~रमेशजङ्ग थापा~
बत्ती झ्याप्प निभ्यो । कोठा चकमन्न अन्धकार र दुवै निःशब्द चुपचाप । खोक्दै ढाड कन्याएको अजीव आवाज । अनि निष्पन्द स्वरमा शब्द फुटछ, “बिहानदेखि सञ्चो नै छैन … के भाको के ? म त दिक्क भइसकेँ र सारा जीउ फत्रक्क गलेर आउँछ । बाँच्नै गाह्रो भो । “
“तिमी नढाँटी भन त .. तिम्लाई कहिले सञ्चो भएको छ ? कहिले ढाड, कहिले पेट त कहिले जीउ के .. के . हो के के ! व्यथाले नछोपेको कुनै दिन खाली छैन । बुझ्नै नसकिने भो बा .. । ”
“सधैँ बिहानबाट बाँदर नाचेजस्तो .. एकतालले नाच्नुपर्छ । सास फेर्न पाइँदैन । आराम भन्ने के हो … थाहा छैन । मेरो जीउको तपाईंंलाई के वास्ता छ र ? ”
“वास्ता, के वास्ता … कति गर्नु ? हरेक दिन–रात उस्तै … ऐया ऐया… यता दुख्यो उता झनझनायो … यहाँ पोल्यो । यो त हदै भो ।” “के हद भो ? विरामी छु भन्न पनि मैले नपाउनु ? दयामाया नभएको मान्छे ।” “अघि भर्खरैसम्म त गज्जबले गफ हाँकिरहेकी थियौ । के हुन्छ तिम्लाई ? ओछ्यानमा काँडैकाँडा त छैनन् ?”
“बाहिर सबैलाई तमासा देखाएर के रुँदै बसूँ ? … अँ म के मेसिन हुँ ? मेसिन पनि थाक्छ, .. थोत्रिन्छ .. बिग्रन्छ । ओहो ! म त कहिल्यै नथाक्ने मेसिन पो भएछु … बच्चा निकालिरहने । “
“एउटै कोठा, एउटै ओछ्यान तर दुई मन कहाँ ? कहाँ ?.. खाली खाली ! खै ? के भन्नु । धेरै टाढा । “
“टाढा को छ ? तपाईंं कि म ? मेरो दुःख मैले कसलाई बाँड्ने ? मैले मेरो व्यथै भन्न नपाउने ? बुझिदिने नभएपछि के लाग्छ …र ।” “भन्न पाउने, तर किन हो राति बेडमा मात्रै प्राय विसञ्चो हुन्छ तिम्लाई । यो कुरा मैले बुझेको छैन । “
“ए… उसो भए मैले बहाना बनाउँछु र जानीजानी दुःख दिइरहेकी छु ?” “खै … थाहा छैन केही । आफ्नो मनलाई सोध … मलाई नसोध । “अब मैले राम्ररी बुझेँ यस्तो पनि सोच्न सक्नुहुँदोरहेछ । “
पुनःरपि निस्तब्ध उच्छवास । बाहिर सडकमा कुकुर भुकेको चर्को आवाज र भित्र एउटा परिदग्ध अन्धकार .. । चुरा बज्छ शब्द छाउँछ, “अहो, अबेर भइसक्यो । .. सुत्नु प¥यो उठेपछि भोलि कति काम छ । हरे ! उही त हो नि सधैँको मचर्को .. कहालीलाग्दो ।” “कल्ले रोकेको छ सुत्न ? म पनि आनन्दले निदाउन चाहन्छु । खै ! ओछ्यानमा निद्रा छैन, मनमा चैन छैन । सबै कुरा कहाँ गयो, कहाँ हरायो, के छ र बाँकी !”
“त्यसमा मेरो के दोष छ ? आफू भने मनमा नाना भाँती कुरा खेलाएर पल्टिनु हुन्छ । निद्रा नपरे मैलाई दोष … ।” “कल्ले के भनेको छ ? रात परेपछि के हुन्छ तिमीलाई रोजै निहुँ खोज्ने, अब म थाकेँ । “
“मैले तपाईंलाई कोपर्न गएकी छु ? अझ आफै सुत्न नदिने उल्टो मलाई दोष थोपर्ने ! म के हिलो थुपार्ने खाल्टो हुँ ?”
“साँच्चै अब अति भो । तक्याले पनि बिझाउन थाल्यो । फाल्दे .. तल .. लज्जा यस्तो पनि के जिन्दगी हो … वाइयात !”
