~डा. धनप्रसाद सुवेदी~
संस्कृतबाट अनूदित आख्यान–उपख्यानहरूबाट नेपाली आख्यानको सुरुवात भएको हो । त्यसपछि जासुसी, तिलस्मी प्रवृत्तिका केही उपन्यासहरू देखा परे । गिरीशवल्लभ जोशीको वीरचरित्र (१९६०) बाट नेपाली ठाउँ र नेपाली पात्रको सुरुआत भयो र जनजाति पात्रहरूको पनि उपस्थिति हुन थाल्यो । यसपछिका उपन्यास जनजातीय समाज र संस्कृतिका केही पक्षहरूको छिटपुट चित्रण हुन थालेको देखिन्छ । लैनसिंह बाङ्देलको मुलुकबाहिर (२००४) बाट नेपाली उपन्यासमा यथार्थवादी प्रवृत्तिको सुरुआत भएसँगै नेपाली समाज र संस्कृतिका विषयवस्तु उपन्यासमा समेटिन थाले । यसपछिका उपन्यासमा जनजातीय पात्रहरू र जनजातीय समाज र संस्कृति पनि समावेश हुन थालेको पाइन्छ । तर जनजातीय पहिचानकै विषयलाई आधार बनाएर लेखिएका उपन्यासहरू भने न्यून सङ्ख्यामा रहेका छन् ।
नेपाली उपन्यास परम्परा एक शताब्दीभन्दा लामो रहेको छ । यस अवधिमा दुई हजारभन्दा बढी उपन्यासहरू प्रकाशित भइसकेका छन् । यी उपन्यासमध्ये अधिकांश उपन्यासहरू प्रेम प्रसङ्गमा आधारित छन् । नेपाली उपन्यासमा नेपाली समाज र संस्कतिको विषयवस्तु समावेश भएका छन् तर नेपाली समाज र संस्कृतिको विशिष्टतालाई राम्ररी चित्रण गर्ने उपन्यासहरूको भने कमी रहेको देखिन्छ । यसमा पनि नेपालमा रहेका जनजातिको जनसङ्ख्या र विविधताका अपेक्षामा जनजातीय संस्कृतिलाई विषयवस्तु बनाएर लेखिएका उपन्यास सीमित रहेका छन् । नेपालमा सरकारी सूचीकरणमा परेका ५९ जनजातिमध्ये नेवार, राई, लिम्बु, सेर्पा, माझी, गुरुङ, तामाङ, थारू, मगर, घर्ती, चेपाङ जस्ता सीमित जनजाति र उनीहरूका संस्कृति मात्र नेपाली उपन्यासमा उल्लेख भएका छन् । जनजातीय संस्कृति नै मुख्य वषयवस्तु बनाएर लेखिएका उपन्यासको सङ्ख्या अत्यन्त न्यून रहेको देखिन्छ भने ती सीमित उपन्यासको यथोचित समालोचना र चर्चा–परिचर्चा पनि हुन सकेको पाइँदैन ।
कतिपय नेपाली उपन्यासमा जनजातीय पात्र, समाज, संस्कृतिसहित पहिचानको विषयलाई समावेश गरिएको पाइन्छ । त्यस्ता उपन्यासहरूमा हृदयचन्द्रसिंह प्रधानको एकचिहान (२०१७), शङ्कर कोइरालाको खैरिनीघाट (२०१८), ताना शर्माका ओझेल पर्दा (२०२२) र मेरो कथा (२०२३), विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा (२०२५), चेतन कार्कीको आत्मा बेचेको छैन (२०२३), शङ्कर कोइरालाको हेलम्बु मेरो गाउँ (२०३२), प्रकाश ए राजको रोदीघरको सम्झना (२०३२), डोरबहादुर विष्टको सोताला (२०३३), रमेश विकलको अविरल बग्दछ इन्द्रावती (२०३९) सञ्जय थापाको पूर्वतिर (२०४४), दौलतविक्रम विष्टको हिमाल र मान्छे (२०४५), खगेन्द्र प्रधानाङ्गको हारी (२०५०), विष्णु आभूषणको अनायास (२०५१), शिवकुमार राईको क्षितिज पारिमा (२०५१), देश सुब्बाको अपमान (२०५२), हिरण्य भोजपुरेको छिटेन (२०५४), शालिक शताशकको प्यारुला (२०५९), कृष्णराज सर्वहारीको गन्तव्य (२०५९), केशर मोक्तान तामाङको रेन्जिन दोर्जे (२०६० तिर), देश सुब्बाको आदिवासी (२०६४), राजन मुकारुङको हेत्छाकुप्पा (२०६५), युग पाठकको उर्गेनको घोडा (२०६६) र राजन मुकारुङको दमिनी भीर (२०६९) आदि उल्लेख्य छन् ।
