~प्रवीण राई जुमेली~
पढिने ऋचाहरू आफ्नै थिए कञ्चनजङ्घाका
त्यसको छहारीमा बित्ने समयभरि
इतिहासका बग्रेल्ती अलिखित घुम्तीहरूमा
दृश्यहरू छेलिँदै जान्थे
छेलिँदै जान्छन् दृश्यहरू अझै पनि ।
किन होला, कञ्चनजङ्घाका ऋचाहरू अब त
परिणत भए शोकगीतहरूमा
ए दाजै, किन होला टिस्टा/रङ्गितको पानी
नुनिलो भयो नि
माछाहरू कुन खोलामा बसाइँ सरिसके होला ।
व्याप्त यी सन्नाटाहरूमुनि
अश्रुत बनेका श्मशान विरोधहरू
शान्तिको भयानक रूप भनी परिभाषित भए
कसलाई थाहा कि ‘आमाको सपना’ भरि प्रत्येक बिहान
हराएको आफ्नो भाषा खोज्छन् सन्नाटाहरू
‘शान्तिबिनाको धरती कस्तो हुन्छ ए ?’ भन्दै
मौन प्रश्नहरू गर्छन्।
मौनता त तर हाम्रो जीवनशैली नै बन्यो क्यार ।
त्योबिना बाँच्ने कुराहरू हामीले सोच्न पनि छाडेछौँ ।
समयसीमाभित्र यसरी नै हामी
कति एक्लो भएछौँ, दाजै
त्यसका घुम्तीहरूमा हामी छेलिँदै–छेलिँदै आज
अलिकति अविश्वास उब्रियौँ
उब्रियौँ अलिकति अनास्था ।
सायद अविरल बग्नेती लाचार पसिनाहरू
अलिकति श्राप बग्छन् अझै
अलिकति अनर्थ बोल्छन्।
-प्रवीण राई जुमेली
जुम बस्ती, पस्चिम सिक्किम