~हरिप्रसाद भण्डारी~
दामोदर जलकुण्डबाट सहजै निस्केर यात्री सरी
कैले शान्त त रौद्र रुप कहिले हा–हा र हूँ–हूँ गरी
अग्ला श्वेत हिमाल, उच्च गिरि औ ढुङ्गा, मुडा, बन्जर
खोपी मार्ग बनाउदै र कहिले तोड्दै ठूला कन्दरा ।
— ० —
मुक्तिनाथ हुँदै घुमेर सहजै नौला नयाँ इस्थल
बग्छ्यौ, हे सरिता रमाइ अनिता झछ्र्यौ तिमी तल्तल
ठूला ठिक्क अनि प्रशस्त मसिना साथी लिई साथमा
जान्छ्यौ आखिर मिल्न त्यै गहकिलो समुद्रका पासमा ।
— ० —
तिम्रो शक्ति अपार, भाव कलिलो नौलो छ तिम्रो रुप
यात्रा सु्न्दर, जिन्दगी रहरिलो उच्चा छ तिम्रो हुप
तिम्रो मार्ग कदापि कत्ति बलले रोक्नै खोजुन् तापनि
ठूलो वेग र शक्तिले धरती नै भत्काइ बग्छ्यौ तिमी ।
— ० —
सारा पाप पखालीद्यौ धरतीको दुर्गन्ध मैला अनि
स्वात्तै पारी बडारिद्यौ अबुझको अज्ञान सेखी पनि
यौटा सु्न्दर धर्तीको अब यहाँ निर्माण गङ्गे गर
सारा मार्ग हराभरा गरी नयाँ नौलाख बीउ छर ।
— ० —