~उमाशङ्कर द्विवेदी~
कुनै नगरमा सागरदत्त नामको व्यापारी बस्दथ्यो । उसको छोराले बजारबाट एक सय रुपियाँ मोल पर्ने एउटा पुस्तक किनेर ल्यायो । त्यस पुस्तकमा लेखिएको थियो–
प्राप्तव्यमर्थ लभते मनुष्यो, देवोऽपि तं लङघयितुं न शक्त: ।
तस्मान्न शोचामि न विस्मयो मे,यदस्मदीयं न हि तत्परेषाम् ।।
अर्थात् जुन वस्तु जसलाई प्राप्त हुनेवाला छ त्यसलाई अवश्य नै प्राप्त हुन्छ । त्यस वस्तुको प्राप्ति विधाताले पनि रोक्न सक्दैनन् । त्यसैले म कुनै वस्तु विनष्ट हुँदा न दु:खी हुन्छु न कुनै वस्तु अनायास पाउँदा आश्चर्यचकित नै हुन्छु, किनकि जुन वस्तु मैले पाउने हो त्यो म पाउँछु र जुन वस्तु अरूले पाउने हो त्यो अरूले पाउँछ । मैले पाउनुपर्ने वस्तु अर्काले तथा अर्काले पाउने वस्तु म पाउन सक्दिनँ । त्यस पुस्तकलाई देखेर सागरदत्त व्यापारीले आफ्नो छोरासित सोध्यो–बाबू, तैंले यो पुस्तक कतिमा किनिस् ? छोरोले जवाफ दियो–एक सय रुपियाँमा, बुवा ।
छोराको कुरा सुनेर बुवाले हकार्दै भन्यो–हरे, मूर्ख, एउटा श्लोक भएको पुस्तकलाई तिमीले एक सय रुपियाँ हालेर किन्यौ, यो चालाले तिमीले व्यापार गरेर कसरी धन कमाउँछौ ? तिमी आजदेखि मेरो घरमा नबस । यो चालाले तिमीले मेरो धन बर्बाद गर्नेछौ । बाबुको यस प्रकारको तिरस्कार वचन सुनेर छोरा तत्काल घर छाडेर हिंड्यो । बुवाको घर छाडी ऊ अन्तै कुनै नगरमा गएर बस्न थाल्यो । केही दिनपछि त्यस नगरको कुनै मानिसले ऊसित सोध्यो–तपाईं कहाँबाट आउनुभएको हो महाशय, तथा तपाईंको परिचय के हो ? उसले भन्यो–मानिसले आफ्नो प्राप्तव्य मात्र पाउन सक्दछ । दोस्रो मानिसले पनि त्यस्तै सोध्दा त्यही जवाफ दिन्थ्यो–मानिसले आफ्नो प्राप्तव्य मात्र पाउन सक्छ । हुँदाहुँदा सम्पूर्ण नगरमा नै त्यो मानिस ‘प्राप्तव्य–अर्थ’ नामबाट प्रसिद्ध हुन पुग्यो ।
एकचोटि कुनै उत्सवको अवसरमा चन्द्रवती नाम गरेकी राजकन्याले एउटा युवकलाई देखेर काम पीडित भई आफ्नी सखीलाई त्यस युवकसित भेट गराइदिन आग्रह गरिन् । चन्द्रवतीको कुरा सुनेर सखी तत्काल त्यस युवकसमक्ष पुगेर भनिन्–राजकुमारी चन्द्रवतीले मलाई पठाएकी हुन् । तपाईंलाई देखेर उनी कामपीडित भई तपाईंसित भेट गराइदिने आग्रह गरेकी छन् । तपाईंसित भेट भएन भने उनको प्राण बच्न सक्दैन । अत: उहाँसित तत्काल भेट गर्नुहोस् । सखीको कुरा सुनेर त्यस युवकले भन्यो–यदि राजकुमारीसित भेट गर्नु नै छ भने राजदरबारमा म कसरी छिर्न सक्दछु ? यसबारे कुनै उपाय बताउनुस् । सखीले भनिन्–राजकुमारीको खोपीको झ्याबाट राति एउटा छालाको डोरी झुन्डिने ेछ । त्यस डोरीलाई समाती तपाईं सजिलै दरबारभित्र छिर्न सक्नु हुनेछ । युवकले भन्यो–राजकुमारीको यस्तै इच्छा छ भने त्यो इच्छा म अवश्य पूरा गर्नेछु । युवकको कुरा सुनेर सखी आश्वस्त भई चन्द्रवती कहाँ फर्किइन् ।
