~एम सि सुमित~
गांपरिषदपछी स्काइभेटरले
ग्रमीण कृषी सडक खन्दै
भिरालो पहाडी गांउ
छिया-छिया चिरेर सडक आयो।
निर्दोस गांउमा राक्षेस जस्तो स्काइभेटर
फुलिरहेको तोरी
वा झुलिरहेको गहुं
पखेराको बांसझ्यांङ
वा पघेराको अल्लोघारी
सुसाइरहेको कुलो
वा टुसाइरहेको ब्याड
सबै सबै भत्काउदै आयो
सुन्तलाको बोट
वा गोलभेडाको ओत
जोतेर ठिक्क पारेको खेत
वा काटेर सुकाएको पांजा
केही नभनी जिब्रो लप्काउदै आयो।
दुर्गम गांउमा
ग्रामीण सडक आएपछी
गांउलेहरू किन खुसी नहुनु
पूजा गर्दै ढोगिए स्काइभेटर
र मालाले सजिए ठेकेदार।
स्काइभेटर कसको हो
वा क-कसको शेयरको हो
वा क-कसले कमिशन खाने हो
यो मतलबको विषय होइन
तर योजना तर्जुमा समितीमा
जबरजस्ती सदस्य बन्नेको अनुहार
किन एकाएक तेजिलो हुन्छ?
चाउचाउ लिएर वा डिउ लिएर
चामल लिएर वा नून लिएर
गांउ पुगेको ट्र्याक्टरले
किन पाउंदैन
अलैची वा अदुवा
अमृसो वा लोकता
बङगुर वा खसी
माछा वा मह
काउली वा खिर्सानी
सुन्तला वा कागतीको भारी!
ग्रामीण कृषी सडक
किन कृषी भत्काउदै
सडक मात्र आउछ!
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)