आन्दोलनले वैचारिक अनेकता, सांस्कृतिक वैविध्य, नश्लीयताबोध, कवित्व निस्सीमता र सृजनात्मक निर्णय गरी पाँचवटा मान्यतालाई अगाडि सारेको छ । सृजनशील अराजकताले पारस्परिक सम्मानको कुरा, एकले अर्काको संस्कृति या धर्म या विश्वासमाथि आँच नपुर्याई साहित्य लेख्नुपर्छ, एकले अर्काको नश्ललाई अस्तित्वसम्मत रूपमा स्वीकार गर्दै साहित्य बनाउनु पर्छ र सबै मानव जाति समान छन् भन्दै राजन मुकारुङ, उपेन्द्र सुब्बा र हाङ्युग अज्ञात मिलेर नश्लबोधसहितका प्रयोगात्मक कविता लेखनलाई ०५६ देखि नेपाली साहित्यमा गति दिएका हुन् । मूलतः यस आन्दोलनअन्तर्गत कविताहरुमा उत्तरआधुनिक चिन्तनअनुसार काव्यविम्बमा सांस्कृतिक मिथकहरूको प्रयोग गरिएको पाइन्छ ।

ञ) छन्द जागरण अभियान (०५९)

मुक्त छन्दका रूपमा गद्य कविता लेख्ने प्रचलन हाबी हुँदै गएपछि छन्द परम्परा घट्दै जाँदा कविताको मूल गुण अर्थात् सुन्दरता नै हराउन थाल्यो भनेर कविहरु बालकृष्ण लामिछाने र रमेश शुभेच्छुक लुइँटेलले ‘मेची पद्द्यमाला’ (०५९) मार्फत छन्द जागरण अभियान प्रारम्भ गरेका हुन् ।

अभ्यास र चिन्तनको अभावमा छन्दमा कविता रचना झन् कठिन हुँदै गएको छ । शास्त्रीय या लोकछन्द दुवै नेपाली कविता लेखनमा प्रचलित छन्द हुन् । शास्त्रीय विधि र सूत्रमा बसेर लेखिने छन्दोबद्ध कविताको परम्परा नासिँदै जाने हो कि भनेर अभियन्ताहरूले छन्द कविताको महत्त्व र मूल्यलाई प्रतिष्ठित गर्ने उद्देश्यले यो अभियान चलाएका हुन् । गद्य कविताको द्रूत विकास र बिस्तार भैरहेको बेला यो अभियानले पद्य कविता सिर्जना र विकासका लागि खुट्किलाको काम गरेको छ ।

ट)  बससाहित्य अभियान  (०६१)

कपिलदेव खनाल र सुवास आगमनद्वारा बससाहित्य अभियान (०६१) सवारी साधनमा लेखिएका साहित्यिक महत्त्व बोकेका छोटा र चोटिला लेख रचनाको संकलन र प्रचार गर्ने उद्देश्यले थालनी गरिएको थियो । यस अभियानले साहित्यिक कार्यक्रमहरू सवारी साधनभित्र सञ्चालन गर्ने, सवारी साधनमा साहित्यिक महत्त्वका छोटा सृजना लेखाउने आदि काम गर्ने गरेका थिए । जीवन जगत्लाई प्रतिबिम्बित गर्ने लोक साहित्यका रूपमा बस साहित्यलाई अगाडि बढाइएको छ । अभियन्ताहरू खनाल र आगमनले बस साहित्य नामक पाक्षिक पत्रिका समेत केही समय प्रकाशन गरेको पाइन्छ । बस साहित्य नामक त्रैमासिक पत्रिका जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता भएको भए पनि प्रकाशन भने भएको पाइएको छैन ।

ठ) रङ्गवाद (०६१)