रात भएपछि युवकले मनमनै विचार गर्यो–राजकुमारीको साथमा समागम गर्नु ठूलो अनैतिक काम हुनेछ, किनकि शास्त्रहरूमा भनिएको छ– गुरो: सुतां मित्रभार्या स्वामिसेवकगेहिनीम् । यो गच्छति पुमाँल्लोके तमाहुब्र्रह्मघातिनम् ।। (गुरुकी छोरी, मित्रकी स्त्री, स्वामी वा सेवककी स्त्रीसित समागम गर्ने मानिसलाई ब्रह्मघाती भन्दछन्) । मनमा यस्तो कुरा गुनेर त्यो युवक राजकन्याछेउ गएन । यताउति भौतारिइरहेको ‘प्राप्तव्य अर्थ’ नाम गरेको त्यो वणिक्पुत्र राजदरबार छेउ आएर रात्रिको समयमा झ्यालबाट झुन्डिरहेको डोरी देखेर कौतुहलवश त्यस डोरीलाई समातेर उक्लिंदै राजकुमारीको खोपीभित्र छिर्यो । ऊ त्यहाँ पुगेपछि मैले बोलाएको युवक आइपुग्यो भन्ठानेर राजकुमारीले उसलाई स्नान, वस्त्र, जलपान र भोजन अर्पित गरेर सम्मान, स्वागत गरी आफ्नो पल·माथि सुताइन् तथा आफूपनि उसको छेउमा सुतिन् । उसको अ·स्पर्शले रोमाञ्चित भएर राजकुमारीले ऊसित भनिन्–तपाईंको दर्शन मात्रले म तपाईंमाथि अनुरक्त भएर आफ्नो मुटु सुम्पिदिएकी छु । अब यस जुनीमा तपाईंलाई छाडेर अन्य कोही पनि मेरो पोइ हुन सक्दैन । यति हुँदाहुँदै पनि मसित बोलिराख्नुभएको छैन । के कुरा हो, कृपया मलाई भन्नुहोस न ? राजकुमारीको कुरा सुनेर वणिक्पुत्रले भन्यो–
प्रातव्यमर्थं लभते मनुष्य: ।
(मानिसले पाउनुपर्ने कुरो पाइ नै हाल्दछ ।)
वणिक्पुत्रको त्यस प्रकारको बहुलठ्ठी कुरा सुनेर–ए यो त मैले रोजेको मान्छे होइन रहेछ भन्ने चाल पाएर आफ्नो खोपीबाट तल झारी धपाएर पठाइदिइन् । राजदरबारबाट धपिएर ऊ एउटा पुरानो मन्दिरमा गएर सुत्यो ।
संयोगले कुनै व्यभिचारिणी आइमाईले गरेको वाचानुसार नगरको एउटा पाले त्यस स्त्रीलाई पाउन त्यहीं आइपुग्यो । प्राप्तव्य अर्थलाई त्यहाँ पहिलेदेखि नै सुतिरहेको देखेर आफ््नो करतूत लुकाउन उसले कडकेर सोध्यो–तिमी को हौ र यस्तो निर्जन स्थानमा किन सुतिरहेका छौ ? मेरो घरमा गएर सुत । उसले जवाफमा नडराइ भन्यो–
प्रातव्यमर्थं लभते मनुष्य: । (मानिसले पाउनुपर्ने कुरो पाइ नै हाल्दछ ।)
नगरको त्यस सुरक्षाधिकारीको भनाइलाई स्वीकार त गर्यो तर अर्धनिद्रामा रहेकोले ऊ भ्रमवश अर्कै ठाउँमा गएर सुत्यो । त्यस सुरक्षाधिकारीकी छोरी (जो तरुनी भइसकेकी थिई र कुनै ठिटोसित प्रेममा लहसिएकी थिई) ले आफ्नो प्रेमी युवकलाई आउने निम्तो दिएर त्यहाँ सुतेकी थिई । त्यहाँ प्राप्तव्य अर्थलाई पहिलेदेखि नै सुतिरहेको पाएर यही मेरो प्रेमी हो भन्ठानेर भोजन, वस्त्रको व्यवस्था गरेर सम्मनित गरी आफ्नो पल·माथि सुताई र आफू पनि त्यही सुती । केटोले केही पनि नबोलेको देखेर त्यसले सोधी–क्या हो, यति भएर पनि तपाईं केही पनि बोल्नुहुन्न ? युवतीको कुरा सुनेर वणिक्पुत्रले भन्यो–
प्रातव्यमर्थं लभते मनुष्य: । (मानिसले पाउनुपर्ने कुरो पाइ नै हाल्दछ ।)
त्यसको कुरा सुनेर ऊ चिन्तातुर भएर सोच्न थाली, यो त मेरो प्रेमी होइन रहेछ । बिना विचारेर कुनै काम गर्दा यस्तै हुन्छ यस्तो कुरा गुन्दै दुखित भएर त्यस वणिक्पुत्रलाई आफ्नो घरबाट धपाएर पठाइदिई ।