“ए.. ममाथिको रीस तक्यामा पोख्नु भो । होइन, आजकल तपाईंलाई के भाको छ ? नचाइने कुरा के के गर्नु हुन्छ । “
“अहँ केही भएको छैन । तिम्रो यो ताल देखेर उकुसमुकुस हुन्छ । अब नसकिने भो बा .. । यस्तै हो भने चाँडै कि म खुस्किन्छु या बौलाउँछु ।” “मेरो मर्ने बाटो कुरिरहनुभएको छ अनि जब म मर्छु सब ठीक हुन्छ । मलाई पनि खुट्टा तन्काएको दिनदेखि आनन्द हुन्छ । बेकारको यो मायामोह ।” “अँ हो कुर्दै बसेको छु । को पहिले मर्छ तिम्लाई थाहा छ । काल तिमी नै हौ कि .. ?”
“जीवनभर एउटा पिरलोले कहिलै नछोड्ने भो । उमेर छँदा सासुससुराको अब अलि सुख्ख भइटोपल्यो कि भन्ने बेला यस्तो जात्रा छ । हैन, मेरो यो खोरो नै उस्तै हो कि ? … अभागी ?”
“अरू कुरा म जान्दिनँ । तिमी आफैं उस्तै छौ । मैले आनन्द कहाँ पाउने ? तिम्रो सदा एउटै राग छ .. निरसिलो । “
“ल भन्नुहोस् मैले कुनै कुराले दुःख दिएकी छु ? बरु आफैं घोटिन्छु .. दल्लिन्छु, कसैलाई बाधा पु¥याकी छैन । “
“दल्लेर हुन्छ ? घोट्टेर हुन्छ ? सबै कुराको राम्रो तरिका मिलाउन जान्नुपर्छ ।” “हैन कस्तो तरिका ? के तरिका ? आम्मै ।”
“त्यो तिमीले नै थाहा पाउ, नसोध मलाई …।”
फेरि उही उच्चाटिलो शून्यता । दोलायमान रातबीचको यो पथभ्रान्त दृश्य काव्य जहाँ मौन सम्वाद छाइरहेछ । बाहिर बाँकी पथपद्चाप आउँदै जाँदै एवं हराउँदै जान्छन् । ….।
“होइन, तपाईंं छोराछोरीको वास्तावेस्ता किन गर्नुहुन्न ?”
“हैन, के भो र विरामी छन् ..र ?”
“थाहा पाएर पनि के भो रे । देख्नु हुँदैन ? आँखामा पट्टी बाँध्नु भएको छ ?” “कति कराको भन के वित्यास प¥यो ? के भो ?”
“छोरीको चालामाला देख्छु बैराग लाग्छ, घरको काम एउटा छुने हैन । ऐना अगाडि तीन घण्टा सधैं मेकअप गरी बस्छे । ब्वाईफ्रेण्डहरू पनि कति.. कति .. कपालका रौँ बराबर । रात छिप्पेपछि मात्र घर फर्कन्छे … राम ! राम ! भन्नै लाजमर्दो । छोरोको ताल त झन् बेताल । घाँटीमा फलामको सिक्री, कानमा मुन्द्रा–टप साथमा सधैं खुकुरी–चुप्पी । बाहिर मारपिट गुण्डागर्दी । हरे ! टोलमा उसको नामै ‘चुप्पी’ राख्दिएछन । चित्त बुझाउने कतै ठाउँ छैन । ”
“पुग्यो नसुनाऊ मेरो कान पाकिसक्यो । पेटमा फिँज भरिएर घाँटीसम्म आइसक्यो ! … भो । “
“तपाईंंलाई नसुनाएर कल्लाई सुनाउँ ? बाटामा हिँड्नेलाई सुनाउन जाऊँ ? तपाईं लाटो बहिरो भइसक्नु भो ? किन केही गर्न सक्नु हुँदैन ।” “अनि के मान्छे काट्दै हिँडू ..? कि नाङ्गै सडकमा दौडूँ । आखिरमा यो घरै आगो लगाएर जेल जान्छु ।”