वैरागी काइँलाको धारलाई आत्मसात् गर्दै सुनिने, हेरिने र पढिने तीनै स्वरूपका कविता रचिनुपर्ने रङ्गवाद कुनै विशेष नियम कानुनसहितको वाद नभएर परम्पराभन्दा भिन्न धार भएको साहित्यिक आन्दोलन हो । यो खुकुलो, कमसल हल्कावाद या अवाद जस्तै रहेको छ । यसको कुनै परिभाषा छैन । जुन रङ्गमा बुझिन्छ अथवा बुझेको आभास हुन्छ, त्यही रङ्गवाद हो र होइन । यो एउटा अनिश्चितताले सृजना गर्ने भ्रान्तिभित्र खोजिने एक आमूल सौन्दर्य शास्त्रीय खोज हो । उत्तर संरचनावाद तथा विनिर्माणवादले भाषाका माध्यमबाट सत्य र अर्थलाई भाषिक चिप्लाइमा चिप्लाइदिएका हुन्छन् । त्यसैले उत्तरसंरचनावाद अर्थात् उत्तरआधुनिकतावाद रङ्गवादको धरातल हो । रङ्गवाद नेपाली साहित्यको वर्तमानलाई विसङ्घटन गर्दै नयाँ गतिशील साहित्य निर्माण गर्ने एउटा वैकल्पिक विद्रोही सौन्दर्यको ब्यानर हो भनिएको छ ।

धर्मेन्द्र नेम्वाङ्ग, स्व. स्वप्निल, चन्द्रवीर तुम्वापो, प्रकाश विमिल, चन्द्र योङ्याजस्ता सर्जकहरूले यो अभियान चलाएका थिए । स्रष्टाहरूले प्रयोगवादी जटिल भाषाशैलीलाई यसमा बढी जोड दिएका छन् ।

ड) गणतन्त्र कविता आन्दोलन (०६१)

रुसी सांस्कृतिक केन्द्र, काठमाडौंमा गणतन्त्र कविता आन्दोलन (०६१) को घोषणा कविता गोष्ठी गरेर अनि कवि, पत्रकार तथा समीक्षकहरूमाझ विक्रम सुब्बाद्वारा लिखित कवि श्यामलद्वारा घोषणापत्र वाचन गरी सुनाएर आन्दोलन सुरु भएको थियो । यो आन्दोलन निरन्तर चलिरह्यो र यस आन्दोलनमा लेखिएका १४९ कविका कविताहरूको ‘गणतन्त्रको खेती’ (०६७) नामक कवितासंग्रह मुन्धुम प्रकाशनले प्रकाशन गरेको छ ।

ढ) अक्षरयात्रा (०६२)

अक्षरयात्रा (०६२) पोखराबाट सञ्चालित साहित्यिक अभियान हो । हरेक महिनाको तेस्रो शनिबार विभिन्न ठाउँमा गएर साहित्य सिर्जनाको कार्यक्रम सञ्चालन गर्ने गरिन्थ्यो । अक्षरयात्राको आयोजना गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराले गर्ने गरेका थिए । यसका अभियन्ताहरूमा प्रकट पगेनी, दीपक समीप, लक्ष्मण थापा, कृष्ण उदासी, रूपीन्द्र प्रभावी, ईश्वरमणि अधिकारी, सुरज उपाध्याय, अल्पज्ञानी, दिलीप दोषी, बिर्सना बस्नेत आदि प्रमुख रहेका थिए  ।

ण)  लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च (०६२)

०४७ को लोकतान्त्रिक जनआन्दोलन, जनआन्दोलन कविता (०४६) र सिर्जना चैत्र ३ को पृष्ठभूमिमा बनेको ‘लोकतान्त्रिक साहित्यकार संघ’ हुँदै ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’ (०६२) वैरागी काइँलाको अध्यक्षतामा निर्माण भएको थियो ।

काठमाडौंमा गठित यो मञ्च नेपालको बहुजातीय, बहुक्षेत्रीय, बहुभाषिक तथा बहुलवादी सामाजिक संरचनाको निर्माण र संरक्षणका लागि आवश्यक पहल गर्ने उद्देश्यले गठित यस अभियानमा सबै साहित्यिक संघ सस्थाहरू संलग्न रहेका थिए । काठमाडौंबाहिरका केही जिल्लामा पनि यसको विस्तार भएको देखिन्छ ।

त)  भयवाद (०६६)

भयवादको वैचारिक आधारको व्याख्या वा अवधारणापत्र भनेर २०६६ श्रावणमा चौथो पटक परिमार्जन र विस्तार गरिएको थियो । भयवादका चिन्तक देश सुब्बाद्वारा सिर्जित उपन्यास ‘आदिवासी’ (२०६४) र २०६५ साल श्रावण १८ गते धरानमा सम्पन्न ‘आदिवासी उपन्यास र भयवाद दर्शनः राष्ट्रिय बहस’ मा भयवादको वैचारिक पक्ष र आदिवासी उपन्यासमाथिका लिखित टिप्पणीहरूको सङ्कलन रहेको कृति ‘भयवादः वैचारिक चिन्तन’ रहेको छ ।

