कविता : बिचरो चरो

~भागवत खनाल~

बिचरो वृद्ध चरो खुला आकाश हेर्दै
सुदूर क्षितिजतर्फ आफ्नो गन्तव्य निहार्दै छ
अवको भेट को संग कस्तासंग होला
त्यहाँ कस्ता होलान पात्रहरु ?
अवको बास कहाँ होला ?
अज्ञात त्यो तिलस्मी दुनियामा के के होला
नियतिले कस्तो कर्तव्य सुम्पने होला ?
कल्पना गर्दै छ रे बिचरो चरो
बिचरो बृद्ध चरो अझै पनि भुत्ते पंख फडफडाउदै
अग्लो वृक्षको सर्वोच्च शाखासम्म पुग्ने चाहनाले
उडान गर्न बलात प्रयास गर्दै छ रे
किन्तु
नियतिले उसलाई त्यो गगनचुम्बी वृक्षको
सबैभन्दा तल्लो , मक्किएको शाखाभन्दा माथि जान रोक्दै छ
अव बिस्तारै बृद्ध चरोले आफ्नो गन्तब्य चिन्दै छ रे
बचेराहरु दूरदेशतिर उडेर गए , यताको चारो मन परेन रे
आज बबुरो चरो आफ्ना बचेराको पेट भर्न
आफूले पटुका कसेर पर परबाट चारो बटुलेको याद गर्दै छ
अरुको पोषणमा आफू पोषित भएको याद गर्दै छ
अरुको रमणमा आफू रमाएको याद गर्दै छ
आफ्नो खाउँ खाउँ लाउँ लाउँ भन्ने यौवनको समयमा
आफ्ना इच्छाहरु अरुका लागि समर्पण गरेको याद गर्दै छ
अरुको किलकारीमा स्वर्ग देखेको याद गर्दै छ ,
कसैको विस्टामा सुवास छाएको याद गर्दै छ
काँधमा चढी कसैले सु सु गर्दा अमृतधारा वर्षेको याद गर्दै छ
उत्सर्ग प्रेम याद गर्दै छ रे
तर आज बृद्ध चरो पित्तलसरी भएको छ रे
ठूलो कोलाहलवीच निरालाम्ब निराधार र एक्लो ऊ
बिहानै ” सन्चै हुनुहुन्छ नि ” भन्ने दूध पसलेको मायाको सहारामा छ रे
बिचरा बृद्ध चरो
शीला खोजेर बनाएको आफ्नो बेवारिसे हुने संघारमा पुगेको गुणतिर
डवडवाउंदा नयनले निहार्दै छ
अचेल बृद्ध चरो कसैले दूरदेशबाट ” हाई , नाउ आई एम बिजी कल यु लेटर ” भन्छ कि भनी
रातभरी ” अनलाइन ” बस्छ रे , स्वार्थी जो छ
आफ्नै मिथ्या महत्वाकांक्षा र अहंकारको शिकार भएको छ , आफ्नो राम आफै हेर्दै छ
आज ऊ आफैमा आफैलाई खोज्दै छ , म को हुँ भनी चिन्ने व्यर्थ प्रयाश गर्दै छ
बेदना कसैलाई सुनाउदैन , घरको मामिला गोप्य राख्नु पर्छ
सार्वजनिक स्थलमा रुनु हुदैन , आज बिचरो चरो अन्धकार कुनामा लुकेर एक्लै रुन्छ रे
कालको निर्मम प्रहार सहँदै , हातबाट गाण्डिव झरेको अर्जुन बन्दै छ
आफ्नो ” लावारिस जनाजा ” आफै कुर्दै छ रे
आफूलाई आफैमा समेट्ने अनधिकार चेष्टा गर्दै
आज बृद्ध चरो
आफू जन्मनु र अरुलाई जन्माउनुको कारण खोज्दै छ , बिधातासंग जवाफ माग्दै छ
जीवनको यस मुकाममा आज ऊ आफ्ना दिवंगत जनक र जननीसंग
आफूलाई जन्माउनुको प्रयोजन सोध्दै छ र
” हे विधाता मलाई यहाँ पठाउनुको उद्देश्य बता ” स्पष्टीकरण माग्दै छ रे
तर विधाता मौन छ
विधाता पनि स्वार्थी छ क्या रे चुपचाप उसको राम हेर्दै छ रे
अव अर्को मिथ्या र प्रयोजनहीन जिम्मेवारीको लेखा कोर्दै छ कि ?
शायद विधाता पनि अर्को निष्ठुर बिधाताको
विधानको बन्धनमा बद्ध छ रे ।

(स्रोत : सदृश्य डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.