“तपाईंंलाई त घरको समस्या सुनाउनै बेकार छ । सुनायो कि मारुँला जस्तो गर्ने… हान्ने राँगोजस्तो । यस्तो त मेरो शत्रुलाई पनि नपरोस्… ।”
“हे भगवान् अरू बेला मौका पाउँदिनौ यस्ताकुरा गर्न ? ओछ्यानमा नै सबै कुरा ओइरिन्छन् ? कुन कुरा कहाँ भन्नुपर्छ, कुन कुरा कहाँ गर्नुपर्छ … केही थाहा छैन । कस्तो हुस्सुको फेला परेछु म त ।”
“म त साह्रै वाक्क दिक्क भइसकेँ । भान्छामा भन्दा एक गाँस निल्न त दे भन्ने, बैठकमा भन्न खोज्छु एकछिन सास फेर्न दे भन्ने । म त हारथाक भइसकेँ .. कस्तो अव्यावहारिक र अबुझको फन्दामा परिछु म ..।” “तिम्रो भाषण बन्द गर । रातमा पनि मलाई सुख छैन । दिनमा पनि… अफिसमा… यो भएन, त्यो भएन… मिलेन, कस्तो ढिला… फाइल कता हरायो, जागिर जाला… । यस्तै कचकच र टोकसो अफिसमा हाकिमको… घरमा आयो तिम्रो । म त भकुण्डो पो रहेछु .. यसरी दिनमा कतिपल्ट मर्नु ?” “म के दिनभरि खुट्टा पसारेर सुत्छु ? यता पुछ्यो .. उता कुद्यो, डुङ्गुरका डुङ्गुर लुगा धोयो । तपाईंका लाठे छोराछोरी आफ्नो कट्टु, मोजा धुँदैनन् । तपाईंं त केही छिन बाहिरतिर भारी बिसाउन पाउनु हुन्छ । म कहाँ जाउँ, साथीसङ्गी को कता छन् कता । माइतमा जाउँ भने बाबुआमा छैनन् .. । म यसै घरको कैदी हुँ… कैदी, आजीवन कैदी ..। “
“अनि के गर्नुप¥यो त मैले ? काँधमा बोकेर तिम्लाई बजार–बजार डुलाउँ ?” “के बाउँठेको कुरा गर्नुहुन्छ । पर्दैन घुमाउन … फिराउन । तपाईंलाई … त्यही कुरासँग मात्र मतलब छ । यो लोग्ने मान्छेको जात के हो ? के हो ? जोइ गर्न पाए पुग्यो । चाहे बूढी होस् या रोगी । ठाउँ न कुठाउँ, बेला न कुबेला… जीउलाई पस्किनु पर्ने । हरे ! सञ्चो बिसन्चोको कुनै मतलब छैन…।” “कस्ले हेरेको छ अहिलेसम्म तिम्लाई … ? तिम्रा बाआमा त आका छैनन् हेर्न । वर्षमा पचासौँ पल्ट अस्पताल–क्लिनिक धाउनु .. कयौँ पटक रगत, दिसा, पिसाव अल्ट्रासाउण्ड, इसीजी.. एमआरआई … कति हो कति । रोग पनि कुनै नदेखिने, विशेक पनि कहिलै नहुने … । “
“मेरा मरेका बाउआमालाई नछुनुहोस् त्यस्सै । तपाईंँ मसित अघाइसक्नु भो । अब मै मरेपछि आनन्द हुन्छ तपाईंंलाई । त्यसपछि तरुनी नयाँ स्वास्नी पाएपछि मजा नै मजा… तर तेल्लाई मेरा गहनापात नदिनु है । मेरा छोराछोरीलाई बरोबर बाँडिदिनु … नत्र म भूत भएर आउनेछु । “
“वाह ! मर्नुभन्दा तिम्लाई आफ्नो गहनाको चिन्ता छ बरु साथै लगेर गए बेस होला … कसो ?”