भय चेतनाको कुरा हो । चेतनाको मात्रासँगै भयको मात्रा बढ्दै जान्छ । विश्वासले भयलाई कम गराउँछ । द्वन्द्वात्मक अभौतिकवाद : द्वन्द्व भौतिक वस्तुमा मात्र हुँदैन, अभौतिक वस्तुमा पनि हुन्छ । जबसम्म म भन्ने भावना बाँचिरहन्छ, तबसम्म भय बाँचिरहन्छ । सबै कार्यव्यापारहरू तबसम्म निर्जीव रहन्छन्, जबसम्म त्यहाँ भयको प्रवेश हुँदैन । भय कर्म होइन, कर्ता हो । भयविहीनता आफैं एउटा भय हो आदि जस्ता भयवादका आधारभूत मान्यतामा रहेर देश सुब्बा र अन्यले नेपालमा रहेर भन्दा पनि बेलायत र अमेरिकामा बसेर कविता सिर्जना गरिहेका छन् ।

थ) स्वर कविता अभियान (०७२)

स्वर कविता अभियान (०७२) भारतीय हस्तक्षेपविरुद्ध माओवादी पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ र क्रान्तिकारी सांस्कृतिक संघजस्ता संस्कृतिककर्मीहरूको संयुक्त अभियान हो । अभियानकर्मीहरूले भारतीय टीभी च्यानलहरू बन्द गर्न, सार्वजनिक स्थल–यातायात, टीभी च्यानल, रेडियो, सार्वजनिक समारोह आदिमा हिन्दी गीत बजाउन बन्द गर्न, विदेशी विज्ञापन बन्द गर्न र राष्ट्रिय स्वाधीनताको चेतना जागृत गर्न, सबै सञ्चार माध्यममा नेपाली राष्ट्रभाषाका देशभक्तिपूर्ण गीत बजाउन अनुरोध गर्दै भारतीय विस्तारवादी नीतिका विरुद्ध, नेपाली सार्वभौमिकता र भूअखण्डतामाथि ठाडो हस्तक्षेपका विरुद्ध, अन्तर्राष्ट्रिय मान्यता र विधिविपरीत भूपरिवेष्टित राष्ट्रमाथि नाकाबन्दीका विरुद्ध स्वर कविता अभियानमार्फत राष्ट्रिय स्वाधीनताको चेतना जागरण गर्ने उद्देश्यमा यो अभियान केन्द्रित रहेको थियो । अभियान काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको थियो ।

माथि उल्लेख गरिएका कविता आन्दोलन र अभियानका अतिरिक्त काशी हिन्दू विश्वविद्यालयका विद्यार्थीहरूले चलाएको संक्रमण कविता अभियान (०५०), एम.एम.गुरुङको खेत कविता अभियान (०५१), जगदीश शमशेर राणाको साहित्य चौतारी अभियान (०५२), प्रकाश सायमीको भावक अभियान (०५६), नारी साहित्य प्रतिष्ठान (०५६), टंक आचार्य, धनकुटे कान्छा, प्रकाश आङ्देम्बेको मुक्त अभियान (०६०), तांका लेखन अभियान (०६०), रक्तिम सांस्कृतिक अभियान (०६०), पुष्कर रिजालको साहित्यिक योगाभ्यास नेपाल साहित्यिक अभियान (०६२), पुरुषोत्तम विष्ट र हेमबाबु लेखकको माटो बचाऊ अभियान (०६६) जस्ता अभियानहरू पनि देखा परेका छन् ।

