~तिर्थराज अधिकारी~
छन्द : अनुष्टुप्
बलेको स्वर्गको आगो चोरी ल्यायो धरातिर
मायावी जाल तोडेर नाघ्यो निर्विघ्न सागर ।
लगाई ताजको बाजी महाराणा बनी उठ्यो
शाहजहाँ बिलौनामा प्रेमको छाल भै छुट्यो ।
आधा आकाश धाँजामा कुंजिनी र सुलोचना
देखेर मन भो आगो पोखियो तप्त वेदना ।
बाघले खान लागेको बच्चा देखेर गर्जियो
राजा ! कलम भाचूँ कि भन्दै आदेश पर्खियो ।
निरंकुश फणा फैली निल्न खोज्थ्यो स्वतन्त्रता
कोर्रा हान्यो उसैमाथि मान्दै मानेन दासता ।
मुना सहरमै मैली, भोटको लेकमा उता
पायो मदनले साथी साँच्चैको दिलदेवता ।
तपस्वी उसका निम्ति थियो प्यारो तपोवन
शकुन्तला कला बोक्ने चरा चिर्बिर कानन ।
सभ्य संसार रच्नैमा बोक्यो विद्युत लेखनी
भावव्यञ्जन ती लाग्छन् जादुका दिव्यमोहनी ।
सफा आकाश गंगा ऊ रस झर्झरमा झ~यो
विचार बीज रोपेर आलोक लोकमा भ~यो ।
भाववैभवको स्रष्टा सिङ्गै संसार एक छ
विमान मनको चढ्दै तारा केस्रा केलाउँछ ।
बुटी पाई कुटी हाँस्छन् धन्य ! धन्य ! वसुन्धरा
छैन कोही कहाँ भन्छन् ? रूप फुल्छन् गरा गरा ।
वन कुसुमका माला श्रद्धाले म चढाउँछु
भाषा संसारका सामु उसैलाई म पाउँछु ।
दृढ शैल शिरैमाथि हिम बोकेर हाँस्दछ
शीतैको याम होस् घाम ताप कहाँ बिलाउँछ ?
सत्कर्म किन रित्तिन्थ्यो प्राण संसारको बल
बल्छ जीवनको ज्योति सधैँ झल्मल झल्मल ।
दम्भी अट्टालिका गल्दै झर्छन् अकाल गर्तमा
वीणाकै स्वर गुन्जन्छन् सधैँ रात प्रभातमा ।
सिङ्गाे ब्रम्हाण्डकै चित्र खिच्छ समाज दर्पण
दीपका खोजमा हुन्छ दीपैसामु समर्पण ।
शब्दको जग हालेर भाव सोपानमा चढी
धर्तीमा कवि फर्कन्छन् नभको चन्द्रमा चुमी ।
कालिदास कला यस्तै व्यास-वाल्मीकिका कला
लेखनीमा कति जादु ! छवि –छाया थलाथला ।
अलंकृत बनेको छ माटो यै भावले छुँदा
वसुधामा सुधा भर्छन् स्रष्टाका दिल सर्वदा !!
(महाकविमा समर्पित)
(स्रोत : “सपनामा हराएको बिपना” – कवितासंग्रह – २०६६ बाट साभार )