कविता : विचलित वर्तमान

~उषा शेरचन~

यो स्वर्गभन्दा सुन्दर नगरीमा
यो स्वच्छ र शान्त उपवनमा
कस्को आँखा लागेर हो रु
कस्को सराप परेर हो रु
अचेल जाई जूही र सुनाखरीहरू
-फुल्नै छाडेका छन्
अचेल लालुपाते र लालीगुराँसहरू
-झुल्नै बिर्सेका छन्

केही स-साना झुपडीहरू
एक्कासी महलमा परिणत भएपछि
केही टुटेका चप्पलहरू
एक्कासी पजेरोमा रूपान्तरित भएदेखि

ओरालो लागेका मृगहरू
-झन् झन् ओरालोमै खेदिएका छन्
साँढेका जुधाईमा परेका बाच्छाहरू
-झन् झन् मिचाइमा परेका छन्

हराएका सहकालका बिउहरू
अनिकालले गाँजिएर
भोका पेट र नाङ्गा आङहरू
सहनुको सीमा नाघेर बाँचिरहेका छन्
रगत पिउन पल्केका
उत्तेजित ब्वाँसाहरुका डरले
जिन्दगी
मृत्युका दो-छायाँमा
निस्लोट सुतिरहेका छन्

कहिले जलमग्न बस्तीहरू निहार्दै
कहिले पहिरोले पुरेका गाउँहरू चाहर्दै
कहिले डढेलो लागेका वनहरू नियाल्दै

प्रकृति प्रकोपभन्दा पनि मानव प्रकोपबाट
आहत: र शोकमग्न
विचलित वर्तमान

शान्तिका अहम् कामना धराशायी भएको देखेर
युद्धशिविरबाट उठेका भीषण धुलकणहरू देखेर
कुरुयुद्धामा मच्चिएका विनाशकारी लीलाहरू देखेर

जुवामा हारिएका द्रोपदीझैँ
अवाक् र भयभित भए पनि
निराश र विरक्त देखिए पनि

कतै ! सम्भावनाका रेखाहरू कोर्न सकिएला कि भनेर
कतै ! उज्यालोको एक झिल्को देख्न सकिन्छ कि भनेर
निरन्तर यात्रा गरिरहेका छन् !
निरन्तर प्रतीक्षा गरिरहेका छन् !!

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.