त्यहाँबाट धपिएर त्यो वणिक्पुत्र सडकमा हिड्दै थियो । त्यही सडक भएर एउटा जन्तीको लश्कर जाँदै थियो । ऊ पनि त्यस जन्तीमा मिसिएर साथै हिड्न थाल्यो । बेहुलीको घरमा पुग्दा विवाहको लागि यज्ञमण्डपमा बेहुली आउने बित्तिकै एउटा मातेको हात्ती आफ्नो माहुतेलाई मारेर ठूलो विध्वंस मच्चाउँदै त्यस यज्ञमण्डप छेउमा आएर बित्यास मच्चाउन थाल्यो । त्यस हात्तीलाई देखेर जन्ती आएकाहरू वरका साथ तथा कन्यापक्षकाहरू आआफ्नो ज्यान जोगाएर यताउति भागेर गए । बेहुली यज्ञमण्डपमा नै थुनिएर थुरुथुरु काम्दै रुन थाली । उपर्युक्त स्थितिमा त्यहाँ वणिक्पुत्र आएर दाहिने हातले कन्यालाई सम्हालेर भन्यो– तिमी नडराऊ, म तिम्रो रक्षा गर्नेछु । यस प्रकार धैर्यपूर्वक सान्त्वना दिई साहसका साथ ठूलो आवाजमा कराएर त्यस हात्तीलाई त्यहाँबाट धपाइदियो । त्यो हात्ती त्यहाँबाट गइसकेपछि यताउति छरिएका जन्तीका मानिसहरू तथा बेहुलो त्यहाँ आएर हेर्दा विवाहको मुहूत्र्त बितिसकेको थियो तथा बेहुलीलाई एकजना अपरिचित मानिसले आफ्नो अँगालोमा हालेर त्यही उभिइरहेको थियो । यो दृश्य देखेर बेहुलाले आफ्नो हुने ससुरोलाई तथानाम भन्दै भन्यो–यो के गरेको ससुरा बा ? मलाई आफ्नी कन्या दान दिन्छु भनेर अर्कैलाई पो दिनुभयो, यो उचित भएन ।
बेहुलाको कुरा सुनेर बेहुलीका बाबुले भने–हात्तीको डरले म पनि तपाईंहरूकै साथमा भागेर गएको तथा तपाईंहरूकै साथ फर्केको हुँ । थाम्नुस् म आफ्नी छोरीसित सोध्छु यहाँ के भएको थियो भनेर । उसले आफ्नी छोरीसित सोध्यो–छोरी तैंले यो के गरिस् ? यहाँ के भएको थियो र तैंले यस्तो गर्नुपर्यो ? उसकी छोरीले जवाफ फर्काई–यिनले मेरो प्राण जोगाए, अत: अब म बाचुन्जेल यिनलाई छाडेर अर्को पुरुषसित विवाह गर्दिनँ । यस्तै भनाभनमा रात बित्यो । अर्को दिन बिहान त्यहाँ मानिसहरूको ठूलो भीड लाग्यो । विवाद सुनेर राजा पनि त्यहीं आइपुगे ।
नगररक्षककी छोरी, राजाकी छोरी पनि त्यहाँ आइपुगे । जम्मैजना त्यहाँ आएपछि राजाले कडकेर त्यस वणिक्पुत्रसित सोधे–तिमी निर्भय भएर भन, के वृत्तान्त हो । राजाको कुरा सुनेर प्राप्तव्य अर्थले भन्यो– प्रातव्यमर्थं लभते मनुष्य: । (मानिसले पाउनु पर्ने कुरो पाइ नै हाल्दछ ।) उसले भनेको कुराको स्मरण गरेर राजकन्याले भनिन्–
देवोऽपि तं लङघयितुं न शक्त: । (त्यस वस्तुको प्राप्ति विधाताले पनि रोक्न सक्दैन) ।
राजकन्याको कुरा सुनेर नगररक्षककी छोरीले भनिन्–
तस्मान्न शोचामि न विस्मयो मे, (त्यसैले म कुनै वस्तु विनष्ट हुँदा न दु:खी हुन्छु न कुनै वस्तु अनायास पाएर आश्चर्यचकित नै हुन्छु ) ।
दुईनाको कुरा सुनेर बेहुलीले भनिन्–
यदस्मदीयं न हि तत्परेषाम् (मैले जुन वस्तु पाउने हो त्यो म पाउँछु र जुन वस्तु अरूले पाउने हो त्यो अरूले पाउँछ) ।
ती तीनै कन्याहरूको कुरा सुनेर सम्पूर्ण वृत्तान्त थाहा पाई राजाले वणिक्पुत्रलाई अभयदान मात्र गरेनन् धन, गरगहना तथा ठूलो दाइजोका साथ आफ्नी छोरी पनि दिए । एक हजार गाउँ दाइजोमा दिएर वणिक्पुत्रलाई युवराज पद दिए । नगररक्षक तथा बेहुलीको बुवाले पनि यथाशक्ति दाइजोका साथ आफ्नी–आफ्नी छोरी उसलाई दिए ।
ती कन्याहरूसित विवाह गरेर वणिक्पुत्र आफ्ना आमा बुवा तथा परिवारका अन्य सदस्यहरूलाई पनि त्यही बोलाएर आनन्दपूर्वक बस्न थाल्यो ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)