कविता : ऐना

~सोम खनाल~som-khanal

ऐनाले त ‘मुहार पुछ’ नभनेको हैन
तर मैले पुछिरहें सामुन्नेको ऐना
अनुहारको दाग त्यसै त्यसै रहिरह्यो
अाखिरमा सारा जीवन ‘दागी’ भइगयो ।

ऐना हो साथी, साथी हो ऐना
ऐना जस्तो सत्य बोल्ने अरु केही छैन ।

फुकि फुकि पाइला चाल्नु पर्ने रैछ पहिले
पासोभित्र परेपछि पछुतो भो अहिले
समयले जिन्दगीको सबै हिसाब लियो
‘तल-माथि भयो’ भनि ‘ऐना’ देखाइदियो ।

ऐना हो साथी, साथी हो ऐना
ऐना जस्तो सत्य बोल्ने अरु केही छैन ।

प्रतिबिम्व देखी अाफै तर्सिएर बस्दा
अाखाबाट असन्तोष बर्षिएर खस्दा
अाफ्नु दोष लुकाउन फुटाइएछ ऐना
अनुहार छ कस्तो अहिले भन्न सक्या छैन ।

ऐना हो साथी, साथी हो ऐना
ऐना जस्तो सत्य बोल्ने अरु केही छैन ।

March 8, 2017

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.