नेपाली उपन्यासहरूमा विभिन्न जनजातिहरूका पहिचानको चित्रण भएको पाइन्छ । एकचिहान (२०१७) मा नेवार, खैरिनीघाट (२०१८) मा माझी र तामाङ, ओझेल पर्दा (२०२२) मा राई, सेर्पा, मेरो कथा (२०२३) मा गुरुङ, सुम्निमा (२०२५) मा किराती संस्कृतिको प्राचीन मिथक, आत्मा बेचेको छैन (२०२३) मा गुरुङ, उज्यालो हुनुअघि (२०२८) मा घर्ती भुजेल, हेलम्बु मेरो गाउँ (२०३२) मा सेर्पा, रोदीघरको सम्झना (२०३२) मा गुरुङ, सोताला (२०३३) मा नेवार, अविरल बग्दछ इन्द्रावती (२०३९) मा माझी, खदमाको गाउँ (२०३५) मा थारू, पूर्वतिर (२०४४) मा लिम्बु, हारी (२०५०) मा आठपहरिया राई, अनायास (२०५१) मा राई, क्षितिज पारिमा (२०५१) मा किराती, अपमान (२०५२) मा लिम्बु, हिमाल र मान्छे (२०४५) मा सेर्पा, छिटेन (२०५४) मा गुरुङ, प्यारुला (२०५९) मा राई, गन्तव्य (२०५९) मा थारू, रेन्जिन दोर्जे (२०६० तिर) मा तामाङ, आदिवासी (२०६४) मा लिम्बु, राई, हेत्छाकुप्पा (२०६५) मा राई, उर्गेनको घोडा (२०६६) मा तामाङ जातिका पहिचानको विषय समावेश भएको पाइन्छ । जनजातीय पहिचानका दृष्टिले हेर्दा खैरिनीघाट (२०१८), हेलम्बु मेरो गाउँ (२०३२), हिमाल र मान्छे (२०४५), हारी (२०५०), आदिवासी (२०६४), रेन्जिङ दोर्जे (२०६०), हेत्छाकुप्पा (२०६५), उर्गेनको घोडा (२०६६), दमिनी भीर (२०६९) लगायतका उपन्यास महŒवपूर्ण रहेका छन् ।
जनजातिका विषयमा लेखिएका नेपाली उपन्यासहरूमा नेपालको समग्र इतिहासको समीक्षा पनि गरिएको पाइन्छ । देश सुब्बाको अपमान (२०५२) र आदिवासी २०६४), केसाङ मोक्तान तामाङको रेन्जिङ दोर्जे (२०६०), युग पाठकको उर्गेनको घोडा (२०६६) जस्ता उपन्यासले अहिलेसम्म पढिँदै आइएको नेपालको इतिहासप्रति प्रश्न उठाएका छन् । यी उपन्यासहरूमा इतिहासमा लुकेका विषयलाई प्रकाशमा ल्याउने काम गरिएको छ ।
नेपालका जनजातिसँग आफ्नो अलग्गै भाषा र संस्कृति रहेको छ । खैरिनीघाट, हिमाल र मान्छे, हारी , अपमान, रेन्जिङ दोर्जे, हेत्छाकुप्पा, उर्गेनको घोडा, दमिनी भीर जस्ता उपन्यासले अलग अलग जनजातिका विषयमा लेखिएका उपन्यासमा जनजातिले बोल्ने भाषा र संस्कृतिमा अलग्गै र आफ्नो स्वपहिचान पाइन्छ । यस्ता उपन्यासले प्रत्येक जनजातिसँग आफ्नो अलग्गै भाषा र संस्कृति र इतिहास रहेको पुष्टि गर्दछन् ।
जनजातीय पहिचान नै मुख्य विषयवस्तु बनाएर लेखिएका नेपाली उपन्यासमा नेपालमा जनजातिको अवस्था के छ भन्ने विषयको चिरफार गर्दै जनजातीय अधिकारको पक्षपोषण गरिएको छ । अपमान, हेत्छाकुप्पा, उर्गेनको घोडा र दमिनी भीर उपन्यासमा यस विषयलाई सशक्त रूपमा उठाइएको छ । यी उपन्यासहरूमा नेपालमा गैरजनजाति शासकले जनजातिहरूको भाषिक, सांस्कृतिक, राजनीतिक, आर्थिक आदि अधिकारमाथि हस्तक्षेप गरेको विषयलाई उठाउँदै आदिवासी जनजातिहरूले आफ्ना गुमेका हक, अधिकारको प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्दछ भनिएको छ ।
