~रीता खत्री~
आऊ जीवनको चिसो सिरेटो
बराबर बाँडौं हामी
र एउटा असमान अध्यायको
पटाक्षेप गरौं ।
जहाँ नदेखिउन् असमानताका
अप्ठयारा भीर
आँसुको धमिलो नदी
र परस्पर चिन्न नसकिने
निष्पट अँध्यारो ।
एउटा जुनेली रातजस्तै
टाढैबाट छर्लङ्ग देखियोस्
तिम्रो मेरो निस्वार्थ मन ।
गुलाफका पत्रझैं
ओठमा फकि्रउन् काचन मुस्कान
घामका पारिला किरणझै
सर्वत्र छरिउन्
विश्वास र आत्मीयता
समयको अप्ठ्यारो गोरेटोमा
सारथि बनेर डोर्याइरहूँ स्नेहरथ ।
कतै अविश्वासका
ओरालीहरु नझरुन् तिम्रो मेरो मन ।
षडयन्त्रका काँडाहरुले
आहत नहुन् तिम्रो मेरो मुटु ।
हामी नयाँ नेपालको सपना
यसरी बाँडौं
तिमी रुँदा झरी बनेर मेरो आँखाबाट
झरोस् आँसु ।
म हाँस्दा तिम्रो अनुहारमा झुल्कियोस्
खुसीको एउटा बिहान ।
निरन्तर असहजताको गहिरो तमोरमा
यसरी नै खियाइरहँू हामी
सहजताको डुङ्गा
र पुगौं
लक्ष्यको एउटा सुदूर…… किनारा ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)