“यत्रो वर्ष दुःख गरेँ कति सास्ती पाएँ, सब कुरा तयार छ मोजमजा गर्ने बेला अर्की आएर रजगज गर्ने होली । आफ्ना त दिन सबै पीरैपीरमा कट्यो । सुख भन्ने कुन चराको नाउँ हो थाहै भएन ..।” “भो भो अहिलै मर्दिनौँ के … ठ्याक्कै १०१ वर्षसम्म बाँच्छ्यौ ।” “मलाई सराप नदिनुहोस् । ४६ वर्षको यो उमेरमा त यो हविगत छ … वाक्क दिक्क भइसकेको छु । अझ .. ओहो १०१ वर्ष ? भो चाहिँदैन ।” “हो, हुन्छ त नि हैरानी ताल नजाने पछि । आफै पिरोलिएको छ अरूलाई तड्पाएको छ र सधैँ अशान्ति !” “के तड्पाएको छु ? मन लागे पनि नलागे पनि विमारी भए पनि एकदम तयार हुनुपर्ने, भएन भने रीसले राता आँखा पिलपिल गराउने ।” “ए लौ त मैले आँखा पिलपिलाएको अँध्यारोमा पनि देख्दछौ ? भयो … धेरै रात गैसक्यो । कस्तो नसकिने गनगन.. फतफत…। “
आरम्भ र अन्त माझको निशीथमा छ क्षुधातुर खाली खाली भुकपात्र । भित्र बाहिर सुनसान र क्लान्त परिवेशमा एउटा सानिध्य अन्यौल छ । बोझिलो खोकीसँगसँगै बोली छुट्छ । “आहा ! पहिलेका दिनहरू कति राम्रा थिए । घर फर्कंदा झ्यालबाट जोडी आँखा बाटामा ओछ्याइरहेको पाउँथे हरेक दिन । माया पनि परेवाको जोडी जस्तो .. छुट्टिनै गाह्रो कस्तो ! अहिले भने यस्तो व्यवहार… टोक्ने सर्प र चिल्ने सिस्नो जस्तो । साँच्चै कति चाँडै बिलायो सबै … ।” “फेरि सुरु भयो … । के सधैँ म १९ वर्षे तरुणी भएर तयार हुनु पर्ने उहिलेकोझैँ खोज्ने ? बुढेसकालले छोएको थाहा छैन तपाईंलाई..।” “अँ यसै कारणले मानिसहरू रण्डीबाजी गर्दारहेछन् । बाहिर आइमाई राख्दारहेछन्, निरन्न भएपछि के लाग्छ … ।” “ओहो । गर्नुहोस् रण्डीबाजी … राख्नुहोस् रखौटीहरू । त्यत्रो छेलोखेलो सम्पत्ति थुप्रेको छ, बल्लतल्ल टाउको लुकाउने छानो र दुई छाक पुग्याछ वाह ! केटी राख्ने .. रण्डी खेलाउने यस्ताले । “हरे मेरो त साँच्चै भन्ने हो भने लाइफै होइन बेकारको । कुनै दिन जोगी भएर हिडिदिन्छु टेन्सन नै साफ त्यसपछि मेरो कोही हुँदैन ।” “अँ होला अब पत्याएँ महिनावारी भको चार दिन खप्न नसक्ने मान्छे जोगी हुने र वाह ! म पनि पछि पछि लागूँ कि ? जोगिनी भएर ?” “पर्दैन पछि लाग्न तिम्रा काम नलाग्ने छोराछोरी हेर्दै बस .. मत सबैदेखि अघाएँ । मलाई अब कोही केही चाहिँदैन । “
“सप्रेमा मेरो र बिग्रेमा तेरो । आमाको मन जस्तो बाउको के होला । वास्तै छैन .. बरवाद भैसक्यो । सब बिग्रिसके .. हे राम !” “उनीहरूको कुरै नगर । मेरो मगज पड्किन्छ । पूर्व भन्छु पश्चिम लाग्दछन्, उत्तर भन्छु दक्षिण भाग्छन् ..हे ईश्वर । अर्को सात जन्मसम्म निःसन्तान हुनुपरोस् यही छ मेरो प्रार्थना । अनि थकाई मेटिने छ मेरो ।” “यस्तो मान्छेले विहा गरेर छोराछोरीको बाबु किन बन्नु … ।” “यस्तो होला भनेर कहाँ थाहा पाइयो र । बच्चाबच्ची ठूला होलान् सुख होला भन्ने सोचिन्थ्यो । .. ई.. पाइस् सुख अहिले । “
दुवै चुपचाप । खण्डित मनोभावना शब्द निःशब्द सबै छन् अनुत्तरित । आर्तम्लान स्वर विचरण हुँदै टुट्छ पुनः ।
“अहँ, ऐया ! गाह्रो भयो कस्तो मलाई ।”
“अब फेरि के भो ? अर्को व्यथा बल्झ्यो कि ? के हुन्छ अचानक, बुझ्नै नसकिने” “हैन के … हेर्नुस् न पिसावले ज्यादै च्याप्यो । डर लाग्छ बाहिर एक्लै जान साथै जाउँ है ? छिटो हिँड्नुस् फुट्लाजस्तो भइसक्यो, ऐया । अरूका घरमा अट्याच कमोट ट्वाइलेट बाथरुम छन् । तपार्ईंले बाहिर चर्पी बनाउन लगाएर रातविरातमा यस्तो सास्ती … साह्रै दुःख पाइयो ।” “बढी नकराऊ भो भो जाउ एक्लै । बूढी भइसक्यौ अब भूतले पनि छुँदैन तिम्लाई । … मान्छेको त के कुरा !”
