कविता : मैले दियो जलाइन – २

~बिमल गुरुङ~bimal-gurung

‘प्रजातन्त्र’ आयो
त्यसैले आज गोली चल्यो

साथिले टोक्यो –
तिमी दियो नजलाउने?
म सक्सकाएँ
म हिच्किचाहटले बांधिएँ ।

मलाई थाहा छ
आज पनि काँधे दमाईंका
मुनाहरु आधा पेट सुत्नेछन्
हैन?
भोलि पनि सुत्नेछन्
पर्सि/निकोर्सि/कानेकोर्सि
यसरी अझ कैयौं दिन कैयौं दिन
‘प्रजातन्त्र’ आयो
त्यसैले मुलुकमा भाबीकर्णधारहरु
भोकै डल्लिएर
आमाको छातीमा मुन्टो ढल्काएर
चिसो स्वाँठमा सुतिरहेछन् ।

‘प्रजातन्त्र’ आयो
त्यसैले मान्छेहरु अझ अघि बढने कुरा गर्दैछन् ।

‘प्रजातन्त्र’ आयो
त्यसैले अपराधीहरु सडकमा छाती फर्काएर हिंड्दैछन् ।

‘प्रजातन्त्र’ आयो
त्यसैले उ जागीर पाउने धुनमा हाकिमको चाकडी गर्दैछन् ।

‘प्रजातन्त्र’ आयो
त्यसैले आज एक पल्ट फेरि प्रहरीहरु मान्छेको टाउकोबाट हिंडे ।

‘प्रजातन्त्र’ आयो
त्यसैले आज गोली चल्यो
र मारियो
जुलुस हेर्न गएको एउटा सानो बालक !

(०४६/१२/३०)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.