५. समकालीन नेपाली कविताका मूलप्रवृत्तिहरू

सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्को काल प्रारम्भ हुन्छ । प्रवृत्तिगत प्रमुखताका आधारमा नेपाली कविताको परम्परालाई विभिन्न कालखण्डमा विभाजन गरिए पनि एउटा कालखण्डका प्रवृत्ति र वैशिष्ट्य अर्को कालखण्डका कवितामा पनि केही न केही मात्रामा देखा पर्दै आएका छन् । यसरी आउने प्रवृत्तिहरू संस्कार र परम्पराजन्य रहने गरेका छन् । समसामयिक वा उत्तरवर्ती उत्तराधुनिक उन्मुख समयमा पनि कतै न कतै वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएका पाइन्छन् तर आजको मूल प्रवृत्ति वा विशेषता त्यो नभएर समसामयिकता नै हो । यसरी एउटा कालखण्डको समाप्ति भएर अर्को कालखण्डको सुरुवात भएपछि अघिल्लो कालखण्डका प्रवृत्तिका कविता सिर्जना गर्न पाइँदैन भन्ने नभएर अघिल्लो कालखण्डको मूल प्रवृत्ति गौण भएर अर्कै नयाँ प्रवृत्ति मूल रूपमा आउँछ भन्ने हो ।

उत्तरवर्ती समसामयिक नेपाली कवितामा पनि अघिल्ला कालखण्डका केही प्रवृत्तिहरू गौण रूपमा आएका भए पनि प्रमुख प्रवृत्तिहरू उत्तरआधुनिक प्रवृत्तिको प्रभाव, कथ्यगत समानता वा पुनरावृत्तीय प्रस्तुति, युगीन विविध विसङ्गत परिस्थितिप्रति व्यङ्ग्य, संस्कृतिचेतनाको प्रस्तुति, सामूहिकताको अभिव्यक्ति, मानवमूल्यको उपेक्षा, मानवताको खोजी र जीवनका विसङ्गतिको चित्रण, सशस्त्र द्वन्द्वजन्य परिस्थितिको यथार्थ चित्रण, युगीन राजनीतिक अव्यवस्थाको चित्रण, पश्चगमनको विरोध र अग्रगमनको अपेक्षाको अभिव्यक्ति, आर्थिक विसङ्गतिको चित्रण, सामाजिक असमानता र विसङ्गतिको प्रस्तुति, अन्तर्राष्ट्रियतावादी सञ्चेतना, मानवअधिकारवादी चेतनाको अभिव्यक्ति, चित्रकवितात्मक अभिव्यक्ति, मिथकीय प्रयोग, नारीवादी चेतना, प्रविधिसंस्कृतिको प्रभाव, भाषिक सरलताको वरण र जटिलताको परित्याग आदि रहेका छन् ।

यसैगरी अनियोजित ढाँचाको प्रयोग वा शास्त्रीय ढाँचा प्रयोगमा कमी, भाव सौन्दर्यमा सचेतता, वस्तुयथार्थको अभिव्यक्ति, सरल सम्प्रेष्य शिल्पशैली एवम् भाषिक कला, अन्तर्विधात्मक पक्षको समावेश, भाव विचार एवम् चिन्तन पक्षको आधिक्य, विम्ब प्रतीकहरूको भावानुसारी प्रयोग, प्रजातान्त्रिक लोकतान्त्रिक र गणतान्त्रिक अभिव्यक्ति, उत्तराधुनिक शैलीको प्रयोग, जीवनसापेक्ष चेतना, नारीवादी चेतना, डायस्पोरा, भयवादी अराजकवादी विषयवस्तु, चिन्तन र शैलीको प्रयोग आदि पनि नेपाली कविताका उत्तरवर्ती प्रवृत्तिका रूपमा रहेका छन् ।

सन्दर्भ सामग्री ग्रन्थ र अनलाइन पोर्टलहरू

न्यौपाने, सुभाषचन्द्र (२०७२), नेपाली भाषा र साहित्यका आन्दोलन र विविध प्रयोगहरू, देशान्तर, वर्ष १, अंक १, पृ. २७–४३ ।
त्रिपाठी, वासुदेव, न्यौपाने, दैवज्ञराज र सुवेदी, केशव (२०४६), नेपाली कविता भाग ४, साझा प्रकाशन
भट्टराई, गोविन्दराज (२०६२), काव्यिक आन्दोलनको परिचय, दो.संस्क., ललितपुरः साझा प्रकाशन ।
सुब्बा, देश (२०६६), भयवाद वैचारिक चिन्तन, सम्पादक प्रकाश थाम्सुहाङ, हङकङ, नेपाली साहित्य प्रतिष्ठान ।
http://www.samakalinsahitya.com/?show=detail&art_id=1371
http://samakalinsahitya.com/index.php?show=detail&art_id=2840
www.ratopati.com
www.hamropatro.com

(स्रोत : बाह्रखरी दैनिक डट कम)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.