जनजाति विषयमा केन्द्रित भएका उपन्यासहरूले नेपालका जनजातिहरूलाई नेपालका आदिवासी हुन् भनेका छन् । खगेन्द्र प्रधानाङ्गको हारी (२०५०), देश सुब्बाको अपमान (२०५२) र आदिवासी (२०६४), केसाङ मोक्तान तामाङको रेन्जिङ दोर्जे (२०६०), राजन मुकारुङको हेत्छाकुप्पा (२०६५) र दमिनी भीर (२०६५) युग पाठकको उर्गेनको घोडा (२०६६) जस्ता अलग अलग जनजातिका विषयमा लेखिएका उपन्यासमा यस विषयलाई स्पष्ट पारिएको छ ।
नेपालका जनजातिहरूमा सामूहिकताको संस्कृति पाइन्छ । उनीहरूमा मर्दापर्दा आपसमा सरसहयोग गर्ने, अन्य जातिका र भिन्न संस्कृति भएका मानिसहरूसँग पनि सद्भाव र मेलमिलाप गरेर बस्न सक्ने स्वभाव र संस्कृति रहेको पाइन्छ । हेलम्बु मेरो गाउँ, हिमाल र मान्छे, हारी, आदिवासी, हेत्छाकुप्पा, उर्गेनको घोडाजस्ता उपन्यासमा यो विषय स्पष्ट रूपमा आएको छ ।
नेपालका जनजातिहरू काल्पनिक र अभौतिक देवीदेवताका सट्टामा भौतिक प्रकृति, श्रम तथा पूर्वजहरूको पूजा उपासना गर्दछन् । जनजातिहरूका आराध्य देव भनेका आफ्नै अग्रज मातापिता हुन् । उनीहरू खाना पकाउने चुलो, अन्न फलाउने भूमि र आफ्नै पितापुर्खाको पूजा उपासना गर्दछन् । यस विषयलाई हारी, आदिवासी, हेत्छाकुप्पा जस्ता उपन्यासले स्पष्ट पारेका छन् । जनजातिहरू खेती लगाउने बेला उँभौली, खेती उठाउने बेला उँधौली पूजा गरेर श्रमको पूजा गर्दछन् । आदिवासी उपन्यासमा रूखपूजा, तरुल उत्सव जस्ता प्रकृति तथा श्रमपूजाका बारेमा चर्चा गर्दै जनजाति समाजमा प्रकृतिपूजा र श्रमपूजाको महŒवका बारेमा प्रकाश पारिएको छ । नेपालका जनजाति समाजमा पुरुषसरह महिलाहरू पनि सामाजिक तथा घरायसी काममा सरिक हुन्छन् र समाजमा महिलाको स्थान पनि पुरुषसरह सम्मानित छ भन्ने विषय जनजातिको चित्रण गरिएका उपन्यासमा पाइन्छ । यसका साथै जनजाति समाजमा जीवनसाथी छान्ने स्वतन्त्रता रहेको र उमेर पुगेका केटाकेटी आपसमा मनपराएर बिहे गरेमा त्यसलाई निश्चित रीत पु¥याएर सामाजिक–सांस्कृतिक वैद्यता प्रदान गर्ने गरिएको देखाइएको छ । हिमाल र मान्छे उपन्यासमा सेर्पा समाजमा केटीलाई फकाएर फुल्याएर बिहे गर्नुपर्ने चलनको चित्रण गरिएको छ । हारी, हेत्छाकुप्पा जस्ता उपन्यासमा किरात जातिकी आदि माता सुम्निमाको चर्चा गरिएको छ । आदिवासी, हेत्छाकुप्पा जस्ता उपन्यासले जनजाति समाजमा महिलाहरूको समान उपस्थिति र निर्णय प्रक्रियामा रहेको समान सहभागिता रहेको देखाएका छन् । फावाखोलाको गीत उपन्यासमा लिम्बु समाजमा महिलाको पुरुषसरह समान हैसियत र जविनसाथी छान्ने स्वतन्त्रताको चित्रण गरिएको छ ।