“आमै के रे ? कस्तो दयामाया नभको मान्छे ? उहिले फकाएर भगाउँदा म यस्तै थेँ कठै बरा ! अहिले आएर म तिम्रै आँखामा थोत्रिँदै .. गल्दै गएँ । धिक्कार छ । (सुँक्क सुँक्क) यो अवस्थामा पु¥याउने को ? .. कसरी सस्तो भएछु म … (सुँक्क सुँक्क) … । “कत्ति चाँडै आँसु आउँछ तिम्रो हरे ! बर्सादको भेल जस्तो सस्तो पुग्यो । अब ल ल हिँड ठट्टा गर्न पनि नहुने । थुक्क बत्ती पनि यही बेला जानु पर्ने ? सधैँ लोडसेडिङ अन्धकार । आफ्नै जीवन जस्तो कहाली लाग्दो, कतै टाउको ठोक्केला राम्ररी होस् गरेर हिँड … ।” “अँ थाह छ .. थाह छ । ओहो ! कस्तो जाडो … । “
….फर्की दुवै ओछ्यानमा डङरङ्ग पल्छिन्छन् । खाटमुनि । खœयाकखुत्रुक …चीं चीँ चुँ चुँ सुनिन्छ ।
“यो मुसाको बथानले पनि सुत्नै नदिने भो । आँखा पनि पोल्न थाल्यो । आँखा झिमिक्क गर्न पा होइन । बाहिर शीत पर्न थालिसकेछ ।” “नानुको बुबा मैले साँच्चै ढाँटेको होइन । धेरै दिन भयो टाउकोबाट तल पाइतलासम्म भतभत पोल्दै गलेर आउँछ । तपाईंं पत्याउन हुन्न । उहिले स्याहारसुसार नपुगी सुत्केरी बिग्रेको हो कि ?” “मैले के भन्याछु ? सबै औषधिमूलो कुनै बाँकी छैन । अँ .. चिसों घुसेर हो कि, दिउरेमा अलिकता तेल तताएर घसिदिउँ है ? ताततातो तेलले चाँडै विसेक हुन्छ । ”
“नाई भो पर्दैन । ओहो ! मलाई थाहा छ किन ? एक नम्बरको स्वार्थी मान्छे । भयो अब ठीक भइसक्यो । तेल घसेपछि … फेरि अझ … हुन्न । “ए बाबा दयामया गर्न खोज्दा स्वार्थी, नगर्दा निष्ठुरी । के गर्ने मैले मरुँ ? बरु नसुनाउ तिम्रो कथाव्यथा अबदेखि मलाई … । “
“पर्दैन मर्नु बरु सुस्ताउन दिनुहोस् … आफू पनि निदाउनुहोस् ।” “बोलेर थाक्यौ हैन ? मेरो थोरै निद्रा खजमज्यो भने सुत्नै सक्दिनँ । अब त साँच्चै बूढो भएछु । ऐना हेर्दाहेर्दै जोवन ढल्केछ । “
“हैन हैन, कहाँ यति छिट्टै बूढो हुनु । अझै गधापच्चीसे मन छ । तपाईंको विहे गर्ने उमेर कटेको छैन, ढुक्क भए हुन्छ । म त रोगी, कहिलेसम्म बाँचुला र ?” कुरालाई कत्ति रबर तन्काएझैँ लम्बाएको होला टाउको दुखिसक्यो ।” “बाबा मलाई भित्रभित्रै रोगले गलाइसकेको छ । बिन्ती छ एउटा मात्रै तपाईंसँग ।”
“के कुरा हो भनन ।”
“मेरो जीउपछि यी छोराछोरीलाई कहिलै दुःख नदिनुहोला है । हात जोडी बिन्छि छ यति एउटा ख्याल गर्नुहोला .. । बुद्धि अझै आको छैन यिनीहरूको … कच्चै छन् बरा ।”
“भयो अब अति नै भयो, धेरै चिन्ता नगर सब ठीक हुन्छ । यो उमेर ढल्किदै जाँदा अलि … अलि त भैहाल्छ नि ।”
अनि .. विश्राम । शब्दरहित उत्कण्ठा एउटा आवर्तमा गुम्फित छ । बाहिरतिर भयातुर सडकमा ठूलै कोलाहल छाउँछ, सबै निःस्तब्धतालाई चिर्दै … । “चोर चोर चोर समात् समात् नछोड हान् हान् गुहार गुहार । “कैयौँ पदचाप सयौँ पुकार ध्वनिहरू प्रतिध्वनित हुँदै शीतको प्रतिविम्वनमा घनीभूत हुन्छन् ।
