~जयराम तिमल्सिना~
गौथलीको गुँडजस्तै
मेरा मनहरु आकासमा टाँसिएकाछन् ।
मेरो खाने खोस्रने ठाउँहरुमा
बादल पोखिएको छ ।
हेर्ने दृष्यहरुमा
सिमाना कोरिएको छ ।
मेरा सडकहरु
पर्खालमुनी पुगेर फर्कन्छन ।
विहान काँधमा सिउरिएर निस्केको घाम
अँध्यारो कुनामा विलाउँछ ।
त्यो आउँछ अनि जान्छ
मैले जीवन र मृत्यूको अर्थ एउटै बुझेपछि
अँध्यारो र उज्यालो बीचको
भेद छुटाउन छोडेको छु ।।
मलाई माफ गर प्रिय
मैले प्रेम गरेर हुर्काएको त्यो पीपल
आफ्नै छहारीमा
कुनै रात मलाई लास बनाउन सक्छ ।
सञ्चित गरेको थोपाथोपा विश्वास
बगेर पराई देश पुग्छ ।
नाथे, मर्ने भनेको त
मैले भोगिसकेको समय त हो ।
जस्लाई टिपेर तिमी
उन्न सक्छौ इतिहासका पानाहरु ।
र, उडाउन सक्छौ
मनखुसी वादलसम्म छुनेगरी चङ्गाहरु ।।
कौतुहलताका पहाडहरु भत्किएपछी
जीवनको योद्धा बनेको छु ।
कसरी
ढोकामा चुकुल लगाएर
मैले रातसँग प्रेम गर्नसिके ।
किन
जीवनको आगो सल्काएर
मृत्यूगाथा गाउँन थाले ।
म भोको छु
कयैँ जीवनको ।
प्रिय
बिदाइको हात हल्लाएर
घुम्ती काट्नु पहिला
फर्केर हेरेको थिए ।
तिमी विहानीजस्तै चम्किरहेथ्यौ ।
र, सम्झेको थिए
तिम्रो गुलावी मुस्कान
कुनै विहानीको उपहार हो ।
जस्कालागि
कुनै रात बलिदान भएथ्यो ।
म अध्यारो मनपराउने मान्छे
फर्केर हेरेको छु विहानीलाई ।
जयराम तिमल्सिना
बागबजार, काठमाडौं ।