नेपालका जनजाति समाजमा चाडपर्व, जन्म, विवाह, मृत्यु जस्ता संस्कार, पाहुनाको स्वागत, खेतीपाती, खुसियाली आदिमा जाँडरक्सी तथा मासुको प्रयोग हुने गर्दछ । नेपाली उपन्यासहरूमा यस विषयको चित्रण पाइन्छ । जनजातिका विषयमा लेखिएका र जनजातिको सामान्य उल्लेख भएका सबैजसो उपन्यासमा यस विषयको चित्रण गरिएको पाइन्छ । अघिल्ला परिच्छेदमा विवेचना गरिएका सबै उपन्यासमा यस विषयको उल्लेख भइसकेको छ ।
नेपालका जनजातिहरू नाचगानमा रमाउँछन् । उनीहरूसँग आफ्नै प्रकारका लोकगीत, लोकनाचहरू रहेका छन् । नेपाली उपन्यासहरूमा यस विषयको चर्चा गरिएको पाइन्छ । राई जातिमा साकेला नाच र यसका विभिन्न सिली, मारुनी नाच, लिम्बुमा धाननाच, च्याब्रुङनाच, नेवारमा लाखेनाच, सेर्पा समाजमा स्याप्रेनाच जस्ता नाचगानको संस्कृति रहेको देखाइएको छ ।
नेपालका जनजाति समाजमा लोकतान्त्रिक÷गणतन्त्रात्मक शासन व्यवस्थाको अवशेष पाइन्छ । खैरिनी घाट र अविरल बग्दछ इन्द्रावती उपन्यासमा माझी जातिमा मिजार (आफ्नै समुदायबाट चुनिएको स्थानीय शासक) रहने उल्लेख गरिएको छ । गन्तव्य उपन्यासमा थारू जातिमा समुदायको अगुवा चुन्ने ‘खेल’को चर्चा गरिएको छ । जनजाति समाजमा घरपरिवारमा तथा समाजमा कुनै महŒवपूण नर्णय लिनुपर्दा परिवार तथा समाजका सबैको राय सल्लाह लिने गरिएको विषय विभिन्न उपन्यासमा आएका छन् । यसप्रकारको व्यवस्थाबाट जनजाति समाजमा आफ्नै प्रकारको लोकतान्त्रिक शासनव्यवस्था रहेछ भन्ने देखिन्छ ।
नेपालका जनजातिहरूका सांस्कृतिक परम्परा, किंवदन्ती, मन्त्रहरूमा मानव–विकासको इतिहासको झलक पाइन्छ । हारी , अपमान, आदिवासी, हेत्छाकुप्पा जस्ता उपन्यासमा घुमन्ते जङ्गली युग, कृषियुग, औद्योगिक युग आदिका सन्दर्भ आएका छन् । आदिवासी उपन्यासमा घुमन्ते जङ्गली युगबाट कृषियुगमा कसरी सङ्क्रमण भयो भन्ने विषयको चर्चा गरिएको छ । हेत्छाकुप्पा उपन्यासमा किरात राईको साकेला सिलीमा पाइने मानव विकासको इतिहासको चर्चा गरिएको छ ।
समग्रमा हेर्दा :
(क) जनजातीय पहिचानको विषयमा केन्द्रित भएका उपन्यासहरू सीमित सङ्ख्यामा छन् ।
(ख) जनजातिका विषयमा लेखिएका उपन्यासमा निम्न लिखित विशेषताको चित्रण गरेको पाइन्छ ः
अ) यसअनुसार नेपालका जनजातिका अलग्गै भाषा र संस्कति छन्, आफ्नै इतिहास छ ।
आ) जनजातिहरू नेपालका आदिवासी हुन् ।
इ) उनीहरूमा सामूहिकतामा जोड दिने संस्कृति पाइन्छ, उनीहरू भौतिकवादी संस्कृतिका पक्षधर छन्, उनीहरूका प्रकृति, पितृ तथा श्रमपुजक संस्कृति हुन् ।
ई) जनजाति समाजमा नारी पनि पुरुषसरह मर्यादित छन् र जनजातिमा अझै पनि मातृसत्ताको अवशेष पाइन्छ ।
उ) जनजातिहरूमा जाँडरक्सी र मासुको अधिक प्रचलन रहेको छ ।
ऊ) जनजातिहरूमा नाचगानको प्रचलन रहेको छ ।
ए) जनजातिमा लोकतान्त्रिक शासनको अवशेष पाइन्छ ।
(ग) जनजातिका विषयमा केन्द्रित उपन्यासमा नेपालको राजनीतिक इतिहासको समीक्षा पनि गरिएको पाइन्छ ।
(घ) यस्ता उपन्यासमा मानव विकासको इतिहासको चित्रण गरिएको पाइन्छ ।