“आम्मै ! के हो ? छिमेकीमा चोर पसेछ कि क्या हो ? ल ल हिँड्नुहोस् बाहिर निस्कौँ । ढिला नगरौँ । के पल्टिराको होला .. उठ्नुहोस् न ।” “अँ… यो लोडसेडिङको बेला चोर ठानेर आफैलाई मार्लान् । अझ यस्तो शीतलहरमा हुन्न, थला परिएला । दिन समय राम्रो छैन झन् यो बेला ।” “के कुरा गरेको होला ! हामीकाँ कतै लुक्यो कि यसो हेरौँ न, जाउँ न ।” “लुकोस् मोरा, के छ र त्यस्तो लाने कुरा तिमीलाई नै बोकेर लगे मात्रै …।” “कस्तोसम्म भन्न सकेको … म यति सस्ती भएँ ? छोराछोरीलाई लाखापाखा लगाउन पाए आनन्दसाथ मर्ने थिएँ । यस्तो वचन त सुन्नुपर्ने थिएन ।” “कति मर्ने कुरा गरेको । आफ्नो इच्छाले बोलेर कोही मर्दैन । समय आएपछि टर्दैटर्दैन । निर्धक्क भई सुत ।”
“भन्नु नभन्नु भनेर सुत अरे । मलाई अब कसैको माया मोह छैन । जे होस् होस् ! कतै हिडिदिन्छु । एउटा हद हुन्छ नि .. कति सहनु ।” “हरे ! भयो के ! मजाक मात्रै गरेको हो । माफ पाउँ रानी साहेव । सुकला होस् ।” “म कहाँको रानी साहेव हो र … बाहिर सडकमा, अफिसमा एक से एक होलान् मैयाँ साहेब, रानी साहेबहरू । .. नखरमाउली नक्कलीहरू ।” “अझ फेरि पनि निहुँको बिउ रोप्न थाल्यौ, आजकल के भाको छ हँ ।” “आफूले जे मुखमा आयो उही बोल्न हुने । म के कुकुर हुँ जे भने पनि हुने !”
“आहा ! ल ल ल बत्ती आयो । ओहो ! पाँच बजिसकेछ … ।” “के पाँच बजिसक्यो ? बिहान भइसक्यो ? घडी राम्ररी हेर्नुस् न ।” “हो के ठ्याक्कै पाँच बजेर सात मिनेट गयो, नपत्याए तिमी नै हेर ।” “ए हो त नि हत्तेरिका ! रात छर्लङ्ग कट्यो । खाली निहुँ मात्र खोजेर आँखा झिमिक्क गर्न द्या होइन । एक दिनको अनिदोले सात दिन पिर्छ ।” “अझ मैलाई थोपर्ने दोषभरि । झगडाको आगो तिम्ले नै सल्काएको त हो नि पहिला खुरुक्क भनेको मानेर सुतेको भए … के जात जान्थ्यो तिम्रो ? त्यस्सै वाहिहातमा यत्रो रात बित्यो । तिमीलाई त .. के भन्नु ?” “चुप लाग्नुस् । सञ्चो नभएर हिजोसाँझका भाँडाकुँडा नमाझेर त्यस्तै थुप्रेका छन् । मुख धोएर भान्छातिर जान्छु ।”
“अहो ! आज अफिसमा कत्ति थुप्रेको छ काम । हिजो पनि राम्ररी भ्याइएन । रातभर अनिदोले मरिने भइयो आँखा पोलेर” “मलाई पनि के फसफस सुत्न दिनुभएको थियो थोरै । उसै त म विरामी मान्छे ।”
“नकराऊ भो । जेसुकै गर । जाऊ …. उठ या सुत मलाई मतलब छैन ।” “सुतेर मलाई पुग्छ ? छोराछोरीको बिहानको क्लास छ, बेलामा नउठाए दस बजेसम्म सुतिदिन्छन् बेफिक्रीसँग । ल गएँ म ..।” “साह्रै दुःख पाइयो लाइफमा । हरे ! झ्याल पनि रातभर खुला रहेछ । होसै छैन ।… कस्तो बाक्लो शीत परेको । … चिसो ।
(स्रोत : सुलेख साहित्यिक मासिक पत्रिका)