(ङ) केही उपन्यासमा जनजातीय अधिकारको रक्षा हुनुपर्छ भनिएको छ र पहिचानसहितको सङ्घीयताको पक्ष लिइएको छ ।
सन्दर्भसूची
अधिकारी डी.पी.(२०५६), युगान्तकारी, ताप्लेजुङ ः सविता प्रकाशन ।
आभूषण, विष्णु (२०५१), अनायास, काठमाडौँ ः साहित्य सञ्चार समूह ।
कोइराला, विश्वेश्वरप्रसाद (२०२७) सुम्निमा, काठमाडौँ ः प्रतिनिधि साहित्य प्रकाशन । कोइराला, शङ्कर(२०१८), खैरिनीघाट, काठमाडौँ ः नेपाल एकेडेमी ।
………….(२०३२), हेलम्बु मेरो गाउँ, वाराणसी ः नवीन प्रकाशन ।
तामाङ मोक्तान, केसाङ (२०६०), रेन्जिन दोर्जे, काठमाडौँ ः तामाङ समाज अनुसन्धान तथा विका केन्द्र, नेपाल ।
पाठक, युग (२०६९), उर्गेनको घोडा, काठमाडौँ ः फाइन प्रिन्ट आइएनसी ।
पाण्डे, नयनराज (२०५५), उलार, काठमाडौँ ः तन्नेरी प्रकाशन ।
प्रधान, हृदयचन्द्रसिंह (२०१७), एक चिहान, एघारौं सं. (२०६७), काठमाडौँ ः साझा प्रकाशन ।
प्रधानाङ्ग, खगेन्द्र (२०५०), हारी, काठमाडौँ ः ने.रा.प्र.प्र. ।
भोजपुरे, हिरण्य, छिटेन÷गोरी, काठमाडौँ ः साझा प्रकाशन ।
मुकारुङ, राजन (२०६५), हेत्छाकुप्पा, काठमाडौँ ः फिनिक्स बुक्स ।
मुकारुङ, राजन (२०६९), दमिनी भीर, काठमाडौँ ः फिनिक्स बुक्स ।
राई, शिवकुमार .(२०५१), क्षितिज पारिमा, काठमाडौँ ः तारा राई र शान्ति राई ।
रेग्मी, सनत र अन्य (सम्पा.)(२०६०), नेपाली उपन्यास शतवार्षिकी स्मारिका, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
विष्ट, डोरबहादुर (२०३३), सोताला, काठमाडौँ ः साझा प्रकाशन ।
विष्ट, दौलतविक्रम. (२०४५), हिमाल र मान्छे, काठमाडौँ ः ने.रा.प्र.प्र.।
विकल, रमेश (२०४०), अविरल बग्दछ इन्द्रावती, काठमाडौँ ः ने.रा.प्र.प्र. ।
विरही, मोहन (२०५९), गाउँले नानी, सुनसरी ः श्रीमती पवित्रा राजभण्डारी ।
शर्मा, तारानाथ (२०२३), ओझेल पर्दा, काठमाडौँ ः रत्न पुस्तक भण्डार, ।
शातासक, शालिक (२०५९), प्यारुला, भक्तपुर ः सूर्यरीता खापुङ (लिम्बू) ।
श्रेष्ठ, तेजप्रसाद(२०५२), सङ्कल्प जिउँदो रहनेछ, काठमाडौँ ः प्रतिभा रश्मी श्रेष्ठ ।
श्रेष्ठ, भीमप्रसाद (२०५१), नौमती, काठमाडौँ ः सामाजिक अध्ययन समुदाय ।
श्रेष्ठ, दयाराम र मोहनराज शर्मा (२०६४), नेपाली साहित्यको संक्षिप्त इतिहास, नवौँ सं., काठमाडौँ ः साझा प्रकाशन ।
सर्वहारी, कृष्णराज (२०५९), गन्तव्य, काठमाडौँ ः निरन्तर प्रकाशन ।
सुवेदी, धनप्रसाद (२०६८), नेपाली आञ्चलिक उपन्यासका प्रवृत्ति, अप्रकाशित विद्यावारिधि शोध प्रबन्ध, त्रिभुवन विश्व विद्यालय, कीर्तिपुर ।
सुवेदी, धनप्रसाद (२०७२), नेपाली उपन्यासमा जनजातीय पहिचान, अप्रकाशित लघु अनुसन्धान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, लगनखेल, ललितपुर ।
सुवेदी, राजेन्द्र (२०५३÷२०६४), नेपाली उपन्यास र प्रवृत्ति, ललिपुर ः साझा प्रकाशन ।
मो. ९८४१४५३८७३
(स्रोत : सुलेख साहित्यिक मासिक पत्रिका)